पुलिस पराजित



काठमाडौं, (नेस)
जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
साविकको विजेता नेपाल एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पूर्णविराम लागेको हो। एपीएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ। समान २१ अंक भए पनि पुलिस हेड टु हेडमा एपीएफसँग पछि परेको हो।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपीएफले पहिलो सेट २५–२० ले सहजै आफ्नो पक्षमा पारेको थियो। तर, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपीएफले पुलिसलाई पराजित गर्न निकै संघर्ष गर्नुपर्दा ३३–३१ को कठिन जित निकाल्यो। तेस्रो सेट भने एपीएफले सहजै २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो। यससँगै पहिलो राउन्डको खेल सकिन लाग्दा एपीएफ लिगमा अपराजित रहने एक्लो टोली बनेको छ।

 

प्रतिक्रिया दिनुहोस्