खराब ब्याटिङले नेपाललाई हार 



नेपाल समाचारपत्र, काठमाडौं
संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले शुक्रबार पहिलो खेलमा हार बेहोरेको छ।

दुबईको मैदानमा भएको खेलमा नेपालले घरेलु टोली यूएईसँग ३ विकेटको हार स्वीकार गरेको हो। खराब ब्याटिङले गर्दा नेपालको हार भयो। नेपालले मात्र १ सय १४ रनको लक्ष्य दिएकोमा यूएईले ३२ दशमलव १ ओभरमा ७ विकेटको नोक्सानीमा जित हात पा¥यो। यो नतिजापछि तीन खेलको एकदिवसीय शृंखलामा नेपाल १–० ले पछि परेको छ।

नेपालका बलरमा करण केसी, सन्दीप लामिछाने र कप्तान पारस खड्काले २–२ विकेट लिएका थिए। सोमपाल कामीले एक विकेट हासिल गरे। नेपालले झिनो लक्ष्य दिएपछि बलिङमा शुरूआत त राम्रै गरेको थियो। २ विकेट १२ रनका लागि नेपालले झारेको थियो। अश्फाक अहमदलाई करणले एलबीडब्ल्यूको धरापमा पारेका थिए। यसपछि यूएईका सबैभन्दा राम्रा ब्याटसम्यान चिराग सुरीको विकेट सोमपालले उठाएका थिए।

करणले नै शाइमान अनवरको विकेट हात पारेर यूएईलाई ३५ रनमा तेस्रो झट्का दिए। यसपछि पारस र सन्दीपले लगातार बलिङ गरेर २/२ विकेट हात पार्दै यूएईलाई दबाबमा राखेका थिए। उनीहरुले ३५/३ बाट १९ दशमलव २ ओभरमा ७३/७ को कमजोर स्थितिमा पु¥याएका थिए। सन्दीपले सर्वाधिक ३० रन जोडेका गुलाम शब्बेरको महŒवपूर्ण विकेट लिएका थिए। यो विकेट लिएपछि नेपालले जित्ने सम्भावना बढेको थियो।

तर त्यसो भएन आठौं विकेटका लागि अमिर हायात र इमरान हैदरले नेपाली बलरलाई निरास तुल्याए। उनीहरुले अटुटरूपमा ४३ रनको साझेदारी गर्दै यूएईलाई जित दिलाएका थिए। आमिरले ४२ बलमा १ चौका र १ छक्कासहित २४ रन र इमरानले ३९ बलमा २ चौकाको सहयोगमा १८ रन जोडेका थिए। आमिर म्यान अफ द म्याच घोषित भए।

यसअघि नेपालले ३३ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो। नेपालका लागि सर्वाधिक रन सोमपाल कामीले जोडे। चौथो नम्बरमा आएर ब्याटिङ गरेका सोमपालले ४७ बलमा ३ चौकाको मद्दतमा ३० रन बनाएका थिए। यस्तै मध्यक्रममा आरिफ शेखले २५ रन र कप्तान पारसले २० रनको योगदान दिए भने पुछारमा सन्दीपले १५ रन जोड्दा नेपालले १ सय रन कटाउन सफल भएको थियो। अन्य ब्याटसम्यानको भने दोहोरो अंक छुन पनि भाग्य भएन।
ओपनर ज्ञानेन्द्र मल्लले खाता पनि खोल्न सकेनन् भने अर्का ओपनर विनोद भण्डारीले केबल ५ रन बनाए। यो विनोदको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो। यस्तै भरपर्दा ब्याटसम्यान दीपेन्द्रसिंह ऐरी पनि शून्यमै आउट हुनाले पनि नेपालले सोचेजस्तो ब्याटिङ गर्न सकेन। यूएईका बलरमा मोहम्मद नाभिद र अमिर हायातले ३/३ विकेट लिए भने इमरान हैदरले २ विकेट हासिल गरेका थिए।
डेब्यु ३ खेलाडीको”

नेपालका तर्फबाट एकदिवसीय अन्तर्राष्ट्रियमा विनोद भण्डारी, पवन शराफ र ललितनारायण राजवंशीले डेब्यु गरेका छन्, जसमा पवनले ४ रन जोडे भने ललित २ रनमा नटआउट रहेका थिए। ललितले भने बलिङमा मौका पाएनन्। कसिलो बलिङ भइरहेको स्थितिमा ललितलाई कमसेकम एक ओभर फ्याल्न दिनुपर्ने थियो। तर उनलाई बल ठम्याइएन। विनोदका लागि अन्तर्राष्ट्रिय एकदिवसीय पहिलो सहभागी भए पनि यसअघि धेरै खेल खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्