बिजुलीको तारले खोसिएको खुसी



अभिमन्यु लामिछाने
जीतपुर–१६ को दुधौली जितपुर गाउँ अहिले शोकमा डुबेको छ। सिन्धुलीको दुधौली नगरपालिका–९ मा रहेको जितपुर गाउँबाट धनुषाको सवैला नगरपालिका कोठिया वल्टियामा जन्ती गएको बस फर्कने क्रममा करेन्ट लागेर ६ जना जन्तीको मृत्यु भएपछि शोकमा परेको हो। शुक्रबार रामवरण अधिकारीको विवाहमा जन्ती गएको बस फर्कने क्रममा बेहुलीको घरनजिकैको पोलबाट लत्रिएको तारमा छुँदा करेन्ट लागेको थियो।

रामवरणको विवाहमा धनुषको सवैला नगरपालिकाको केठिया बल्टियाका रामभरोस कुँवरकी छोरी सरस्वती कुँवरसँग हुने निश्चित भएपछि उनी शुक्रबार २ सयको हाराहारीमा जन्ती लिएर दुलही लिन गएका थिए। दिनभरि दनुवार परम्परा, संस्कार र संस्कृतिअनुसार रामशरण र सरस्वतीको विवाह कर्म भयो। विभिन्न विधिअनुसार विवाह भइरहेको थियो। अझै दुई वटा विधि बाँकी थियो। तर, विवाहको विधि पूरा गरेर जन्ती बिदा गर्न ढिलो हुने भएपछि दुई वटा बसमा गएका जन्तीलाई बेहुलीका परिवारले पहिले नै बिदा गरिदिए।

बेहुलीको घरबाट बिदा भएर केही पर नपुग्दै जन्ती चढेको ना५प १७५२ नम्बरको लालिमा बसमा करेन्ट लाग्यो। जथाभावी लत्रिएर झुन्डिएका बिजुलीका तारलाई समेट्दै अगाडि बढेको बसमा एक्कासी करेन्ट लाग्यो। ‘पहिलो झट्का लाग्दा नै पूरै भूकम्प गएर जस्तो लाग्यो।’ –प्रत्यक्षदर्शी बेहुलाका २१ वर्षीय भाइ भरत अधिकारीले बताए।

‘त्यहाँ जताततै बिजुलीको तार लत्रिएका थिए’, भरतले भने– ‘बिहान जाँदा पनि बिजुलीको तार सम्हाल्दै बेहुलीको घर पुगेका थियौं।’ साँझ परिसकेको र ढिला गरे बिजुलीको तारकै खतरा हुने भन्दै छिटो–छिटो गरेर आउँदा एक्कासी करेन्ट लागेको उनले बताए। बसको छतमा राखेको टिनको बाकसलाई करेन्टले भेट्दा पहिलो झट्का लागेको भरतले बताए। ‘पहिलो झट्का लाग्दै बसका चालक टेकबहादुर खत्री गाडी छोडेर भागे’, भरतले भने– ‘पहिलो झट्का लागेपछि बिजुली बन्द भयो, ड्राइभर भागे र बसमा भएका जन्ती आतिँदै बसबाट झरे।

तर, पुनः करेन्ट प्रभाव भयो, त्यसैमा परेर ६ जनाले ज्यान गुमाउनुपरेको हो।’ ज्यान गुमाउनेमा स्थानीय ४५ वर्षीय रामबाबु अधिकारी, १९ वर्षीया लीलाकुमारी अधिकारी, २१ वर्षीया पूजा अधिकारी, १० वर्षीय सुरज अधिकारी, ८ वर्षीय आक्रोश अधिकारी र धनुषा सवैलाकी ६५ वर्षीया केशमदेवी कुँवर रहेका छन्। ५ जना जन्ती गएका र केशमदेवी उताबाट जन्तीको गाडीमा जितपुरतर्फ आफन्त भेट्न आउँदै गरेकी बेहुलाका भिनाजु श्रवण अधिकारीले बताए। ‘चाकलले लापरबाही गर्दा बसमा करेन्ट लाग्यो’, बेहुलाका ६४ वर्षीय बुबा रामप्रसाद अधिकारीले भने– ‘बिहान जाँदा पनि बिजुलीको तार पन्छाउँदै गएका थियौं, चालकलाई थाहा थियो।’ तर, चालकले मादक पदार्थ पनि सेवन गरेकाले जबरजस्ती ग¥यो,

त्यसै गरी जथाभावी नांगो तार विस्तार गरेर विद्युत् प्राधिकरणले समेत लापरबाही गरेकाले दुखद घटना भएको उनले बताए। जन्ती गएका आफन्त नै करेन्ट लागेर मृत्यु भएपछि अहिले जितपुर गाउँ शोकमा डुबेको छ। विधिवतरूपमा बेहुली भिœयाउने काम अहिलेसम्म भएको छैन। झन्डै हजारको संख्यामा निम्ता गरिएका निम्तालुका लागि तयार गरिएको ७ वटा खसी, चामल, चिउरा, तरकारी र अन्य सामग्री भण्डारमै सडिरहेको छ। कान्छो छोरोको बिहे भएकाले धुमधामका साथ भोज गर्ने सपना रहेको रामप्रसादले बताए। ‘तर, नांगो बिजुलीको तारले बेहुली भिœयाउने र भोज खानेभन्दा आफ्नो आफन्त गुमाउनुको पीडा थपिदिएको छ’,

रामप्रसादले भने– ‘६ बहिनी छोरी र जेठो छोरोको विवाहमा गर्न नसकेको रमाइलो कान्छो छोरोकोमा गरौंला भनेको थिए।’ तर, दैवले पनि साथ नदिएपछि अहिले नयाँ दुलहीलाई ल्याएर पनि शोकमा बस्नुपरेको उनले बताए। गाउँमा करेन्ट लागेर जन्तीको मृत्यु भएपछि जितपुर गाउँमा नै शोक छाएको आज बिहीबार ७ दिन भयो। ४ दिनसम्म गाउँमा उज्यालो नै नभएको स्थानीय दिनेश अधिकारी बताउँछन्। बेहुलाका छिमेकी ब्र≈मलाल अधिकारीका नाति र नातिनी सुरज र लीलाको मृत्यु भएको छ। एउटै परिवारको दुई जना गुमाउँदाको पीडा र गाउँकै अगुवा समाजसेवी रामबाबु अधिकारीको मृत्युले गाउँले छटपटाएका छन्। ‘सबै भन्छन्– ‘सबै थोक सकियो बिजुलीको तारले, अब खोजेर पनि रामबाबु जस्ता गाउँकै अगुवा समाजसेवी जितपुरका झन्डै सय घर दुनवारले कहिल्यै पाउने छैनन्।’

प्रतिक्रिया दिनुहोस्