विमानस्थलको निर्माणाधिन पर्खाल गुणस्तरहीन



रामधन राई, खोटाङ
पहिरोले वगाएको खोटाङस्थित मनमायाँ राई खानीडाँडा विमानस्थलको निर्माणाधिन पर्खाल पनि गुणस्तरहीन पाइएको छ । गत जेठ १ गते दिउँसोको वर्षासँगै आएको भलपानीले विमानस्थलको दक्षिणपूर्वी भाग पहिरोले वगाएपछि निर्माण भईरहेको पर्खाल गुणस्तरहिन पाईएको हो ।

निर्माणधिन पर्खाल गुणस्तरहीन भएको गुनासो आएपछि निरीक्षण गर्दा काममा ढिलासुस्ती हुनका साथै मापदण्ड विपरितको पाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले वताउनुभयो । नेपाल नागरिक उड्ययन प्राधिकरणको करीब सात करोड रुपैंयाँ लागतमा कान्छाराम कन्ट्रक्शन प्रा.लि.ले पहिरो रोकथामका लागि पर्खाल निर्माणको जिम्मा लिएको हो । निर्माणधिन पर्खालमा प्रयोग गरिएको बालुवा लगायत निर्माण सामग्री कमसल हुनका साथै कामको गति सुस्त पाइएको अनुगमन टोलीले जनाएको छ । रिजालका अनुसार आगामी १४ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको काम यही गतिमा अघि वढे समयमा सम्पन्न नहुने देखिएको छ ।

भलपानीका कारण छेउबाट शुरु भएको पहिरो कालोपत्रे गरिएको धावनमार्गसम्म पुगेको छ । भलपानी थुनिएर शुरु भएको पहिरो करिब ५० मीटर फराकिलो भएर करीब ३ सय मिटर तलसम्म झरेको छ । विमानस्थल निर्माणका क्रममा माथिल्लो भाग कटान गरेर फालिएको माटोमाथि जाली भरिएका कारण पहिरो गएको हो । निर्माण व्यवसायी कान्छाराम तामाङले भने निर्माणाधिन पर्खाल लगायतमा प्रयोग हुने सामग्रीमा गुणस्तर कायम गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

विभिन्न दातृ निकायको आर्थिक सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको विमानस्थल गुणस्तरहीन बनेको यसअघि नै गुनासो आएको थियो । करीब तीन वर्षअघि मात्र कालोपत्रे गरिएको विमानस्थल पहिरोको जोखिममा परेपछि जिल्लावासी चिन्तित बनेका छन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट सबैभन्दा नजिक रहेको विमानस्थलमा पहिरो गएलगत्तैदेखि उडान तथा अवतरण अवरुद्ध वनेको छ ।

तीन वटा विमानस्थल रहेको खोटाङ जिल्लामा अहिले कुनै पनि सञ्चालनमा छैन । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क र उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा कालोपत्रेको काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्