शिक्षकको व्यवस्थापन तत्काल गर



बाग्लुङ जिल्लामा रहेका अधिकांश सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ। दरबन्दी भएका विद्यालयमा सम्बन्धित निकायले समयमा शिक्षक नियुक्त गरेर पठाउन नसकेका कारण शिक्षकको अभाव रहेको हो। पछिल्लो समय सम्बन्धित स्थानीय तहको शिक्षा शाखा र जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाइबाट अनुमति लिएर भैरहेका विज्ञापनले विद्यालयमा शिक्षकको अभाव रहेको कुरा पुष्टि गरिरहेको छ।

जिल्लाभर रहेका ४ सय ६१ सामुदायिक विद्यालयमध्ये अधिकांश विद्यालयमा दरबन्दीअनुसारका शिक्षक छैनन्। लामो समयसम्म शिक्षा सेवा आयोगले शिक्षक नियुक्तिको प्रक्रिया बन्द गरेको र समयमा शिक्षक नपठाएका कारण शिक्षकहरूको अभाव खड्किरहेको हो। बागलुङमा जस्तै म्याग्दीमा पनि शिक्षक अभाव रहेको समाचारहरू आइरहेका छन्। धौलागिरीका अधिकांश विद्यालयहरूमा शिक्षक अभाव रहेको कुरा यहाँका दैनिक पत्रिकाहरूमा प्रकाशन हुने सूचनाहरूबाट नै प्रस्ट हुन कठिन छैन।

दरबन्दीमा शिक्षक नरहेका भए पनि करारमा नियुक्त गरेरै विद्यालयहरूले भने काम चलाइरहेका छन्। तर सीमित समयको लागि करार सेवामा नियुक्त हुने शिक्षकहरूले के–कति जिम्मेवारी लिएर काम गरिरहेका छन् भन्ने विषय मुख्य विषय हो। शैक्षिक सत्र सकिने बेलासम्म पनि शिक्षकको खोजी गरिरहेका बिद्यालयहरूले विद्यार्थीलाई सबै विषयमा अध्ययन गर्ने वातावरण सिर्जना गरेका छन् वा छैनन् भन्ने पनि छ। कुनै पनि शिक्षक नभएका कारण वा कुनै पनि विषयमा पठनपाठन नभएका कारण वार्षिक परीक्षामा परीक्षा दिनु नपर्ने छुट विद्यार्थीलाई छैन र दिइनु पनि हुँदैन तर समयमा शिक्षक नियुक्त गरेर पठनपाठनको वातावरण विद्यालयहरूले मिलाउन सक्नुपर्छ।

शैक्षिक सत्रको अन्त्यमा नियुक्त हुने शिक्षकहरूले विषयगत पाठ्यक्रमलाई कसरी पूरा गर्छन् भन्ने हो। कम समयमा निर्धारी पाठ्क्रम सक्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण शिक्षक र विद्यार्थी दुवै मारमा पर्ने गरेका छन्। दरबन्दी भएर शिक्षक नभएको विषयमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिलाई जानकारी शैक्षिक सत्रको शुरूवात हुनुपुर्व नै हुन्छ। शैक्षिक सत्रको शुरूवातसँगै शिक्षकको नियुक्ति गर्नका लागि आवश्यक प्रक्रिया किन थाल्दैनन् उनीहरू। शिक्षा क्षेत्रको अनुगमन, नियमन र सहजताका लागि स्थानीय तहमा बनाइएका शिक्षा शाखाहरूले पनि यस्ता कुरामा किन ख्याल गर्दैनन् रु एक त समयमा पाठ्यपुस्तक नपाएका कारण शिक्षक विद्यार्थीलाई अध्ययन अध्यापनमा समस्या हुने गरेको छ। अर्कोतर्फ समयमा शिक्षक नभएका कारण समस्या व्यहोर्नुपर्ने नियति कति समयसम्म चल्ने ?

शिक्षा क्षेत्रमा सुधार नभएसम्म यो समाजको सुधारको कल्पना गर्न सकिँदैन। शिक्षक अभावकै कारण समस्या भोगिरहेका सामुदायिक विद्यालयप्रति स्थानीय सरकार र सरोकारवालाको ध्यान जानु जरुरी छ। करारमै राख्ने शिक्षकलाई पनि समयमा नियुक्ति गर्ने वातावरण मिलाउनु अहिलेको पहिलो आवश्यकता हो भने सम्बन्धित क्षेत्रबाट दरबन्दीमा शिक्षक नियुक्तिका लागि दबाव र सिर्जना गर्नु अर्को महत्वपूर्ण कार्यभार हो।
– सुन्दर सुवेदी, बाग्लुङ।

प्रतिक्रिया दिनुहोस्