धरोहर ठडिएपछि खुसीयाली



नानीराम नेपाल, सिन्धुपाल्चोक
झन्डै ३ सय वर्षदेखि बेवारिसे अवस्थामा रहिआएको दक्षिणकाली माई देवीस्थान यतिबेला सुन्दर र चिटिक्क परेको मन्दिरमा बदलिएको छ। स्थानीय समुदाय मन्दिर निर्माणमा जुटेपछि चौतारा साँगाचोकगढी–३ स्थित आलामछापमा भव्य मन्दिर बन्यो, स्थानीयले दक्षिणकाली माईलाई खुला डाँडाबाट मन्दिरमा भिœयाए।

नगरपालिका र स्थानीयको चन्दा सहयोगमा निर्मित दक्षिणकाली माईको मन्दिर तामझामका साथ उद्घाटन गरिएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–३ स्थित आलमछापमा पुगेर नगरपालिकाका मेयर अमानसिं तामाङले दक्षिणकाली माई मन्दिरको उद्घाटन गरे। नगरपालिकाले मन्दिर निर्माणका लागि २ लाख रुपियाँ बजेट विनियोजन गरेपछि चन्दा संकलनबाट थप स्रोत जुटाई मन्दिर ठड्याइएको हो। मन्दिर परिसरमा कोदालाले खनेरै स्थानीयले श्रमदानबाट सिँढी बनाए। २ लाखमै मन्दिर निर्माण गर्न नसकिने भएपछि निर्माण समितिले स्थानीयबासी तथा अन्यत्रका मानिसहरूबाट चन्दा संकलन गरेको थियो। नगरपालिकाको २ लाखसहित १३ लाख बढी चन्दा संकलन भएको र १२ लाख रुपियाँ मन्दिर निर्माणमा खर्च भएको निर्माण समितिले जानकारी दियो। ‘नगरपालिका, स्थानीय र अन्य दाताको सहयोगमा चिटिक्क परेको मन्दिर ठड्याउन सक्यौं।’ –मन्दिर निर्माण तथा व्यवस्थापन समितिका उपाध्यक्ष शंकर ढुंगानाले भने।

मन्दिर उद्घाटन समारोहमा बोल्दै मेयर अमानसिं तामाङले मन्दिर निर्माणमा चन्दा दान गर्ने दाताहरूको मुक्तकण्ठले प्रशंसा गरे। सबै धर्म र संस्कृतिको संरक्षण गर्नमा नगरपालिका लागिपरेको भन्दै उनले समाजसेवा नै धर्म भएको बताए। ‘मन्दिरका लागि चन्दा दिएर तपाईंहरूले समाजसेवा मात्र होइन, धर्म गर्नुभएको छ।’ –मन्दिर उद्घाटन समारोहमा उपस्थित स्थानीय चन्दादातालाई उनले भने। मन्दिर परिसरमा सिँढी र रेलिङबारका लागि नगरपालिकाले थप सहयोग गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे। मन्दिर उद्घाटनका लागि गाउँ पुगेका मेयर तामाङसहित अतिथिहरूलाई बाजागाजासहित स्थानीयले भव्य स्वागत गरेका थिए।

यसरी ठडियो मन्दिर
भूकम्पमा घर भत्कियो, बाबा आमासहित परिवारका ४ जनालाई गुमाउनुप¥यो। पीडाको पहाड नै बोकिरहेका चौतारा साँगाचोकगढी–३ बतासेका ताराप्रसाद ९उद्धव० ढुंगाना स्थानीय दक्षिणकाली माई मन्दिरका लागि दरिलो आड बने। भूकम्पले चुँडेको मन जोड्न नसकिरहँदा भूकम्पमा भत्किएको देवीस्थानमा मन्दिर ठड्याउनका लागि सहयोग गरेका छन्। ‘सम्झँदा त मनै सिरिङ हुन्छ, भूकम्पमा बुबाआमा, बुहारी र छोरी गुमाएँ’, बतासे आलामछापमा चिटिक्क परेको दक्षिणकाली माई मन्दिर बनेपछि उनी भन्दै थिए– ‘बाआमाको सम्झनाका लागि उहाँहरूकै नाममा मन्दिरका लागि सहयोग गरें।’ मन्दिर निर्माणका लागि उनले १ लाख ११ हजार रकम दान गरेका थिए।

ताराप्रसादजस्तै स्थानीय रवीन्द्र ढुंगाना आलामछापमा आस्थाको धरोहर उठाउने मुख्य अभियन्ता हुन्। भूकम्पमा घर भत्किए, मानिसहरू मरे। तर समाजसेवाको भावनालाई भूकम्पले हल्लाउन नसकेको कुरा उनले पुष्टि नै गरिदिएझैं लाग्छ। दक्षिणकाली माई मन्दिर निर्माणका लागि उनले व्यक्तिगत रूपमा १ लाख ६८ हजार रुपियाँ दान गरे। ‘यो जीवन त नाफा हो, भूकम्पबाट जोगियौं’, मन्दिर उद्घाटन समारोहमा भेटिएका उनी भन्दै थिए– ‘मन, वचन र कर्मले मन्दिरका लागि दान दिएको हुँ।’ उनीजस्तै स्थानीय काशीनाथ ढुंगानाले ८१ हजार रुपियाँ दान दिए, भूमिनन्द ढुंगानाले ५१ हजार, भोला ढुंगानाले ५१ हजार र निर्भिक ढुंगानाका नाममा उनका बाबुले ५१ हजार रकम मन्दिरका लागि चन्दादान दिए।

विनाशकारी भूकम्पमा छोरी गुमाएका धनञ्जय ढुंगाना पनि हुन्। आम्दानीको कुनै दरिलो स्रोत छैन, पेसा खेतीकिसानी। देवीस्थानमा मन्दिर बन्छ भनेपछि छाती फराकिलो पारे उनले। दुःख गरेर जोगाएको पसिनाको कमाइ मन्दिर निर्माणमा दान गरेको उनी बताउँछन्। ‘सुस्मितालाई घरैले थिचेर मा¥यो, उसको आत्माले शान्ति पाउँछ कि भन्ने पनि लाग्यो’, भूकम्पमा परेर ज्यान गुमाएकी छोरी सम्झँदै उनले भने– ‘मन्दिर बनाउने कुरा भएपछि १० हजार दान दिएँ।’

डाँडैको बस्ती, भूकम्पमा बतासे ढुंगानाडाँडाका सबै घरहरू माटोमै मिले। घर भत्किएपछि टहरामै दुखजिलो जीवन झेल्दै आएका स्थानीयबासी घर बनाउन छाडेर ‘आस्थाको धरोहर’ निर्माणमा जुटे। घरभन्दा धरोहर निर्माणमा उनीहरूले तदारुकता देखाए। स्थानीयबासीले आआफ्नो हैसियतअनुसार दान सहयोग गरे। लामोसमयदेखि काठमाडौंमा पसल व्यवसाय गर्दै आएका स्थानीय कृष्णप्रसाद ढुंगानाको नेतृत्वमा मन्दिर निर्माण तथा व्यवस्थापन समिति बनाएर चन्दा संकलन शुरू गरिएपछि आलमछापमा चिटिक्क परेको मन्दिर निर्माण सम्भव भएको स्थानीयबासीहरू बताउँछन्। ‘घर बनाउन छाडेर हामी दक्षिणकाली माई मन्दिर निर्माणमा जुट्यौं’, मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद ढुंगाना भन्छन्– ‘साथीभाई, इष्टमित्र सबैसँग हात थाप्यौं, गाउँलेहरू सबैले सकेको दान गरे।’ मन्दिर निर्माणका लागि १३ लाखभन्दा बढी रकम संकलन भएको थियो। दक्षिणकाली माई मन्दिर निर्माणका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले गतवर्ष २ लाख रुकम विनियोजन गरेको थियो। ‘नगरपालिकाको २ लाखसहित दाताहरूबाट १३ लाख उठायौं’, मन्दिर निर्माण तथा व्यवस्थापन समितिका सचिव नारायणप्रसाद ढुंगानाले भने– ‘मन्दिर बनाउँदा १२ लाख खर्च भयो।’

धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दक्षिणकाली मन्दिर परिसरलाई थप व्यवस्थित बनाउँदै पिकनिक स्पटका रूपमा विकास गर्ने व्यवस्थापन समितिको योजना छ। नगरपालिका र अन्य दाताहरूको खोजी गरेर आगामी वर्ष रेलिङबार, सिँढी लगाउँदै मन्दिर क्षेत्रलाई व्यवस्थित गरिने अध्यक्ष ढुंगाना बताउँछन्। ‘मन्दिर परिसरमा शौचालय बनाइसकेका छौं, आवश्यक पूर्वाधार विकास गर्दै धार्मिक पर्यटकीय गन्तव्य बनाउँनेछौं।’ –उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस्