रानीपोखरीको मोडालिटी छिटै टुङ्गो लगाऊ



भूकम्पले क्षति पु¥याएका सम्पदा पुन निर्माणमा ढिलासुस्ती भइरहेका बेला रानीपोखरी अझै कस्तो मोडलमा निर्माण गर्ने टुङ्गो लागेको छैन । रानी पोखरी पुन निर्माणमा निकै आलोचना खेपिरहेको काठमाडौं महानगरपालिका अझै मोडलमै अलमलिएको छ । पुनर्निर्माणका लागि मूल्यांकन गरेभन्दा बढी रकमको प्रस्ताव आएपछि महानगरले नयाँ मोडालिटीमा जाने निर्णय गरेको हो ।

करिब १४ करोड रुपियाँमा टेन्डर आवहन गर्दा ठेकेदार कम्पनीले करिब १७ करोड रुपियाँमा टेन्डर प्रस्ताव गरेपछि कामपा अप्ठ्यारोमा परेको थियो । महानगरले अब फेरी नयाँ मोडल अनुसार काम अघि बढाउन विज्ञसँग परामर्श शुरू गरेको छ । कामपाले उपभोक्तालाई जिम्मा दिनेगरी विकल्प, खरिद ऐनअनुसार बोलपत्र आवहन गर्ने, स्थानीयको सहभागितामा, परियोजना र गैरसरकारी संस्थाको सहभागितामा निर्माण गर्ने भन्नेबारे विकल्प खोज्दै छलफल अघि बढाएको हो । नयाँ मोडलको टुङ्गो छिटै लाग्ने महानगर पदाधिकारीको दावी छ ।

२ वर्ष अघि २०७३ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले कामपाको स्वामित्वमा रहेको ‘रानीपोखरी पुनर्निर्माण अभियान’ शुभारम्भ गनृु भएको थियो । राष्ट्रपतिले नै अभियान शुरु गरेपछि ऐतिहासिक पोखरीको पुन निर्माणले गति लिने अधिकांशको विश्वास थियो । तर पोखरीको पानी सुकाएर कंक्रिटको वाल लगाउँदा स्थानीयस्तरबाट व्यापक विरोध भएपछि पुनर्निर्माणको काम ठप्प भएको छ । विवादले उग्ररूप लिएपछि कामपाले ठेकेदार कम्पनी वल्र्ड वाइड कँडेल के एन्ड केजी जेभीसँग सम्झौता तोडेको थियो । सो कम्पनीले करिब ७ करोड रुपियाँमा टेन्डर पारेर काम शुरू गरेलगत्तै रानीपोखरीको सौन्दर्यतामा गम्भीर असर पुग्न गएको भन्दै कामपाका मेयर र उपमेयरबीच विवाद भएको थियो ।

पोखरी पुन निर्माणबारे विज्ञ समितिको रायलाई समेट्दै पुरातत्व विभागले गत वर्ष मल्लकालिन शैलीको नक्सा उपलब्ध गराएको थियो । पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पनि मल्लकालीन शैलीमै निर्माण हुने बताइएको छ । समितिले पोखरी वरिपरि निर्माण भएका संरचना तत्काल भत्काउन, पोखरीमा पानी जम्मा गर्न विभिन्न स्थानमा निर्माण गरिएका पुराना धाराहरूको उत्खनन् गर्न सुझाव दिएको छ । त्यसैगरी तत्कालिन मल्ल राजा प्रताप मल्लको परिवारसहितको सेतो हात्तीलाई पुरानै संरचना अनुसार रंग रोगन र पुनर्निर्माण गर्नुपर्ने, मौलिकस्वरूप र मन्दिरको संवेदनशीलतालाई ध्यानमा राख्दै वरिपरि फलामको बार हटाएर पुरानै शैलीमा बनाउनुपर्ने समितिको सुझाव छ ।

काठमाडौको मुख्य भेग अनि विभिन्न मुलुकका विशिष्ठ पाहुना ओहोर–दोहोर गर्ने मार्गमा रहेको पोखरी लथालिङ भएपछि सहरी सौन्दयता समेत खस्किएको छ । विज्ञहरुले दिएको सुझाव व्यवहारिक हुँदा हुँदै पनि देशकै धरोहरका रूपमा रहेको रानीपोखरीको पुनर्निर्माण यसरी अलमलमा पारिनु हुँदैन । त्यसैले जतिसक्दो छिटो विवाद रहित मोडालिटी तय गरेर पुन निर्माण अघि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्