पुनर्निर्माणको जिम्मेवारी हस्तान्तरण



बुद्ध नेपाली, सिन्धुली
कम्पपछिको पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलाञ्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र घ्याङलेक गाउँपालिकालाई बाँकी कामका जिम्मेवारी हस्तान्तरण गरिएको हो।

भूकम्पपछिको पुनर्निर्माणमा स्थानीय तहलाई जिम्मेवारी बनाउने सरकारी नीतिअनुरूप नै सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहलाई बाँकी कामको जिम्मेवारी हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ।
जिल्लाका रहेका नौ वटै स्थानीय तहका प्रमुख तथा प्रशासकीय प्रमुख र पुनर्निर्माण प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको एकाइ प्रमुख देवनारायणप्रसाद यादवले बताए। ‘अब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवश्यक जनशक्ति स्थानीय तहमा पठाउनेछ’ –प्राधिकरणबाट खटिएका कर्मचारीलाई स्थानीय तहले पुनर्निर्माणको काममा मात्रै खटाउने एकाइ प्रमुख यादवले जनाए।

जिल्लामा रहेका कुल ३७ हजार ९१५ जना लाभग्राहीमध्ये अहिलेसम्म १२ हजार १ सय ५६ भूकम्पपीडितले मात्रै निजी आवास बनाएका छन्। निजी आवास निर्माणका लागि कुल लाभग्राहीमध्ये ३३ हजार ९ सय २ जनाले सम्झौता गरी पहिलो किस्ता लगेका छन्। पहिलो किस्ता लगेकामध्ये २६ हजार ३ सय ५९ जनाले दोस्रो किस्ता लगेका र दोस्रो किस्ता लागेकामध्ये पनि १४ हजार ७ सय १२ जनाले तेस्रो तथा अन्तिम किस्ता रकम लगेका छन्।

जिल्लामा सडक, पानी, दक्ष जनशक्ति पर्याप्त नहुनु, निर्माण सामग्रीको महँगी, भूकम्प प्रभावितको ऐलानी जग्गा हुनुजस्ता समस्याले पनि निजी आवास पुनर्निर्माणले तीव्रता लिन सकेको छैन। स्थानीय तहको वडा कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, बैंक, कोष तथा लेखा नियन्त्रक कार्यालयजस्ता धेरै कार्यालयमा भूकम्प प्रभावितको फाइल पु¥याउनुपर्ने झन्झटिलो प्रक्रियाले पनि निजी आवास पुनर्निर्माणले गति लिन नसकेको भुकम्पपीडितको गुनासो छ।

विनाशकारी भूकम्प गएको झन्डै चार वर्ष बित्नै लाग्दा सिन्धुली जिल्लामा चार हजार १३ जना भूकम्पपीडित लाभग्राही निजी आवास निर्माणका लागि सम्झौता गर्न आएका छैनन्।

जिल्लामा रहेका कुल ३७ हजार ९ सय १५ जना लाभग्राहीमध्ये अहिलेसम्म चार हजार १३ जना निजी आवास निर्माणका लागि सरकारले दिने ३ लाख अनुदान लिन सम्झौता नै गर्न नआई बाटैमा हराएका राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालय सिन्धुलीले जनाएको छ। यस अवधिमा तीन जना लाभग्राहीले पहिलो किस्ता रकम फिर्ता गरेका छन्। निजी आवास बनाउन आवश्यक नपरेको भन्दै उनीहरूले रकम फिर्ता गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्