जिरोनाविरुद्ध बार्सिलोनाको सहज जित



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनाविरुद्ध सहज जित आत्मसात गरेको छ।
आइतबार राति अवे मैदानमा भएको खेलमा बार्सिलोनाले जिरोनालाई २–० गोल अन्तरले हराएको हो। बार्सिलोनाको जितमा नेल्सन सेमेडो र कप्तान लियोनल मेसीले १÷१ गोल गरेका थिए। १० खेलाडीमा सीमित घरेलु टोलीविरुद्ध बार्सिलोनाले दुवै हाफमा १÷१ गोल गरेका थिए।

खेलको नवौं मिनेटमा नेल्सनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। खेलको ५१औं मिनेटमा बेर्नाडो स्पिनोसाले दोहोरो पहेंलो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटियो। त्यसपछि खेलको ६८औं मिनेटमा कप्तान मेसीले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए। जितसँगै शीर्षस्थानको बार्सिलोनाले २१ खेलबाट ४९ अंक जोड्दा पराजित जिरोनाको २४ अंक रहेको छ।

ला लिगाअन्तर्गत आइतबारै भएको अर्को खेलमा रियल मेड्रिडले पनि जित हासिल गरेको थियो। रियलले इस्पान्योललाई ४–२ ले हराउँदै तीन अंक बटुल्न सफल भयो। रियलको जितमा करिम बेन्जेमाले २ तथा रामोस र बेलले १÷१ गोल गरेका थिए। यस्तै इस्पान्योलका बप्टिसटाओ र रोसालेसले १÷१ गोल आफ्नो नाममा लेखाए।

खेलको ७२औं मिनेटमा भने भराने रातो कार्डको सिकार भएपछि रियल १० जनामा समेटिएको थियो। यस्तै अन्य खेलमा रियल भालाडोलिडले सेल्टा भिगोलाई २–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले रियल बेटिसलाई १–० ले पराजित गरे। रियल सोसिडाड र हुएस्काले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे।

 

प्रतिक्रिया दिनुहोस्