कञ्चनपुरका किसानले उखु बिक्री नगर्ने



मनोज भट्ट, महेन्द्रनगर ।
अनुमती र सरकार आफँैले निर्धारण गरेको न्यूनतम मूल्य समेत नपाएर समस्यामा परेका कञ्चनपुरका किसानहरुले अव उखुको निकासी नै बन्द गर्ने निर्णय गरेका छन् । कञ्चनपुरको बेलौरीमा किसानहरुले सरकारले निर्धारण गरेको न्यूनतम मूल्य र सहज रुपमा कटान अनुमती नपाएसम्म उखुको निकासी नै बन्द गर्ने निर्णय गरेका हुन् ।

कटान गरिएको उखु समयमै चिनी मिलमा विक्री गर्ने र समस्या समाधान नभए सम्म कटान नै बन्द गर्ने निर्णय भएको उखु उत्पादक किसान हकहित संरक्षण समिति कञ्चनपुरका अध्यक्ष हरि चन्द ठकुरीले बताए ।
चिनी मिल र बिचौलीयाको चंगुलमा परेका कञ्चनपुरको दक्षिणी क्षेत्रका उखु किसानहरुले अव संगठित हुँदै आफ्ना समस्या समाधानका लागि पहल गर्न सुरु गरेको किसान मान वहादुर चन्दले बताए ।

चिनी मिलहरुले सरकारले निर्धारण गरेको उखुको न्यूनतम मूल्यमा प्रतिक्विन्टल १ सय २५ रुपैँया सम्म घटाएर खरिद गर्न थालेका छन्, भने नेपाली किसानहरुलाई उखु कटानका लागि अनुमती पाउन पनि ठुलै समस्या हुने गरेको छ ।

तिनै समस्या समाधानका लागि जिल्लाको बेलौरी, बेल्डाडी, लालझाडी र पुर्नवास नगरपालिकाका झण्डै ५ सय जना किसानहरुको भेलामा आफ्नै समस्या समाधानका लागि छलफल भएको हकहित संरक्षण समितिका अध्यक्ष ठकुरीले बताए ।

सरकारले उखुको मूल्य एउटा मात्रै तोकेपनि चिनी मिलहरुले आफुखुसी उखुको बर्गिकरण गरि फरक–फरक तीन प्रकारका मूल्य तोकेकाले सरकारको निर्णय उखु मिलहरुले पालना गर्नुपर्ने सर्त किसानहरुको रहेको छ ।
उनीहरुले कटान अनुमतीमा विचौलीयाहरुको रजाई भएकाले किसानहरुले सहज रुपमा अनुमती पाउनुपर्ने पनि माग गरेका छन् । चिनी मिलहरुबाट उखु कटानको अनुमती नपाएर धेरै नेपाली किसानले उखु काट्न पाएका छैनन्, भने भारतबाट धमाधम उखु भित्रीरहेको छ । सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ निर्धारण गरेपनि कञ्चनपुर जिल्लाका किसानहरु भने झण्डै १ सय २५ रुपैँया कम मूल्यमा उखु विक्री गर्न बाध्य छन् ।

नेपाली किसानले कटानको अनुमती नपाएको अवस्थामा बिचौलीया मार्फत भारतीय किसानहरुले उखु कटानको अनुमती पाईरहेका छन् । जस्ले किसानहरुले लगाएको उखु पनि काट्न पाएका छैनन् भने यो सिजनमा गहुँ खेती पनि लगाउन छुटेको छ ।

उखु किसानहरुको हकहितका लागि विभिन्न स्थानमा खोलिएका संरक्षण समिति र स्थानीय तहका जनप्रतिनिधिहरुको पनि किसानहरुको भेलामा सहभागिता रहेको थियो। दक्षिणी क्षेत्रका चार वटै स्थानीय तहका जनप्रतिनिधिहरुले चिनी मिलहरुलाई सरकारको निर्णय कार्यान्वयन गर्न दवाव दिने पनि आश्वासन दिएका छन् ।

स्थानीय तहले चिनी मिललाई सहज रुपमा कटान अनुमती दिन र सकरारले तोकेको मूल्यमै उखु खरिद गर्न आग्रह गर्ने तयारी भईरहेको कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष हरीलाल चौधरीले बताए ।
उखुबारीमा आगलागी

कञ्चनपुरको दक्षिणि क्षेत्रमा किसानको उखुबारीमा आगलागी भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा बिक्रम चन्दको ५ बिगाहको उखु बारी र मोतिबस्तीमा सुम्पा तामाङले गरेका एक बिगाह उखु बारीमा आगो लागेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रमुख कर्ण बहादुर बमले बताए ।

शनिबार चन्दको उंखु बारिमा काटिसकेको उंखुको पात जलाउने क्रममा हावाको कारणले नकाटेको उंखुमा आगलागी भएकोे हो ।

प्रतिक्रिया दिनुहोस्