पुनर्निर्माणमा सकियो २२ अर्ब 



नानीराम नेपाल, सिन्धुपाल्चोक
विनाशकारी भूकम्पको ४५ महिना बितिरहँदा निजी आवास पुनर्निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। सिन्धुपाल्चोकमा भूकम्पबाट क्षति भएका निजी घरहरूमध्ये ५७ हजारको पुनर्निर्माण सम्पन्न नै भइसकेको छ। १९ हजार निजी घर निर्माण सम्पन्न हुने अन्तिम चरणमा छन्। बाँकी ९ हजार घर धमाधम निर्माण भइरहेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन एकाइका अनुसार हालसम्म जिल्लाका ५६ हजार ६ सय १ निजी घर निर्माण सम्पन्न भई अनुदानको अन्तिम किस्ता नै प्राप्त गरिसकेका छन्। एकाइका अनुसार ५३ हजार १० लाभग्राहीले सरकारी अनुदानको ३ लाख पाएका हुन् भने ३ हजार ५ सय ९१ लाभग्राहीले विभिन्न संस्थाहरूबाट अनुदान पाएका हुन्।
हालसम्म ७५ हजार ८ सय ९८ लाभग्राहीले अनुदानको दोस्रो किस्ता प्राप्त गरिसकेका छन्। पहिचान भएका कुल ८७ हजार लाभग्राहीमध्ये झन्डै ८५ हजारले पहिलो किस्ताको अनुदान पाइसकेको अनुदान व्यवस्थापन कार्यालयले जानकारी दियो।

‘पुनर्निर्माणसँगै अनुदान निकाशाको क्रम तीव्र भइरहेको छ’, अनुदान व्यवस्थापन एकाइका लेखाप्रमुख दिनविनोद घिमिरेले भने– ‘पहिलो किस्ता लिन अब लगभग २ हजार मात्रै बाँकी देखिन्छन्।’ अनुदान व्यवस्थापन एकाइ, लेखा शाखाका अनुसार हालसम्म निजी आवास पुनर्निर्माणमा २२ अर्ब रकम निकासा भएको छ। कार्यालयका अनुसार निजी आवास पुनर्निर्माण अनुदानअन्तर्गत पहिलो, दोस्रो र अन्तिम किस्ताको गरी हालसम्म २१ अर्ब २५ करोड रकम भूकम्पपीडित लाभग्राहीलाई वितरण गरिएको हो।

पहिलो किस्ताको ५० हजारबापत ८४ हजार ९ सय ९२ परिवारलाई ४ अर्ब २४ करोड निकाशा भइसकेको छ। त्यस्तै दोस्रो किस्ताको डेढ लाखका दरले ७५ हजार ८ सय ९८ परिवारलाई ११ अर्ब ३८ करोड रुपियाँ निकासा भएको छ। तेस्रो किस्ताको १ लाखका दरले ५६ हजार परिवारलाई ५ अर्ब ६० करोड रुपियाँ वितरण भइसकेको छ।

जिल्लाका १२ स्थानीय तहमध्ये हालसम्म पुनर्निर्माणमा सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकामा खर्च भएको छ। कुल १३ हजार ९ सय ६१ लाभग्राहीमध्ये ११ हजार १ सय ४७ घर निर्माण सम्पन्न हुँदा चौतारा साँगाचोकगढी नगरपालिकामा ३ अर्ब ३४ करोड रकम खर्च भइसकेको हो।

तुलनात्मकरूपमा पुनर्निर्माणमा पछाडि देखिएको मेलम्ची नगरपालिकामा हालसम्म निजी आवास पुनर्निर्माणअन्तर्गत २ अर्ब २२ करोड रकम खर्च भएको छ। कुल १३ हजार ३ सय २५ लाभग्राहीमध्ये हालसम्म मेलम्ची नगरपालिकामा ७ हजार ४ सयले मात्र निजी आवास निर्माण सम्पन्न गरेका छन्।

पुनर्निर्माणमा खर्चको हिसाबले इन्द्रावती गाउँपालिका तेस्रो स्थानमा छ। कुल ८ हजार ३ सय लाभग्राही रहेको इन्द्रावतीमा ५ हजार ४ सय निजी घर पुनर्निर्माण सम्पन्न भएका छन्। यसअन्तर्गत १ अर्ब ६२ करोड खर्च भएको छ। बाह्रबिसे नगरपालिकामा ५ हजार १ सय ९४ घर निर्माण सम्पन्न भएका छन्। घर निर्माण सम्पन्न गर्नेहरूका नाममा १ अर्ब ५३ करोड रकम खर्च भइसकेको छ।

इन्द्रावती गाउँपालिकापछि पुनर्निर्माणमा बलेफी गाउँपालिका देखिएको छ। कुल ६ हजार ४३ लाभग्राहीमध्ये बलेफीमा ४ हजार ८ सय २८ ले आवास निर्माण सम्पन्न गरिसकेका छन्। निर्माण सम्पन्न गर्ने ४ हजार ८ सय २८ का लागि बलेफी गाउँपालिकामा १ अर्ब ४४ करोड रकम खर्च भएको छ। ४ हजार ५ सय ५४ कुल लाभग्राही रहेको त्रिपुरासुन्दरी गाउँपालिकामा ३ हजार २ सय ६१ निजी आवास पुनर्निर्माण सम्पन्न भएका छन्। जसअन्तर्गत ९७ करोड ९३ लाख रुपियाँ खर्च भएको देखिन्छ।

हेलम्बु गाउँपालिकामा हालसम्म ५० प्रतिशतभन्दा बढी निजी घर निर्माण सम्पन्न भएका छन्। कुल ५ हजार ३ सय ४८ लाभग्राही रहेको हेलम्बुमा ३ हजार १ सय ६ जनाले निजी आवास निर्माण सम्पन्न गरेका हुन्। उनीहरूका लागि आवास निर्माण अनुदानअन्तर्गत ९३ करोड १८ लाख रुपियाँ खर्च भएको देखिन्छ। ५ हजार २ सय बढी लाभग्राही रहेको लिसंखुपाखर गाउँपालिकामा २ हजार ५ सय निजी घर निर्माण सम्पन्न भएको देखिन्छ।

उनीहरूका लागि ७७ करोड ८५ लाख रुकम खर्च भएको छ। सुनकोसी गाउँपालिकामा २ हजार ६ सय ६ ले मात्रै निजी आवास निर्माण सम्पन्न गरेका छन्। उनीहरूका लागि ७८ करोड १८ लाख खर्च भएको देखिन्छ। ४ हजार २ सय लाभग्राही रहेको भोटेकोसी गाउँपालिकामा १ हजार ४ सय मात्र निजी घर निर्माण सम्पन्न भएका छन्।

भोटेकोसीमा पुनर्निर्माणका क्रममा ४३ करोड मात्रै खर्च भएको देखिन्छ। पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि २ हजार ५ सय ४४ ले मात्र आवास निर्माण सम्पन्न गरेका छन्। कुल ७ हजार लाभग्राही रहेको यस गाउँपालिकामा ७६ करोड ३२ लाख मात्र पुनर्निर्माणमा खर्च भएको देखिन्छ। तेस्रो किस्ता लिइसकेकाको आधारमा उल्लिखित खर्च देखिए पनि पहिलो र दोस्रो किस्ता बापत जिल्लाभर गरी थप ५ अर्ब रकम खर्च भइसकेको अनुदान व्यवस्थापन कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्