क्रिकेटप्रेमीका लागि थप उत्साह



नेपाली खेलाडीले नेपालको इज्जत राख्ने शृङ्खलालाई निरन्तरता दिएका छन् । नेपालले खेलकुद क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो गर्न नसके पनि खेलाडीहरूले एकपछि अर्को सफलता हात पार्ने क्रम भने जारी रहेको छ । युएईमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले सफलता हात पारेको छ । युएईबीरुद्धको एकदिवसीय खेलमा नेपाल २–१ ले शृङ्खला आफ्नो पोल्टामा पार्न सफल भएको छ । एकदिवसीय खेल खेल्ने मायन्ता पाएको नेपालले यसअघिको नेदरल्यान्डसँग भएको खेल बराबरीमा टुंग्याउन बाध्य भएको थियो भने यसपटक भने एकदिवसीय खेल आफ्नो पक्षमा पार्न सफल भएको छ । एकदिवसीय खेलमा नेपालले पाएको यो ऐतिहासिक सफलताले क्रिकेटप्रेमीहरूका लागि थप उत्साह थपेको छ ।

सोमबार सम्पन्न खेलमा क्याप्टेन पारस खड्काको योदगान महत्वपूर्ण रह्यो । क्याप्टेन खड्काको अविस्मरणीय ब्याटिङले नेपाललाई शृङ्खला जिताउन महत्वपूर्ण योगदान रहेको थियो । चिर प्रतिद्वन्द्वी युएईले नेपालसमक्ष दिएको २ सय ५४ रनको योगफललाई सजिलै पार गरी शृङ्खला आफ्नो हातमा पारेको थियो । नेपालको क्रिकेट इतिहासलाई हेर्ने हो भने विवादै विवादमा रुमलिएको देखिन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपालको क्रिकेट बोर्डमाथि प्रतिबन्ध लगाउँदा लगाउँदै पनि भरपर्दा क्याप्टेन खड्काले आफ्नो टोलीलाई सम्हालेर यो अवस्थामा पु¥याउन सफल भएका छन् । राजनीति गर्ने व्यक्तिहरूले खेलकुदलाई खेलौना बनाएका कारण अन्य खेलक्षेत्र पछाडि परेको भए पनि क्रिकेट खेल भने नेपालमा उदाउँदो अवस्थामा रहेको छ ।

सरकारले खेल जितेर आएपछि शुभकामना दिने र खेलाडीलाई व्यक्तिगतरूपमा १–२ लाख रुपियाँ दिनुबाहेक अहिलेसम्म खेल विकासका लागि कुनै उल्लेख्य काम गरेको देखिँदैन । खेलको विकास गर्नुपर्दछ भन्ने मान्यतामा सरकार पुग्न नसकेका कारण यसअघिका सरकार र अहिलेको सरकारले त्यसतर्फ ध्यान दिन सकेको देखिँदैन । यस्तै नेपालमा अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको रंगशाला पनि बन्न सकेको छैन । मूलपानीमा निर्माणाधीन रंगशालासमेत विवादमा परेपछि निर्माण कार्य ठप्प भएको छ । यस्तो अवस्थामा पनि क्रिकेट टोलीको यो सफलतालाई ऐतिहासिक मान्नुपर्दछ ।

सरकारले खेल क्षेत्रमा लगानी बढाउनुको सट्टा रकम कटौती गर्ने, खेल र खेलाडीका लागि स्थापित संस्थामा खेल विज्ञभन्दा पनि आफ्ना अरौटे–भरौटेलाई नियुक्ति दिने क्रमले नेपाली खेलजगत् विगतको भन्दा दयनीय अवस्थामा पुगेको छ । खेलको माध्यमबाट विश्वमा मुलुकलाई चिनाउन सकिने सम्भावनालाई सरकारले नजरअन्दाज गर्दा क्रिकेटबाहेकका अन्य खेल भने नामेट हुने अवस्थामा पुग्नु पक्कै मुलुकका लागि सुहाउँदो कुरा होइन । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्