पिलिस्कोभासँग सेरेना नाटकीय शैलीमा पराजित



मेलबर्न, (एजेन्सी)
अघिल्लो खेलमा शीर्ष खेलाडी सिमोना हालेपविरुद्ध हार जोगाएर अगाडि बढेकी सेरेना विलियम्स अस्टे«लियन ओपनबाट बाहिरिएकी छन् ।

बुधबार भएको क्वार्टरफाइनल खेलमा सेरेनालाई चेक खेलाडी कारोलीना पिलीस्कोभाले हराएकी हुन् । अमेरिकी खेलाडीले ४ म्याच प्वाइन्टको मौका गुमाउनु नै हार भएको हो । मेलबर्न कोर्टमा पिलिस्कोभाले नाटकीय शैलीमा अन्तिम ६ गेम जितेर सेरेनालाई जिल्ल पारिन् । सेरेना मार्गारेट कोर्टको २४ ग्रान्डस्लाम उपाधि संख्या बराबरी गर्ने लक्ष्यमा थिइन् । तर उनी ४–६, ६–४, ५–७ को तीन सेटमा पराजित भइन् ।

३७ वर्षीया सेरेनाले निर्णायक सेटमा ५–१ को अग्रता लिएकी थिइन् । सेरेना जस्ती अनुभवी खेलाडीको लागि यो अग्रता भनेको जित्ने अवस्था थियो । तर उनले यसपछि लगालग लय गुमाउँदै गइन् र खेल नै हार्न पुगिन्। सेरेनाले भनिन्—उनले म्याच प्वाइन्टमा अविश्वसनीय प्रदर्शन गरिन् । वास्तवमा मैले केही गल्ती गरेँ तर उनले साँच्चिकै राम्रो खेलिन् ।
तेस्रो म्याच प्वाइन्टमा जित हात पारेकी पिलिस्कोभाले बताइन्—मैले अवसर लिएँ ।

अन्तिम चारमा पूर्व नम्बर एक पिलीस्कोभाको सामना जापानकी नाओमी ओसाकासँग हुनेछ । अर्को खेलमा पेट्रा केभिटोभाले वरियताविहीन अमेरिकी खेलाडी डेनीली कोलीन्सविरुद्ध खेल्नेछिन् । ओसाका गत वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनका विजेता थिइन् । उनले विवादास्पद फाइनलमा सेरेनालाई हराएकी थिइन् । २०१६ युएस ओपनकी रनरअप पिलिस्कोभाले ओसाकाबारे बताइन्—नाओमी ओसाका खतरनाक हुन् तर सेरेनाभन्दा धेरै खतरनाक कोही छैनन् ।

सेरेना निर्णायक सेटमा ५–१ र ४०–३० को स्थितिमा थिइन् । उनी म्याचको लागि सर्भिस गर्दै थिइन् । पहिला फुट फाल्ट त्यसपछि ¥यालीमा फोरह्यान्ड नेटमा प्रहार गरेपछि ब्रेक प्वाइन्टको लाभ पिलिस्कोभाले लिइन् र ५–२ को स्थिति गरिन् । त्यसो त सेरेनाको लागि ५–४ को स्थितिमा पुन ३ म्याच प्वाइन्ट उपलब्ध थिए । यसलाई पनि पिलिस्कोभाले उल्ट्याएर खेल ५–५ बराबरी गरिन् । उनले अर्कोे सेरेनाको सर्भिस तोडेर सेटमा ६–५ ले अग्रता लिइन् । पिलिस्कोभाको सर्भिसमा सेरेनाले २ म्याच प्वाइन्ट बचाएर खेलमा फर्कने चेष्टा त गरिन्, तर उनले सकिनन् । पिलिस्कोभाले २ घण्टा १० मिनेट लगाएर खेल जितेकी थिइन् ।

जोकोभिच सहजै सेमिफाइनलमा
शीर्ष खेलाडी नोभाक जोकोभिच मेलबर्नमा जारी अस्टे«लियन ओपनको सेमिफाइनलमा पुगेका छन् ।

बुधबार भएको क्वार्टरफाइनल खेलमा केइ निशीकोरीले बीचमै खेल परित्याग गरेपछि जोकोभिच अन्तिम चारमा सहजै प्रवेश भएका हुन् । आठौं वरियताका जापानी खेलाडीको तिघ्रामा समस्या देखिएपछि जोकोभिचले त्यति मेहनत गर्नु परेन । निशीकोरीले खेल छाड्दा उनी ६–१, ४–१ को अग्रतामा रहेका थिए । सर्बियाली खेलाडीले शुक्रबार हुने सेमिफाइनलमा लुकास पउइलीसँग खेल्नेछन् । फ्रेन्चम्यानले मिलोस राओनिकलाई हराएका थिए । जोकोभिचले पछिल्ला १५ भेटमा निशीकोरीसँग हार बेहोरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्