प्रमको प्रतिष्ठासँग जोडिएको मेलम्ची खानेपानी



केशव अधिकारी
काठमाडौं उपत्यकाका आमजनतालाई खानेपानी उपलब्ध गराउने हेतुले अगाडि आएको र धेरै लामो पर्खाइपछि अब केही महिनामा पानी उपभोग गर्न पाइने आशा पलाएको मेलम्ची खानेपानी आयोजना सम्पन्न नभई ठेकेदार बेपत्ता भएको खबर छ। यदि यो हल्ला साँचो हो भने अबका केही महिनामा सम्पन्न हुने भनिएको मेलम्ची खानेपानी आयोजना तीन वा चार वर्षपछाडि धकेलिन सक्ने अनुमान जनमानसले गर्न थालेको छ। काठमाडौं उपत्यकाका आमजनताको चासो विषय बनेको मेलम्ची खानेपानी आयोजनाको करिब ९२ प्रतिशत काम सम्पन्न भई करिब ८ प्रतिशत कार्य सम्पन्न हुन बाँकी रहेको भन्ने कुरा गत भदौ महिनाका विभिन्न पत्रिकामा छापिएको थियो। यसै भनाइलाई आधार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालको बडादशैँमै काठमाडौंका जनताले मेलम्चीको पानी उपभोग गर्न पाउनेछन् भनेर आश्वासन बाँडिसकेका थिए। त्यति मात्र होइन कि मेलम्चीको पानी सुन्दरीजलको भण्डारण पोखरीमा परीक्षणको रूपमा पठाउने कामसमेत सम्पन्न भइसकेको छ। यो परिस्थितिमा उक्त आयोजनाको कार्य कुनै पनि मानेमा रोकिन पुग्यो वा अवरोध उत्पन्न भयो भने दुई वा तीन वर्ष त परै छाडौँ, वर्षौं पछाडि धकेलिएर काठमाडौं उपत्यकाका जनताले मेलम्चीको पानी खाने आशामै सास फुत्किने दिन आयो भने कुनै आश्चर्य हुनेछैन। त्यति ठूलो आयोजनाको ८ वा ९ प्रतिशत काम भनेको पनि धेरै हुन सक्छ तर जति धेरै भए पनि कम्तीमा आगामी वर्ष अर्थात् २०७६ सालको दशैँसम्ममा उपत्यकाका जनताले मेलम्चीको पानी उपभोग गर्न पाएमा योजना सफल भएकै मान्नुपर्छ।

मेलम्ची खानेपानी आयोजना सम्पन्नका सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिष्ठा जोडिएर रहेको छ। वर्षौंदेखि पिउने पानीको समस्याले काकाकूल बनेर छट्पटाएका काठमाडौंवासीलाई केपी ओलीको नेतृत्वको सरकारले मेलम्चीजस्तो ठूलो आयोजना सफलताका साथ सम्पन्न गरी पानी खुवाउन सकेको थियो भनेर इतिहासमा लेखिनेछ। इतिहासमा नाम लेखाउने अवसरको सदुपयोग गर्न नसकेर अबका दिनमा विलम्ब गर्दै काठमाडौं उपत्यकाका जनतालाई निराशा बनाउने काम भयो भने उनले प्रधानमन्त्रीको कुर्सीमा टाँसिइरहनुको कुनै औचित्य छैन। यदि प्रधानमन्त्रीले मेलम्ची खानेपानीको विषयमा सबै यथार्थ जानकारी हासिल गरेका छैनन् भने त्यस परियोजनासम्बन्धीका जानिफकार व्यक्तिसँगबाट गहिराइसम्मको जानकारी लिनु अपरिहार्य छ। सम्पूर्ण जानकारीपश्चात् विभिन्न बाटोहरूको प्रयोग गर्दै हरेक मूल्य चुकाएर भए पनि अब आउँदा आधा वर्षमा वा नसके एक वर्षभित्रको समयमा मेलम्ची खानेपानी आयोजनाको कार्य सम्पन्न गराउन सक्नै पर्ने हुन्छ।

मेलम्ची खानेपानी आयोजना सम्पन्नका सवालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिष्ठा जोडिएर रहेको छ। वर्षौंदेखि पिउने पानीको समस्याले काकाकूल बनेर छट्पटाएका काठमाडौंवासीलाई केपी ओलीको नेतृत्वको सरकारले मेलम्चीजस्तो ठूलो आयोजना सफलताका साथ सम्पन्न गरी पानी खुवाउन सकेको थियो भनेर इतिहासमा लेखिनेछ।

विगतमा दक्षिणको छिमेकी भारतले हाम्रो देशविरुद्ध नाकाबन्दी लगाएर हामीलाई झुकाउन खोज्दा दृढताका साथ हामीलाई हार्न नदिई वा नलगाई आफ्नो अडानमा रहेका थिए केपी ओली। त्यस बेला हामी र हाम्रो देशको स्वाभिमानलाई कायम राखेका थिए। लाखौं नेपाली जनताको ढुकढुकीको आवाजलाई प्रतिविम्बित गरी कार्यगत कूटनीतिक युद्धमा हामीलाई जिताएका थिए उनले। छिमेकीलाई नेपालीहरू हाम्रा सामु झुक्न छाडेछन् भन्ने चेतना भरिदिन र स्वाभिमानको पाठ पढाउन सफल भएका थिए। अहिले पनि त्यही धैर्यता, आफ्नो कर्तव्यप्रतिको त्यही दृढता, त्यही सुझबुझका साथ काम गर्नुपर्ने बेला आएको छ। यदि हाम्रा प्रधानमन्त्रीले आफ्नो इच्छाशक्ति बलियो बनाएर प्रस्तुत हुने मानसिकतामा छन् भने मेलम्ची खानेपानी आयोजनाको काम एक वा दुई वर्ष त के एक महिना पनि पछाडि धकेलिनु उचित हुँदैन। उखान र टुक्काको भरमार प्रयोग गरेर सबैलाई उछिन्न खोज्ने हाम्रा प्रधानमन्त्री केपी ओलीले ‘रात रहेपछि अग्राख पलाउँछ’ भन्ने उखानको घुमाउरो अर्थ पनि पक्कै बुझेका होलान्। यदि यो उखानको अर्थ नबुझेका भए आफ्ना निजी सचिवबाट बुझेर भए पनि उखानको मर्मानुसारका पाइला यथाशीघ्र अगाडि बढाइहाल्नुपर्ने आजको माग हो।

अहिलेको बजारको हल्लामा सरकारको नेतृत्व परिवर्तन गर्ने कि भन्ने आशयको हल्ला पनि अलि–अलि हावा लागेरै पात हल्लेजस्तै भएको होला। दुवै कम्युनिस्ट पार्टी एकीकरण भएपछि कम्युनिस्ट पार्टीका दुवै अध्यक्ष भए पनि एमाले धारका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तुलनामा माओवादी धारका अध्यक्ष प्रचण्डले झन्डै एउटा परिपक्व अभिभावकको रूपमा छन्। उनी अभिभावकको भूमिका निभाएर आफू प्रधानमन्त्रीको कुर्सीमा बस्न नपाए पनि सन्तुष्ट नै रहने दृढताका साथ केवल अध्यक्षको पदमा मात्र सीमित रहेका छन्। केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर पनि पर्दाभित्रबाट ओलीलाई सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्दै गरेका प्रचण्डले आज करिब एक वर्षको समय बित्न लाग्दै गर्दा सरकारको नेतृत्व परिवर्तनको विषय उठान गर्नुले शायद उनलाई प्रधानमन्त्रीका यतिन्जेलसम्मका क्रियाकलापले मानसिक सन्तुष्टि दिएनन्। अथवा आफू त्यत्रो दशबर्से जनयुद्धको नायक बनेर पनि अहिले केवल कम्युनिस्ट पार्टीको फोस्रो अध्यक्ष पदमा झुलिरहनुपर्ने कुराले उनलाई दिक्दारी उत्पन्न गरायो कि ⁄ वा उनका शुभचिन्तकले सरकारको नेतृत्व अब तिमीले सम्हाल्नुपर्छ भनी उकासेर प्रचण्डले त्यो अभिव्यक्ति बाहिर ओकले भन्ने कुरा विश्लेषणयुक्त पक्ष हो।

आखिर सरकारको नेतृत्व परिवर्तनको अभिव्यक्ति जुन अभिप्रायले आए पनि अहिलेको सन्दर्भमा सरकारको नेतृत्व परिवर्तनको विषय भनेको असान्दर्भिक हो भन्ने ठान्नुपर्छ। एकातिर एक वर्षअगाडि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले एक वर्षको समय पूरा नहुँदै अधिक मात्रामा आलोचित हुनुपरेको छ। वर्तमान सरकारको प्रमुख प्रतिपक्षी बनेको नेपाली काङ्गे्रसले निर्मला पन्त हत्याकण्डको विषयलाई लिएर उनको राजीनामाको मागसमेत अगाडि सारेको थियो। तर उनी टसको मस भएनन्। उनकै पालामा आएर अलि प्रभावकारी ढङ्गबाट भ्रष्टाचारका घटनाहरूमा न्यूनीकरण हुने लक्षणहरू देखा पर्दै छन्। जसको ज्वलन्त उदाहरण बाइडबडी विमान खरिद प्रकरणमा दोषी ठहरिएका भनिएका आफ्नै राजनीतिक दलका प्रभावशाली नेता रवीन्द्र अधिकारीलगायतका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई उक्त विमान खरिदको प्रक्रियामा अर्बौं रुपियाँ अनियमित गरेको आरोप लागेको छ। उक्त आरोप सत्य साबित भएछ भने निडरताका साथ आरोपित ठहरिएका व्यक्तिलाई यथोचित कार्यवाही गर्न खुट्टा कमाएनन् भने अबका दिनमा प्रधानमन्त्री ओलीको प्रतिष्ठा बढेर जाने कुरा निश्चितजस्तै छ।

अझ यी सबै कामका बाबजुद मेलम्ची आयोजना केही महिनामा नै पूरा गराउन सके भने अनि बल्ल उनले बाल्यकालदेखि गरेको राजनीतिक क्रियाकलापको औचित्य साबित हुनेवाला छ। हुन त सरकारको नेतृत्व परिवर्तन भएर पनि यी विषयलाई खासै असर नपर्ला भन्ने सोच धेरैको हुनसक्छ। यो सोच आफैंमा पनि यथार्थ हो तर हाम्रो देशको सरकारको नेतृत्व परिवर्तनसँगै अघिल्लो सरकारले अपनाएको नीति सफलै भए पनि त्यसलाई अपनाउन अलि कन्जुस्याइँ गर्ने चलन छ। सरकारको नेतृत्व परिवर्तनसँगै भोलि त्यही पुरानै सोच र कार्यशैली हाबी नभए त ठिक्कै होला तर उही कार्यशैली हाबी भयो भने वर्तमान प्रधानमन्त्री ओलीकै नेतृत्वको सरकारले जुन सोचका साथ मेलम्चीको खानेपानी आयोजनाको काम अगाडि बढाइरहेको छ, त्यसमा पक्कै पनि बाधा पर्न जान्छ। यसले गर्दा निकै पछाडि धकेलिन जाने मात्र होइन ‘आकाशको फल आँखा तरी मर्’ को अवस्था आउन पनि बेर लाग्दैन।

त्यसकारण अहिलेको परिवेशमा सरकारको नेतृत्व परिवर्तनको कुरा गर्न मुख आँ नगर्दा नै उत्तम होला। दुवै कम्युनिस्ट पार्टी एकजुट हुँदा केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार निर्माणको क्रममा पालैपालो सरकारको नेतृत्वको प्रसङ्ग आएको थियो अथवा विनाविवाद आलोपालो सरकारको नेतृत्व गर्ने रणनीतिको खेल खेलिएको हो भने आमनेपाली जनतालाई टाउको दुखाइको विषय बनेको छैन। तर कुरो के भने, सरकारको नेतृत्व परिवर्तनको नाममा आलटाल गरी मेलम्ची खानेपानीजस्ता आमजनताका चिर–प्रतीक्षित एवम् संवेदनशील विषयमा एकदिनको समय पनि खेर नफालियोस्। आफूले गरेको दोष अरू कसैलाई थोपरेर आफू चोखिन खोज्ने हाम्रा बानी र व्यवहारमा आमूल परिवर्तन गर्नु आजको आवश्यकता हो। यो आवश्यकतालाई बुझेर पनि बुझ पचाउने काम गर्नु महान् अपराध हो। कम्तीमा अरू सर्वसाधारणले यस्ता अपराध नजानेर गरे भने पनि देश हाँक्ने सारथीहरूले त्यस्तो भूल गर्नु कदापि हुँदैन।

प्रतिक्रिया दिनुहोस्