नेपालगन्ज रंगशालामा ‘बर्मुडा दुबो’



नेपाल समाचारपत्र, बाँके
‘यो बर्मुडा घाँस हो। नेपालमै पहिलो पटक यस खालको घाँस रंगशालामा रोपिएको छ’, ५ नम्बर प्रदेश खेलकुद परिषद्का अध्यक्ष भीम वली भन्दै थिए– ‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालगन्ज रंगशाला हेर्न लायक हुन्छ।’

फागुन अन्तिममा आयोजना गर्ने तयारी भएको आठौं राष्ट्रिय खेलकुदको उद्घाटनस्थल नेपालगन्ज रंगशालामा बिहीबारदेखि बर्मुडा घाँस रोप्न शुरू गरेपछि अध्यक्ष वली यस्तो प्रतिक्रिया दिँदै थिए।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले बर्मुडा घाँस रोपेर रंगशालालाई दुबोमय बनाउने कामको शुरूवात गरे। उनी दिनभरि रंगशालामै व्यस्त थिए। भारतको कलकत्ताबाट ६ दिनमा नेपालगन्ज आइपुगेको एक ट्रक घाँस धमाधम रोप्ने काम भइरहेको हो।

नेपालगन्ज रंगशालामा चार ट्रक घाँस लाग्छ। सोमबार अर्को ट्रक आइपुग्ने अध्यक्ष वलीले बताए। नेपालकै चर्चित घाँस व्यवसायी काभ्रेका रवीन गौतम ९गौतम नर्सरी० नेपालगन्ज रंगशालालाई दुबोमय बनाउन लागिपरेका छन्।

‘दुबोमय हुनेबित्तिकै नेपालगन्ज रंगशाला देशकै नम्बर वान हुन्छ’, तेस्रो संस्करण नेपालगन्ज गोल्डकप आयोजना गरिसकेका बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले भने– ‘अब नेपालगन्ज गोल्डकपमा मैदान राम्रो भएन भन्ने गुनासो हट्ने भो।’

यही रंगशालामा भएको दोस्रो गोल्डकपमा मनाङमस्र्याङ्दीका प्रशिक्षकले आफ्नो टिम रूपन्देहीसँग पराजित हुँदा मैदानको कारणले हारेको टिप्पणी गरेका थिए। नेपालगन्ज रंगशालालाई घाँस रोप्ने अवस्थासम्म पु¥याउँदा धेरै काम भएका छन्। २८ हजार घनमिटर माटो, ४ हजार १ सय घनमिटर ग्राभेल, ४ हजार घनमिटर चिप्स, ८ हजार ५ सय स्क्वायर मिटर जियो टेक्स टायल जाली, २ हजार २ सय ५० मिटर पाइप, २ हजार ६ सय घनमिटर बलौटे माटो लागेको छ। मैदानको लम्बाइ १ सय १५ मिटर रहेको छ।
नेपालगन्ज रंगशालामा दुबोमात्रै ४० लाखको रोपिँदै छ। आठौंको उद्घाटनस्थललाई भव्य बनाउन राखेप लागिपरेको छ। रंगशालामा भीआईपी प्याराफिट बनाउने काम भइरहेको छ। त्यसका लागि जी स्टेन्डर्ड प्रविधिको प्याराफिट चाइनाबाट ल्याइँदै छ। यसको पहिलो लट २४ गते आइपुग्ने वलीले जानकारी दिए। त्यसका साथै रंगशालामा ६ करोडको सेन्थेटिक ट्र्याक बनाउने तयारी भइरहेको छ। रातीसमेत खेल्न मिल्ने गरी उज्यालोको व्यवस्था गरिँदै छ। नेपालगन्ज रंगशालामा ३१ करोडको काम भइरहेको छ।

आठौंलाई लक्षित गरेर नेपालगन्ज र आसपासमा १ अर्ब बढीको भौतिक संरचना तयार हुँदै छन्। २०४२ सालपछि निर्धारित २ वर्षमै हुन थालेको आठौंले नेपालगन्ज र आसपासलाई खेलकुदका राम्रा संरचना दिएर जाने पक्का भएको छ। ‘यो नेपालगन्ज र आसपासका लागि गौरवको विषय हो। दोस्रो पटक नेपालगन्जले आठौ पनि गर्ने र १ अर्बबढीको भौतिक संरचना पनि पाउने भएको छ।’ –अध्यक्ष वलीले भने।

प्रतिक्रिया दिनुहोस्