बार्कले २०१८ का फिट खेलाडी



कविरस शर्मा
अमेरिकन नेशनल फुटबल लीग (एनएफएल) मा खेल्ने सेक्वोन बार्कले २०१८ सबैभन्दा फिट खेलाडी सूचीको शीर्ष स्थानमा रहन सफल भएका छन् ।

अमेरिकाको चर्चित स्पोर्टस् म्यागेजिन स्पोर्ट्स इलस्ट्रेटेडले केही समय अघि जारी गरेको सन् २०१८ को सर्वाधिक फिट खेलाडी सूचीमा बार्कलेले शीर्ष स्थान ओगट्न सफल भएका हुन् । एनएफएल टीम न्यूयोर्क जाएन्ट्सका बार्कले टप–२५ फिट पुरुष खेलाडीहरुको सूचीको शीर्षस्थानमा रहेका छन् ।

योसंगै २१ वर्षीय बार्कलेले चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पनि फिटनेसमा उछिनेका छन् । गत वर्ष उक्त सूचीको शीर्षस्थानमा रहेका ३३ वर्षीय रोनाल्डो यसपटक दोस्रो स्थानमा चिप्लिएका छन् । अमेरिकाकी जिम्नास्ट सिमोन बाइल्स महिलाको सर्वाधिक फिट खेलाडी सुचीको शीर्ष स्थानमा अडिग रहन सफल भइन् ।

२१ वर्षीया बाइल्स लगातार दोस्रो वर्ष विश्वकै सबैभन्दा फिट महिला खेलाडी बनेकी हुन् । उक्त सूचीमा क्रिकेटका कुनै पनि खेलाडीको नाम अटाएनन् । पुरुष उत्कृष्ट–२५ खेलाडी सूचीमा २० खेलका खेलाडी छन् । जसमा सबैभन्दा अधिक ३ जना बास्केटबलका छन् ।

यस्तै महिलामा १७ खेलसम्बद्ध खेलाडी छन् । जसमध्ये ४ जना एथ्लेटिक्सका छन् । खेलाडीहरुले गत वर्ष गरेको प्रदर्शन, सम्बन्धित खेलको फिजिकल स्ट्रेन्थका लागि पर्ने आवश्यकता, खेलाडीहरुको ट्रेनिंग र उनीहरुले उपभोग गर्ने डाइटको मात्रा र अन्य फिजिकल बेन्चमार्क जस्तै स्टामिना, स्पीड, स्ट्रेन्थ, स्फूर्ति, एन्ड्यूरेन्स, लचकताको आधारमा उक्त सूची जारी गरिएको हो ।

बार्कलेको दैनिकी
बार्कलेले जिममा दैनिक तीन–तीन घन्टाको तीन राउन्ड ब्यायाम गर्छन् । उनी २ सय २४ किलोसम्म भार बहन गर्छन् । जुन एकपटकमा ७ राउण्डको हुने गर्छ । उनले ब्याक स्क्वाट गर्दा २ सय ३८ किलोसम्म भार बहन गर्छन् ।

एनएफएलका यी खेलाडीले एक सातामा २२ हजार क्यालोरीसम्मको उर्जा उपयोग गर्छन् । जसका लागि बार्कलेले दैनिक ९ देखि १० हजार क्यालोरीसम्मको खाना खान्छन् । यो मात्रा कुनै सामान्य ब्यक्तिले दैनिक उपभोग गर्ने क्यालोरी भन्दा ५ गुना बढी हो ।

बाइल्सको फिटनेस रहस्य
जारी गरिएको सूचीमा सर्वाधिक फिट खेलाडीको शीर्ष स्थानमा बाइल्स अडिग रहन सफल भइन् । यस्तो हुनुको रहस्य पछाडि बाइल्सको कडा मेहनत रहेको छ । बाइल्स साताको छ दिन र सातामा ३२ घन्टा जिम गर्छिन् ।

Gymnast Simone Biles poses for a portrait at the U.S. Olympic Committee Media Summit in Beverly Hills, Los Angeles, California March 7, 2016. REUTERS/Lucy Nicholson

जिमको हरेक दिनको कार्यसूची भिन्न रहेको छ । उनी सोमवार र बुधवार लगातार ५–५ घन्टा जिम गर्छिन् । अन्य दिन भने २ देखि ३ घन्टासम्म ब्यायाम गर्छिन् । जिमपछि उनी साइक्लिंग गर्छिन् । यदि कुनै दिन उनले आउटडोर साइक्लिंग गरेन भने उनी दौडतिर ब्यस्त हुन्छिन् । सन्तुलनका लागि लिपिन्ग, जम्पिंग र बाउन्डिग गर्छिन् । जिम्नास्टका लागि २३०० देखि ३ हजार क्यालोरीसम्म आवश्यकता पर्दछ । जसका लागि बाइल्स दिनको ४ पटक खाना खान्छिन् ।

फेडेरर र नाडाल सूचीमा अटेनन्
पछिल्लो पटक जारी गरिएको यस सूचीमा स्विट्जरल्यान्डका रोजर फेडेरर तेस्रो र स्पेनका राफेल नाडाल २३औं स्थानमा रहेका थिए । तर यसपटक भने दुवै जना उत्कृष्ट–२५ सूचीमा अटाएनन् । यी बाहेक ब्रिटेनका साइकिलिस्ट क्रिस फ्रूम र अमेरिकाको डब्ल्यूडब्ल्यूई स्टार जोन सीनाले पनि उक्त सूचीमा स्थान बनाउन सकेनन् ।

सेरेनाको स्थान खस्कियो
अमेरिकी चर्चित टेनिस खेलाडी सेरेना विलियम्स २०१८ मा जारी गरिएको उक्त सूचीको नवौं स्थानमा रहेकी थिईन् । त्यतिबेला उनी आमा बनेपश्चात कोर्टमा पुनरागमन गर्ने तयारीमा थिए । यसपटक भने उनी एक स्थान चिप्लंदै दसौ स्थानमा पुगेकी छन् । यसपटक नवौ स्थानमा आयरल्यान्डका मिक्स्ड मार्शल आर्टका चर्चित खेलाडी कोनोर म्याकग्रेगोरको नाम सूचीकृत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्