आरभ र शुभाङ्गी च्याम्पियन



काठमाडौं, (नेस)

आरभसम्राट हाडा र शुभाङ्गीलक्ष्मी शाह १६ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१४ सिंगल्समा आइतबार च्याम्पियन बनेका छन् ।

आरभ ब्वाइज तथा शुभाङ्गी गल्र्समा पहिलो भएका हुन् । मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा आरभले आर्यन गिरीलाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गरे । गल्र्स फाइनलमा शुभाङ्गीले इशाश्री शाहलाई ६–३ र ७–६(४) को सीधा सेटमा हराइन् । दुवै स्पर्धाका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको प्रतियोगिताअन्तर्गत यु–१२ सिंगल्सको ब्वाइजमा प्रणव मानन्धर तथा गल्र्समा इभा अधिकारीले स्वर्ण जिते । ब्वाइज फाइनलमा प्रणवले सरोज तामाङलाई ६–३ र ६–२ को सेटमा पाखा लगाए । गल्र्सको निर्णायक प्रतिस्पर्धामा इभाले प्रशंसा मोक्तानलाई ६–२ र ७–५ को सेटमा निराश पारिन् । ब्वाइज÷गल्र्स दुवैको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुररस्कार पाए ।

यु–१० सिंगल्स को ब्वाइजमा निशाद जोशी तथा गल्र्समा प्रतिष्ठा लामा च्याम्पियन बने । ब्वाइज फाइनलमा निशादले सम्मान बस्नेतलाई ६–१ र ६–० ले पन्छाए । गल्र्स फाइनलमा प्रतिष्ठाले समृद्धि महर्जनमाथि ६–४ र ६–४ को जित निकालिन् । दुवै समूहका विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद पुरस्कार थापे ।

प्रतियोगितामा १२ स्पर्धामा ४६ ब्वाइज र ३१ गल्र्स गरी ७७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि यु–८ सिंगल्सको ब्वाइजमा अशभ हाडा र गल्र्समा शिभाली गुरुङ तथा यु–९ सिंगल्सको ब्वाइजमा अद्रित नेपाल र गल्र्समा प्राज्णा मानन्धर पहिलो भएका थिए । डबल्सको ब्वाइजमा चिराग तिमिल्सना र राजवीर प्रधान तथा गल्र्समा इशाश्री शाह र रायना शाहको जोडी च्याम्पियन बनेका थिए । कुल नगद पुरस्कार राशी २ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

विजेतालाई जिएए अल्मुनाइ एसोसिएसनका अध्यक्ष भुअरुण मल्ल, नेपाल टेनिस संघ र आयोजक एकेडेमीकी अध्यक्ष ज्योति राणा, आयोजक एकेडेमीका संरक्षक मनोज राणाले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्