क्रिकेटले बढाएको नेपालको शान



नेपाली क्रिकेटले पछिल्लो समय खेलप्रेमीहरूमा खुशीको सञ्चार गराएको छ। तीन वर्षयता नेतृत्वविहीन रहेको नेपाली क्रिकेटले दुईवटा ऐतिहासिक सफलता हासिल गरेर खुशी दिलाएको हो। नेपाली खेलाडीले पनि अवसर र सहयोग पाए अन्तर्राष्ट्रियस्तरको खेलमा पनि सफलता हासिल गर्न सक्छन् भन्ने दृष्टान्त हो एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० खेलमा देखाएको ऐतिहासिक सफलता। युएईसँग सम्पन्न तीन शृङ्खलाको एकदिवसीय क्रिकेटको अन्तिम खेलमा चार विकेटको जित हासिल गरेपछि नेपाली खेलाडीहरू विश्वका खेलाडीभन्दा कमजोर छैनन् भन्ने पुष्टि भएको छ। आईसीसीबाट एकदिवसीय टोलीको मान्यता पाएपछि यस शृङ्खलामा नेपालले ऐतिहासिक सफलता पाएको हो।

यो सफलता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको २३ वर्षयता नेपाली क्रिकेट समूहले प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि पनि हो। यसै शृङ्खलामा नेपालका कप्तान पारस खड्काले ११५ रन प्रहार गरी पहिलोचोटि अन्तर्राष्ट्रियरूपमा शतकको रेकर्ड कायम राख्न सफल भए। यस्तै, दोस्रो खेलमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान रोहित पौडेलले ५८ बलमा ५५ रन प्रहार गर्दै कायम गरे। उनले एकदिवसीयतर्फ पाकिस्तानका साहिद अफ्रिदी र भारतका विख्यात क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमानसमेत भंग गरेर नेपालको शिर उँचो राख्न सफल भएका छन्।

नेपालले आईसीसीको सदस्यता प्राप्त गरेको करिब ३० वर्षपछि गतवर्ष विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता बनेपछि चार वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको हो। दुर्भाग्य त यो छ कि नेपाल क्रिकेट संघ ९क्यान० ०७३ वैशाखदेखि निलम्बनमा परेपछि हालसम्म पनि नेतृत्वविहीन अवस्थामै छ। अन्तर्राष्ट्रिय खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गर्दा व्यवस्थापकीय पक्षसमेत आईसीसीले नै हेर्दै आएको छ। वि।सं। ०७२ मा राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेपछि क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। क्रिकेटमा सरकारी हस्तक्षेप भएपछि आईसीसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो। विविध बाधा, व्यवधान र कठिनाइका बाबजुद नेपाली क्रिकेटले यहाँसम्मको यात्रा पार गर्नु आफैँमा ठूलो उपलब्धि हो। पर्याप्त सहयोग र अभिभावकीय नेतृत्वको अभावमा पनि नेपाली खेलाडीले प्रदर्शन गरेको यस सफलता आफैँमा अप्रत्यासित मान्नुपर्छ।

अहिले पनि देशभित्र हुँदै आएको टी–२० का खेलहरूमार्फत नेपाली क्रिकेटले गरिमा जोगाइरहेको छ भन्न कुनै कन्जुस्याइँ गर्नुपर्दैन। तिनै प्रतियोगिताबाट आएका युवा खेलाडीले नै नेपाली राष्ट्रिय टोलीको अस्तित्व धानिरहेका छन्। क्रिकेटमा प्राप्त सफलताले खुसी हुँदै गर्दा अहिले चुनौती नै बढी देखिएका छन्। सर्वप्रथम त संघको निलम्बन फुकुवाले संकट थपेको छ भने क्रिकेटका लागि चाहिने अन्तर्राष्ट्रियस्तरको रंगशालासमेत बन्न सकेको छैन। अहिलेसम्म कीर्तिपुरको खेलमैदानले नै जेनतेन क्रिकेटको अस्तित्व धानिरहेको छ। आईसीसीको लगानीमा बन्ने भनिएको क्रिकेट मैदान र सरकारी लगानीमा बन्ने भनेको रंगशालाको समेत कुनै टुंगो लागेको छैन। क्रिकेटको यस इतिहासमा खेलाडीका लागि जीवनवृत्तिका कार्यक्रम र क्षमता विस्तारका लागि प्रभावकारी कार्यक्रमहरू पनि ल्याइएका छैनन्। सरकारले क्रिकेटको सर्वाङ्गीण पक्षलाई ध्यान दिँदै खेलाडीको वृत्ति विकास र खेलमा पर्याप्त लगानी गर्न जरुरी देखिएको छ।
– मनोज भण्डारी, दमक।

प्रतिक्रिया दिनुहोस्