वीरगन्जकी एक युवती २५ दिनदेखि बेपत्ता



कृष्णउदास खनाल
वीरगन्ज । वीरगन्ज महागरपालिका – १४ बहुअरी मुस्लिम टोल माइती भएकी २० वर्षीया यसजरा खातुन २५ दिनदेखि वेपत्ता भएको माइती पक्षले बताएका छन् ।
कान्छी छोरी हराएपछि फैजुल रहमान र रुवैदा खातुन चिन्तामा छन् ।सजरा हराएपछि प्रहरीलाई खोजीका लागि निवेदन दिएको भएपनि अहिलेसम्म छोरी फेला नपरेपछि उनीहरु चिन्तित भएका हुन् ।
दुई वर्षअघि वीरगन्ज महानगरपालिका १८ ईनर्वा मनियारी बस्ने चोकट मिया र फतमा खातुनको कान्छो छोरा २४ वर्षीय रहिम हवारीसँग उनको विवाह भएको थियो ।
पछिल्लो पटक झण्डै डेढ महिनादेखि माइतमै रहेकी सजरा अंग्रेजी नयाँ साल मनाएर त्यसको भोलिपल्ट पुस १८ गते ससुराल (घर) फर्के्कि थिइन् । त्यसपछि उनी कहाँ छिन माइती पक्षले थाहा पाउन सकेको छैन ।घरमा जेठानी लगायतले कुटपिट गर्ने गरेका कारण भागेर सजरा माइत आउने गरेको माइती पक्षको दावी छ ।
‘सँधै आउने जाने गर्थिन, पछिल्लो पटक कुटेर पठाएका रहेछन, डेढ महिनाजति बसिन, जेठानीले फोन गरेर पठाइदिन भनेपछि पठायौं, अहिले ससुरालमा पनि छैन भन्ने खबर आयो,’ सजराका बुवा फैजुलले भने, ‘ जेठो छोरालाई ससुरालमा बुझ्न पठाँए, उसले बहिनी कहाँ छ ? भनेर सोध्दा माईतीबाट आई व्याग राखेर भागी भनेर जवाफ दिए । प्रहरीले भने सजराको तीव्र खोजी गरिरहेको दावी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले खोजीमा कुनै कसर बाँकी नराखेको दावी गरे । फोन पनि नबोक्ने र राम्रोसँग नबोल्ने भएका कारण अनुसन्धानमा कठिनाइ भइरहेको उनको भनाइ छ ।
यसैबीच सजरा हराएको १५ दिनपछि प्रहरीले वीरगन्ज महानगरपालिका २० अपौनीमा एकजना महिलाको जलेको अवस्थामा शव फेला पारेको छ ।
स्थानीय भरतप्रसाद चौरसियाको गहुँ खेतमा राखेको परालको कुन्यु जलेको खरानीमा अन्दाजी २०र२२ वर्षको महिलाको शव फेला परेको हो ।
परालको कुन्युमा आगो लगाइएका कारण महिलाको शव पनि जलेकोले शव पहिचान हुन सकेको छैन ।यस बिषयमा पनि अनुसंधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्