अस्ट्रेलियामा धोनीको रवाफ



फिरोज राजोपाध्याय, खेल जगतमा हेर्ने हो भने ३० को उमेर कटेका खेलाडीलाई बुढो थानिन्छ । राम्रो लयमा होस् या खराब लयमा होस ३० कटेकालाई संन्यास लिन लगाउन दवाब दिइन्छ । पुरानो खेलाडीको नयाँ खेलाडीसँग तालमेल पनि नमिल्दो हुन्छ । उनीहरुबीचको ग्याप धेरै बढ्छ र आखिरमा राम्रै खेले पनि ती खेलाडीले नचाहेर पनि संन्यास लिइहाल्छन् । तर एक खेलाडी यस्ता छन्, जो पाको उमेरमा पनि अहिले सानदार खेल प्रदर्शन गरिरहेका छन् ।

हुन त खत्म भयो, बुढो भयो, टीममाथि बोझ भयो, नयाँ खेलाडीलाई मौका दिनु पर्छ भन्ने जस्ता टिप्पणी उनीमाथि भईरहेका हुन्छन् । तर ती खेलाडीले अहिले सानदार खेल पस्केर आलोचकहरुको मुख टम्म टालिदिएका छन् । उनी हुन् भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी । उनले हालै अस्टे«लियामा भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत तीन खेलको द्विपक्षीय शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई जित दिलाए ।

भारतलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को तीन ट्रफी दिलाएका धोनीको प्रदर्शनले नै भारतले अस्टे«लियाको भूमिमा पहिलो पटक एकदिवसीय शृंखला जितेको छ । उनले ती तीनवटै वान डे खेलमा हाफ सेन्चुरी जमाएका थिए । जसमा अन्तिम दुई खेलमा पुरानै फिनिसर धोनी देखिए । उनले छक्का प्रहार गरेर फिनिसिङ गर्ने शैलीको धेरै पागल प्रशंसकहरु छन् । धोनीलाई उत्कृष्ट प्रदर्शनको कारण म्यान अफ द सिरिज समेत घोषित गरियो । उनले कूल १ सय ९३ रन बटुलेका थिए । दुई पटक चाहि जित पक्का गरेर उनी पभेलियन समेत फर्केका थिए ।

धोनीको विषयमा कोच रवि शास्त्रीले समेत बयान गरे । उनले टेलिग्राफमा बताए–‘तपाई धोनीको सट्टा कोही पनि अर्को खेलाडी फेर्न सक्नु हुन्न । यस्ता खेलाडी ३०÷४० वर्षमा एक चोटी मात्रै आउँछन् । मैले भारतीयहरुलाई भनेको छु कि उनी जबसम्म खेलिरहन्छन् त्यसको मजा उठाउनु । जब उनी जान्छन् तब एक खाली स्थान हुन्छ जसलाई भर्न ज्यादै मुश्किल हुनेछ ।

३७ वर्षीय धोनी भारतीय टीमका सबैभन्दा अनुभवी र पाको खेलाडी हुन् । उनीसँग कप्तान विराट कोहलीले समेत समय समयमा सल्लाह गरेको हुन्छ । मैदानमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को मामिलामा त विराटले धेरै जसो धोनीसँगै सल्लाह मागेको देखिन्छ । कप्तान नभएपनि मैदानमा फिल्डर राख्ने र डीआरएसमा धोनीकै सहयोग आवश्यक भएको कोहली बताउँछन् ।
अस्टे«लियामा ऐतिहासिक उपलब्धि हासिल गरेपछि भारतीय टोलीले मे मा हुन लागिरहेको विश्व कप २०१९ को दावेदारीमा आफुलाई उभ्याएको छ । यो यस कारण भयो कि अस्टे«लियालाई उसकै भुमिमा हराउन मुश्किल विषय हो । तर यसपटक भारतीय टीमले ब्याट र बलले अस्टे«लियालाई पन्छायो । यसैले भारतलाई विश्वकप विजेता बन्नेमा दरो दावेदारीमा गनिएको छ ।

तर इंग्ल्यान्डकै कुरा गर्ने हो भने भारतीय टिमको प्रदर्शन ज्यादै खराब बनेको थियो । इंग्ल्यान्डमा विराट र उनका साथीको प्रदर्शन खराब थियो । विश्वकपको लागि टिम तयारीमा पनि प्रश्न चिन्ह उठेको थियो । एसिया कपमा पनि भारतले आठौं पटक कीर्तिमानका साथ उपाधि उठायो । तर आलोचकलाई मध्यक्रमका ब्याटसम्यानले सन्तुष्ट जवाफ फर्काउन सकेनन् ।

प्रायजसो आलोचना धोनीको प्रदर्शनमै अट्किने गर्छ । धोनीलाई टिममा राख्ने कि नराख्ने विषयमा विवाद भइरहन्छ । विश्वकप आउन पनि धेरै समय छैन । धोनीको सट्टा युवा खेलाडीलाई मौका दिने कि भन्ने पनि सोचिरहेको छ बीसीसीआई । धोनीको ब्याटमा पहिले जस्तो धार पनि छैन यो साँचो हो । पहिलेको दाँजोमा उनको ब्याट सुस्ताएको छ ।

हालै इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ मा चेन्नई सुपर किंग्समा धोनी फर्के । उनले फर्कनासाथै ७५ भन्दा बढी औसतमा ब्याटिङ गरेका थिए । उनको स्ट्राइक रेट करिब १५० रहेको थियो । धोनीले आफनो कप्तानीमा चेन्नईलाई च्याम्पियन पनि बनाएका थिए । तर आईपीएलपछि दुई वटा वान डे सिरिज खेलियो । जसमा धोनीको प्रदर्शन बिर्सनलायकको थियो ।

धोनीको इंग्ल्यान्डविरुद्धको वान डे सिरिजमा ब्याटिङ ३९.५० को औसतमा थियो । उनको व्यक्तिगत उच्चतम रन ४२ थियो । एशिया कपमा धोनीले १९.२५ को औसतमा मात्र ७७ रन बनाएका थिए । यसले धोनीलाई टीममा राख्नुहुदैन भन्ने कुरा धेरै अगाडि आउनु पनि स्वाभाविक नै हो । उनको अधिकतम रन भनेको ३६ थियो । यस्तै वेस्टइन्डिजविरुद्ध पनि धोनी बेरंग रहेका थिए । उनले १६.६६ को औसतले केवल ५० रन नै बनाउन सकेका थिए । उनको अधिकतम रन २३ थियो ।

तर ३ सय ३५ वान डे खेलिसकेका धोनीले अस्टे«लियामा भने गजबको प्रदर्शन गरे । उनले आलोचकलाई समेत केही भन्ने अवसर दिएन । वान डे मा १० हजार भन्दा रन बटुलिसकेका धोनीलाई राम्रो र खराब प्रदर्शनमा कति भिन्नता हुन्छ भन्ने राम्ररी ज्ञान छ । यसैले अस्टे«लिया पुग्नेवित्तिकै उनले आफुलाई राम्रो लयमा फर्काए । उनको प्रदर्शनमा सारा समिक्षक र आलोचकले प्रशंसा गर्न बाध्य भएका थिए ।

मेलबर्नमा जितेपछि कोहलीले बताए—‘भारतीय टिममा धोनी भन्दा अधिक समर्पित खेलाडी कोही छैनन् । पाँचौ नम्बरमा ब्याटिङ गर्न धोनीलाई सहज भएको छ ।‘

प्रतिक्रिया दिनुहोस्