पर्यटकको आकर्षणमा बेदकोट ताल



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको बेदकोट ताल पर्यटकहरुको आकर्षक गन्तव्य बन्दै गएको छ । कञ्चनपुर आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य रोजाईमा अहिले बेदकोट ताल पर्ने गरेको छ ।

पूर्व–पश्चिम महेन्द्रराजमार्ग स्थित दैजी चौराहाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको उक्त ताल अवलोकन गर्न वर्षेनी हजारौँको संख्यामा पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । चुरे पहाडको फेदमा अवस्थित यो ताल अवलोकन गर्न पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ ।

प्राकृतिक, रमणीय बेदकोट क्षेत्रमा पछिल्लो समय धार्मिक आस्थाका दृष्टिकोणले समेत श्रद्धालु दर्शनार्थी आउने गर्छन् । ताल नजिकै आराध्य देव शिवको मन्दिर छ । उक्त मन्दिरमा पुजापाठ, बिबाह, ब्रतबन्ध लगायतका शुभकार्यहरु गरिने हुँदा पनि यहाँ मानिसको आगमन बढिरहेको छ ।

तालको सुन्दरताले यहाँ आउने पर्यटकहरुको मन लोभ्याउँछ । तालको चारैतिर हरिया पहाड छन् । ताल क्षेत्रको वनबाट आउने चराचुरुङ्गीहरुको आवाजले पनि यहाँ आउने पर्यटकहरुको मन लोभ्याउँछ । दैनिक करिब २ सयदेखि ३ सयसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको स्थानीय चन्द्र भण्डारी बताउँछन् ।

महेन्द्रनगर, धनगढी लगायत मध्य तथा सुदूर पश्चिम क्षेत्रका पहाडी एवं तराईका जिल्लाहरुका साथै सिमावर्ती भारतीय शहर बनवासा, चम्पावत, असाम, टनकपुर, खटिमा लगायतका शहरबाटसमेत पर्यटकहरु भ्रमण गर्न तथा म्युजिक भिडियो छायाँङकन गर्न पनि आउने गरेका छन् ।

बेदकोट क्षेत्र बाह्य कोलाहलबाट टाढा रहेकाले एकान्तमा रम्न चाहनेका लागि गतिलो गन्तव्यका रुपमा प्रचलित हुँदै गएको छ । परापूर्वकालमा वनबासका क्रममा पाण्डवहरुले यस क्षेत्रमा आएर बेदधुनी जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको स्थानीय बुढापाकाहरु बताउँछन् । यो क्षेत्र प्राचीनकालमा ऋषिमुनिको तपोभूमिका रुपमा समेत परिचित रहेको छ ।
धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा परिचित बेदकोट तालको बिशेषता अन्य ताल भन्दा फरक छ । तालको वरपर रुखै रुख छन्, तर तालमा अहिलेसम्म कहिल्यै पात परेको देखिँदैन । देवि–देउताको शक्तिले तालमा पात नपरेको स्थानीयहरुको बिश्वास छ । बेदकोट क्षेत्रमा रहेका मन्दिरमा भएका पुरातात्विक महत्वका मूर्तिहरु हराएका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बेदकोट नगरपालिकाको आर्थिक सहयोगमा निर्मित छ तले भ्यू–टावर पनि बेदकोट ताल क्षेत्र आउने पर्यटकहरुको रोजाईमा पर्छ । ६० फिट अग्लो रहेको उक्त भ्यू–टावरबाट कञ्चनपुरको तराईको दृश्यावलोकन गर्न सकिन्छ । त्यसैले पनि यहाँ आउने पर्यटकहरुको संख्या बढ्दै गएको छ ।

बेदकोट क्षेत्रको विकास, संरक्षण तथा प्रचार प्रसारमा बेदकोट नगरपालिकाले जोड दिएको जनाएको छ । विभिन्न क्षेत्रका पर्यटकहरुलाई बेदकोट क्षेत्रको बारेमा जानकारी दिन तथा यहाँसम्म पुर्याउनका लागि ‘बेदकोट पर्यटन वर्ष २०७५’ घोषणा गरी विभिन्न काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्