ललितपुरमा कराते प्रतियोगिता हुँदै



नेपाल समाचारपत्र, ललितपु ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं. ११ बज्रबाराहीमा ‘प्रथम गोदावरी नगरपालिका मेयर कप तथा चौधौँ सो–क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ ।

बज्रबाराही सो–क्युकोसिन कराते डोजोको आयोजनामा शुक्रबारदेखि सुरु हुने उक्त प्रतियोगितामा देशका सातै प्रदेशबाट १२० जना खेलाडीहरुले भाग लिने आयोजकले जनाएको छ।

शुक्रबारबाट दुईदिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन र समापन समारोहको प्रमुख आतिथ्यता गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि सबै तयारी पूरा भएको अयोजक डोजोका प्रमुख जय देसारद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रतियोगिताको कुल लागत १५ लाख रुपैयाँ हुने डोजो प्रमुख देसारले वताए।

कार्यक्रममा देशका विभिन्न स्थानबाट आउने खेलाडीहरुका लागि खाने बस्ने व्यवस्था आयोजकले मिलाएको छ । प्रतियोगिता विजेताहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सशस्त्र प्रहरीका खेलाडीहरु समेत सहभागी हुने आयोजक डोजोले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ अण्डर २५ केजी, अण्डर ३० केजी, ३५, ४५, ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ खुला तौल समूहमा समेत खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिलातर्फ ३५ केजी र महिलातर्फ खुला तौल समुहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा टेकराज लङ्गाली, नविना श्रेष्ठलगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्नेछन् ।

कार्यक्रममा अत्यन्तै जोखिमपूर्ण आइसब्रेक, सिसाको वोतल ब्रेक गर्नेलगायतका साहसिक खेलहरु समेतको प्रदर्शन हुनेछ। कार्यक्रममा करातेका १२ जना खेलाडीहरुलाइ विशेष सम्मान समेत गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्