रेल सेवा ठप्प हुँदा ठोरीबासी मर्कामा



कृष्णउदास खनाल, वीरगन्ज
पर्साको सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सीमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन्।

सो स्थानमा उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागन्जसम्म पुग्ने सवारी छोटी लाइन रेल बन्द भएपछि स्थानीयवासी समस्यामा परेका हुन्। ठोरीमा चार दशकदेखि छोटी लाइन रेल सञ्चालनमा थियो। भारत सरकारले सन् २०२० सम्म भिखना ठोरीदेखि नरकटियागञ्जसम्म वडी लाइन विस्तार गर्ने योजनासहित रेलको लिक निर्माण गर्ने कामलाई अगाडि बढाइरहेको छ। ‘भारतीय व्यापारी घरघरमै फलफूल किन्न आउँथे’, ठोरी–१ का कृषक राम प्रसाद ढुंगानाले भने, ‘रेल चल्न छाडेपछि गाउँमै बाँडेर फलफूल सक्नुपर्ने अवस्था छ। हामी जस्ता कृषकलाई जीविका चलाउनै गाह्रो हुन थालेको छ।’

ठोरीमा उत्पादन हुने रुख कटहर, भूइँ कटहर, आँप, लिच्ची, केरा भारतीय बजारमा बढी माग हुने गरेको थियो। ठोरीका मानिस कृषि उत्पादन बिक्री गर्न, उपचार गर्न, दैनिक उपभोग्य सामान खरिद गर्न तथा सदरमुकाम वीरगन्जसम्म पुग्न पनि रेलको प्रयोग गर्दथे।रेलको ठाउँ भनेर चिनिने गरिएको ठोरीमा यहाँको सीमावर्तीबाट चल्ने सवारी रेल, मालबाहक रेल सञ्चालनमा छैनन्। रेल बन्द भएकै कारण यहाँका कृषकले फलफूलका बिरुवा रोप्न छाडेका छन्।

ठूला अस्पतालको सेवा नरहेको यहाँका स्थानीयवासीले उपचार गर्न ठोरीदेखि वीरगन्ज र भरतपुरका अस्पताल पुग्न ७० किलोमिटरको कच्ची बाटो प्रयोग गर्नुपर्छ। तीनतर्फ चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतीय खुल्ला नाका हुँदा सम्भावना प्रशस्त रहेको ठोरी पूर्वाधार विकासमा कमजोर छ। बजेट थोरै हुँदा विकासले गति लिनसकेको छैन। गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले खोलानाला व्यवस्थापनमै बजेट अपूग भएको बताए। पर्सामा रहेका अन्य स्थानीय तहको तुलनामा ठोरीमा १० गुणा बढी समस्या रहेपनि बजेटको आकार सानो रहेको उनको भनाइ छ। पछिल्लो जनगणना अनुसार त्यहाँ २० हजारको बसोबास छ।

 

प्रतिक्रिया दिनुहोस्