भुकम्प पछिको पुनःनिर्माणले अझै गति लिन सकेन



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा भुकम्प पछिको पुनःनिर्माणले अझै पनि गति लिन सकेको छैन । भूकम्प गएको ४ वर्ष बितिसक्दा जिल्लामा जम्मा एक हजार ३ सय २४ जनाले तेस्रो किस्ता बुझेबाट सो पुष्टि भएको हो ।

जिल्लामा १९ हजार ९ सय ५९ जना लाभग्राही रहेका छन् । तीमध्ये पाँच हजार ४ सय ४९ जनाले दोस्रो किस्ता र १३ हजार चार सय ६३ जनाले प्रथम किस्ता लिएको जिल्ला समन्वय समितिका भूकम्प स्रोत व्यक्ति शिव रेग्मीले बताउनु भयो । उहाँका अनुसार निजी आवास पुनःर्निर्माण अनुदान लाभग्राहीमा सूचीकृत हुन ६ हजार ८ सय ५५ जनाले गुनासो दर्ता गरेका छन् ।

गुनासो सुन्नका लागि प्रत्येक स्थानीय तहका वडा कार्यालयमा वडाध्यक्ष संयोजक रहने गरी गठित समितिमा भूकम्प पछिको पुनःर्निर्माण प्राधिकरणबाट खटिएको इन्जिनियर वा सबइन्जिनियर र वडासचिव सदस्य रहने व्यवस्था गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई जिल्ला अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार लमजुङका निमित्त प्रमुख उशेष श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सिनियर इन्जिनियरले प्रमाणित गरेपछि एकैपटक अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमा अनुदान रकमका लागि सिफारिस पठाउने व्यवस्था गरिनेछ ।

भूकम्पपछिको पुनःर्निर्माणले गति लिन नसकेपछि जिल्लाको ४ नगरपालिका र ४ गाउँपालिकाको पुनःर्निर्माणको अधिकार स्थानीय तहलाई दिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई जिल्ला अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार लमजुङका फोकल पर्सन शिव रेग्मीले बताउनु भयो । उहाँका अनुसार जिल्लाभर भूकम्पबाट प्रभावितमध्ये वृद्धवृद्धा र एकल महिला गरी पाँच सय ५२ छन् । त्यस्तै, जिल्लामा प्रवलीकरण लाभग्राही पाँच सय ३९ जना छन् । जिल्लाभर ७० घर जोखिममा छन् ।

प्राधिकरणले पुनःनिर्माणलाई छिटो र प्रभावकारी बनाउन स्थानीय तहसँग समझदारी गरेर पुनःनिर्माण सम्बन्धी कार्यको जिम्मेवारी हस्तान्तरण गरिसकेको रेग्मीको भनाई छ । प्रत्येक स्थानीय तहमा एकजना सिनियर इन्जिनियर, एक सामाजिक परिचालक र एकजना दक्ष डकर्मीको व्यवस्था गरिने भए पनि हालसम्म त्यसको कार्यान्वयन हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्