ब्रिगेडको अगाडि आयोजक स्तब्ध



पोखरा, (नेस)
पोखरा रंगशालामा जारी छैठौं मनकामना केबलकार पोखरा कपमा आयोजक ओम डेभलपमेन्ट बैंक पोखरा ११ ब्रिगेड ब्वाइज क्लबसँग स्तब्ध भएको छ।
शुक्रबार पोखरालाई १–० ले हराउँदै ब्रिगेड ब्वाइज क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको ७५औं मिनेटमा विदेशी खेलाडी कजिम बुसारीले गोल गरेका थिए। उनले पोखराका गोलरक्षक अजित पराजुली बिट भएको अवस्थामा सहजै गोल गरेका हुन्।

मनोज राईले प्रहार गरेको फ्रिकिक पोखराका गोलरक्षकले रोक्ने प्रयास गर्दा हातबाट फुत्की बिट हुँदा बुसारीले उक्त अवसरको सदुपयोग गरेका थिए। खेलको म्यान अफ दि म्याच कजिम बुसारी घोषित भए उनले नगद ५ हजारका साथमा ट्रफी हात पारे।

पहिलो हाफको इन्जुरी समयमा ब्रिगेडका रितिक खडकाले राम्रो अवसर गुमाएका थिए। उनले प्रहार गरेको बल क्रसबार नजिकैबाट बाहिरिएको थियो। पोखराका लागि खेलको १८औं मिनेटमा हरि गुरुङको प्रहार सेकेन्डबार नजिकैबाट बाहिरिएको थियो। ३०औं मिनेटमा विनोद गुरुङको प्रहार पनि फस्टबार नजिकैबाट बहिरिँदा दुर्भाग्यपूर्ण बन्न गयो। पहिलो हाफमा दुई अवसर गुमाएको पोखराले दोस्रो हाफमा भने खासै राम्रो खेल प्रदर्शन गर्न सकेन। दोस्रो हाफमा केही सुधार गरेको ब्रिगेडका लागि एक गोल नै निर्णायक बन्न पुग्यो।

 

प्रतिक्रिया दिनुहोस्