बढ्दै असमझदारी, टुट्दै वैवाहिक सम्बन्ध !



हिक्मत नेपाली, दैलेख ।

नयाँ मुलुकी सहिंता जारी भएसँगै दैलेख जिल्ला अदालतमा सम्वन्ध बिच्छेदका मुद्दा दर्ताको चाप बढेको छ । दैलेख जिल्ला अदालतको अभिलेख अनुसार चालु आर्थिक वर्षको ७ महिना नपुग्दै ७१ वटा सम्वन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । ती मध्ये पुरुषले दिएका ३८ र महिलाले छुट्टिन चाहेर दिएका ३३ वटा मुद्दा छन् । जबकि यो अवधिमा २ सय ४३ वटा मुद्दा अदालतमा पुगेका छन् । अलिलेख अनुसार सम्वन्ध विच्छेद पछिको पछिल्लो संख्या ३६ वटा घरेलु हिंसा र ९ वटा बहुविवाहका मुद्दा छन् ।

सम्वन्ध बिच्छेद, बहुविवाह र घरेलु हिंसा समेत जोड्दा १ सय १६ वटा बाहेक १ सय २५ वटा मुद्दा सवारी दुर्घटना, व्यक्ति हत्या, बलात्कार वा यौन दुव्र्यवहार लगायतका सबै किसिमका छन् । यसरी केलाउँदा झण्डै आधा पारिवारिक समस्याका मुद्दा देखिन्छन् ।

बद्दो सञ्चार उपकरणहरुको उपभोग, सामान्य विवादमा पनि सहनशीलताको अभाव र व्यक्ति स्वतन्त्रतालाई स्वच्छन्दतामा बदलिन थालेपछि सामाजिक सद्भावमा खलल् हुँदै गएको छ । यो समस्याले पारिवारिक असमझदारी हुँदै श्रीमान्–श्रीमतीको सम्वन्ध पनि सजिलै टुट्न थालेका छन् ।

सन्तानहरुलाई गुणस्तरीय शिक्षा दिने नाममा सुविधा सम्पन्न सहरमा बस्ने क्रम बढेको छ । बढ्दो सहरी बसाईले संयुक्त परिवार विभाजन, विभाजित परिवारबीच सुखदुख बारे सम्वादहीनताले पारिवारिक समझदारी अभावले पछिल्लो समय देशैभर सम्वन्ध विच्छेद, घरेलु हिंसा र बहुविवाहका घटना संख्या बढेका छन् ।

दैलेख जिल्ला अदालतको मंगलवारको दैनिक पेशी सूचीमा रहेका चार वटै मुद्दा सबै सम्वन्ध विच्छेदका मुद्दाको बिवरणले यो प्रमुख सामाजिक समस्या हो भन्ने कुरा प्रष्ट पारेको छ । यो पेशी सूचीमा दुई वटा पुरुषले श्रीमती बिरुद्ध र दुई वटा श्रीमतीले श्रीमान् बिरुद्ध सम्वन्ध बिच्छेदको मुद्दा थिए । अदालतका सूचना अधिकारी बिनोद आचार्यका अनुसार लक्ष्मी थापाले इन्द्रबहादुर थापा बिरुद्ध दिएको मुद्दामा सम्वन्ध बिच्छेदको फैसला भएको छ भने नर्मा रामजालीले दिएको सम्वन्ध बिच्छेद मुद्दामा साँक्षी बुझ्ने आदेश भएको छ । सूचना अधिकारी आचार्यले रबिन्द्रबहादुर सिंह र थीरबहादुर वलीले दिएको उक्त मुद्दा मेलमिलापमा पठाइएको जनाकारी दिनुभयो । अदालतले फैसला हुने र केही प्रमाण बुझ्न बाँकी रहेका मुद्दालाई पेशीमा राख्दछ ।

सम्वन्ध बिच्छेद लगायत घरेलु हिंसा र बहुविवाहका पारिवारिक मुद्दाको अदालतमा चाप पर्नुलाई नारायण क्याम्पसका क्याम्पस प्रमुख अधिवक्ता दीपेन्द्र थापा अन्याय सहनुहुन्न भन्ने सामाजिक जागरण बढेको बताउनुहुन्छ । पुरुषबाट सम्वन्ध बिच्छेदको मुद्दा पर्नु पनि महिला हिंसा नै भएको उहाँको बिश्लेषण छ । ‘बहुविवाहबाट जोगिन धेरै पुरुषले सम्वन्ध बिच्छेद मुद्दा दिएका छन्,’ अभिवक्ता थापाले भन्नुभयो ।

महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सबिना बिकले बालविवाहका कारण पढाई रोकिने, छिट्टै सन्तान जन्मिंदा स्वास्थ्य कमजोरी, आर्थिक रुपमा महिलाहरु आत्म निर्भर हुन नसकेका लगायतका कारण पारिवारिक विखण्डन र असझदारीको बढेर सम्वन्ध बिच्छेद लगायतका समस्या पैदा भएको बताउनुभयो ।

मनोबिद् बिनोद पौडेलको अध्ययनमा बैदेशिक रोजगारीले परिवार बिखण्डन, बद्दो सञ्चार उपकरणहरुको उपभोग, सामान्य विवादमा पनि सहनशीलताको अभाव र व्यक्तिका स्वच्छन्दताले सम्वन्ध बिच्छेद, बहुविवाह र घरेलु हिंसाका संख्या बढेको हो ।

संयुक्त परिवारमा बस्ने, पारिवारिक समस्या विषयमा अभिभावकसंग छलफल गर्ने र दम्पति वीच समझदारी विकासका गर्न जरुरी रहेको मनोबिद् बिनोद पौडेलको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्