छाप्रो नं. ५५ मा के छ ?



ज्ञानमणि नेपाल कालोटोपी
रमेश दियाली, साहित्यमा यो बिल्कुलै नयाँ नाम हो । नयाँ भनेपछि हामीलाई पर्न सक्छ सिकारु लेखक होलान् । तर छाप्रो नं. ५५ पढेपछि हाम्रो यो भ्रम तोडिनेछ । किनकि यो उनको पहिलो प्रयासमै निखारिएको र तिखारिएको उपन्यास बनेको छ । छाप्रो नं. ५५ भूटानी शरणार्थी शिविरमा रहेकाहरुको यथार्थ कथा हो । त्यहाँ रहेका हजारौंले भोगेको दुःख र समस्याको प्रतिनिधि हो । कथा प्रेममा आधारित छ । लेखकले त्यहाँको सामाजिक, आर्थिक, गरिबी तथा अन्य वर्गले शरणार्थीहरुलाई हेर्ने दृष्टिकोणको मार्मिक तरिकाले चित्रण गरेका छन् ।

उपन्यासका पात्र गंगा र देवबीचको सामान्य परिचयले जरा गाडेको देखाइएको छ । पछि गरिबीलाई चुनौती दिनका लागि देव बाग्लुङ गएपछि धेरै समय ऊ सम्पर्कविहीन भएको छ । यता गंगाका वृद्ध बाबुले उसको विवाह गरिदिन निकै जोड गरेपछि गंगा साँच्चै नै बाध्यतामा परेकी छे । अन्ततः गंगाले बाबुले भनेकै केटासँग विवाह गरेपछि उपन्यासले अर्कै मोड लिएको छ ।

यति बेलासम्म अब के होला त, भन्ने जिज्ञाशा पाठकलाई पर्न थालिसकेको हुन्छ । गंगा बिस्तारै देवलाई बिर्सने प्रयासमा हुन्छे । आफ्नो नयाँ घरलाई कसरी राम्रो बनाउने भन्नेतिर लागिरहँदा सासू–ससुराको हेपाइ र कचकचले दिक्क हुन्छे । यता उसको लोग्ने पनि गरिबीकै कारण परदेश लाग्छ । पछि लोग्ने परदेशबाट त फर्कन्छ तर धनको सट्टा ब्लड क्यान्सर लिएर आउँछ । गंगाका बाबुको पनि मृत्यु भइसकेको हुन्छ, गंगासँग लोग्नेलाई अस्पताल लैजाने पैसा पनि हुँदैन र ऊ सडकमा भिख माग्न बसेकी हुन्छे ।

त्यति बेला बाल्यकालकी साथीले उसलाई सहयोग गर्छे । तर उपचार हुन नसकेपछि गंगाको लोग्नेको मृत्यु हुन्छ । पछि आप्रवासको कोटामा परेर सुन्दर भविष्यको सपना बोकी गंगा अमेरिका जान्छे । अन्ततः बाल्यकालको साथी देव अमेरिकामै भेटिएपछि कथा संयोगान्त अवस्थामा टुंगिएको छ । उनीहरुले पछि विवाह पनि गर्छन् । रुढिवादी समाजलाई चुनौती दिन्छन् र कथाले विश्राम पाएको छ । मञ्जरी पब्लिकेसनले प्रकाशनमा ल्याएको छाप्रो नं. ५५ लाई बजारमा ३१५ रुपियाँमा किन्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्