क्याफे हमलामा हतियार उपलब्ध गराउने पक्राउ



ढाका (एजेन्सी)
बंगलादेशको एक क्याफेमा सन् २०१६ मा भएको एक नरसंहारकारी हमलाका लागि हतियार, विस्फोटक र पैसा उपलब्ध गराउने एक संदिग्धलाई गिरफ्तार गरिएको छ ।

प्रहरीको एन्टी क्राइम र्यापिड एक्सन बटालियन (आरएबी) ले ती संदिग्ध अतिवादीलाई मध्य बंगलादेशको गाजिपुरमा एक बसबाट गिरफतार गरिएको हो । ममुनुर रासिद रिपनका रुपमा पहिचान गरिएका उनलाई होली आर्टिजन बेकरीमा हमला गरेको मामिलामा संलग्न रहेको आरोप लगाइएको छ । उनी हालसम्म फरार रहेका अभियुक्त बताइएको छ ।

बीडी न्युजका अनुसार आरएबी प्रवक्ता मुफ्ती महमुद खान भने , उनलाई आइतबार अपरान्ह स्थानिय समय १ बजे हुआघाटबाट ढाका जाने क्रममा एक बसबाट पक्राउ गरियो ।

रिपन प्रतिबन्धित जमातुल मुजाहिदी बंगलादेश (जेएमबी)लाई हतियार आपुर्ति र पैसा उपलब्ध गराउने प्रमुख ब्यक्ती भएको आरएबीले दावी गरेको छ । उक्त संगठनले नै होली आर्टिजन बेकरीमा हमला गरेको थियो ।

ढाकाको होली आर्टिजन बेकरीमा सन् २०१६ जुलाइ १ मा भएको हमलामा २२ जनाको मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरुका अनुसार ३० बर्षिय रिपनले नै उक्त हमलाका लागि पैसा र आवश्यक हतियार, विस्फोटक पदार्थ आपुर्ति गरेका थिए । बेकरीमा करिब १० घण्टासम्म कट्टरपन्थी आक्रमणकारीले कब्जामा राखेका थिए । अतिवादीहरुले उक्त हमलामा १८ विदेशी सहित २२ जनाको हत्या गरेका थिए ।

पक्राउ परेको बेला रिपन संग १ लाख टाका बरामद भएको आरएबीका प्रवक्ता मुफ्ती महमुद खानले बताए । सोधपुछका क्रममा रिपनले होली आर्टिजन बेकरी हमलाको षडयन्त्रमा आफु संलग्न रहेको स्विकार गरेको खानले बताए ।

प्रतिक्रिया दिनुहोस्