सिएमसी मेलम्ची प्रकरण: ठेकेदारलाई अन्तिम मौका



नेपाल समाचारपत्र, काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई नेपाल फर्कन अन्तिम मौका दिइएको छ । नेपाल छोडेको महिना दिनसम्म नआएपछि आयोजनाको आइतबार बसेको बैठकले अन्तिम सन्देश पठाएको हो ।

आयोजनाले ठेकेदारलाई फर्काउन १४ दिनको भाका राखेर सन्देश पठाएको आयोजना स्रोतको भनाई छ । स्रोतका अनुसार उक्त सन्देशमा १४ दिनभित्र ठेकेदार नेपाल नफर्केमा ठेक्का सम्झौता रद्द गर्न बाध्य हुने उल्लेख छ । ठेकेदार कम्पनीका लागि यो अन्तिम मौका हुने बताउँदै आयोजनाका एक अधिकारीले भने–‘हामी ठेकेदारलाई पर्खेको पर्खै छौँ । आउने अझैँ निश्चित छैन । यो उसका लागि अन्तिम मौका हो ।’
इटालियन ठेकेदार कम्पनी सीएमसी दी रिभेन्ना वित्तीय संकटमा परेपछि उसका कर्मचारीहरु आयोजनाको काम छोडेर हिँडेका थिए । अंग्रेजी नयाँ वर्ष मान्न जाने बहानामा देश छोड्न लागेको भन्दै कम्पनीका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायत ८ जनाको आयोजनाले प्रहरीको सहयोगमा राहदानी खोसेको थियो ।

त्यसपछि नयाँ वर्ष मनाएर फर्किने भन्दै सबै इटालियन दूतावासको जिम्मामा विदेश उडेका थिए । त्यसयता उनीहरुले फर्किने भनेको दिनमा नआई उल्टै अनेक थरीको माग अघि सार्दै आईरहेका छन ।

ठेकेदार कम्पनी सिएमसीले आयोजनाको बाँकी काम सम्पन्न गर्न र कम्पनीले पाउन बाँकी सबै बक्यौता रकम बाँकी काम सम्पन्न गर्नुअघि नै पाउनुपर्ने, जफत गरिएको धरौटी रकम फिर्ता हुनुपर्ने र काम सुरु गर्नुअघि सिंगापुर वा लन्डनमा वार्ता गर्नुपर्ने, कम्पनीका प्रतिनिधिको पासपोट जफत नगर्ने प्रतिबद्धता आउनुपर्ने लगायतका सर्त अघि सारेको थियो ।

तर, आयोजनाले युद्धको अवस्था नभएको र शान्ति–सम्झौता गर्नुपर्ने पनि होइन भन्दै काठमाडौंमै वार्ता गर्न सकिन्छ भनेर पत्र लेखेको थियो ।
हाल मेलम्ची आयोजनामा पूर्ण रुपमा काम ठप्प छ । सीएमसीका नेपाली ठेकेदारहरु पनि सबै रकम भुक्तानी नभएसम्म काममा नफर्किने अडानमा छन् । अहिलेसम्म ठेकेदार कम्पनीले नेपाली सप्लायर्स र कामदारलाई एक अर्ब ५८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

सरकारले धरौटी रकम रोक्का गरेपछि सीएमसी अदालत पुगे पनि अदालतबाट सरकारलाई धारैटी जफत गर्न बाटो खुलिसकेको छ ।
सकेसम्म पुरानै कम्पनीबाट बाँकी काम सम्पन्न गर्ने मनसायले पटकपटक आग्रह गर्दा पनि उसले वेवास्ता गरेकोले ठेक्का सम्झौता रद्द गर्नु परेको आयोजनाले जनाएको छ ।

ठेक्क रद्द सँगै सेक्युरिटी बापतको २ अर्व १६ करोड, ३८ करोड धरौटी ५५ करोड काम गरेको र दावी रकम पनि ठेकेदार कम्पनीले नपाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्