वर्तमान सरकार विकास र समृद्धिको बाटोमा नहिडेको नेता सिटौलाको आरोप



भद्रपुर ।
नेपाली काँङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार विकास र समृद्धिको बाटोमा नहिडेको आरोप लगाएका छन् । प्रेस क्लब भद्रपुरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो आरोप लगाएका हुन् ।

विगतका सरकारका पालामा सुरु भएका महत्वपूर्ण बहुवर्षे आयोजनाका काम रोकेर सरकारले नयाँ कार्यक्रम समेत ल्याउन नसकेकोले विकास र समृद्धिको बाटोबाट सरकार भागिरहेको धारणा राखेका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका सिटौलाले एक वर्षे अवधिमा जनताको चाहना र विश्वास समेट्ने एउटा पनि उल्लेखनीय काम गर्न नसकेर नेकपा सरकारले लाचारपन देखाइ रहेको उल्लेख गरे ।

गृह जिल्ला झापामा दुई हप्तायता रहेका सटौलाले कार्यक्रममा बोल्दै नेपाली जनताले प्राप्त गरेको मौलिक व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट निराश हुनु पर्ने दिन सरकारले नै सिर्जना गरिरहेको धारणा राखे । उनले सरकार जनपक्षीय हुन नसके सङ्घीयता, लोकतन्त्र र गणतन्त्र पनि धरापमा नपर्ला भन्न नसकिने प्रष्ट्याए । सरकारको कमजोरीप्रति प्रतिपक्षले खेल्नु पर्ने भूमिका अब नेपाली काँङ्ग्रेस नेतृत्वले अभिभावकत्व लिन जनजागरण अभियान चलाउनु पर्ने बताए ।

नेता सिटौलाले सङ्घीय संरचना अनुसार पार्टी रूपान्तरण गरी जनताका घरदैलोसम्म जागर अभियान चलउन ढिलो गर्नु नहुने स्पष्ट पारे । उनले राज्यको एउटा अङ्गका रूपमा रहेको वायु सेवा निगम डुबाउन भूमिका खेल्ने जो कोही पनि कारबाहीको भागिदार हुनु पर्ने काङ्ँग्रेसको बटमलाइन रहेको जनाए । पार्टीको केन्द्रीय समितिले आधिकारिक धारणा प्रस्तावका रूपमा ह्वाइटबढीका दोषीमाथि कारबाही गर्न सर्वसम्मत पारित गरेको तर्क गर्दै सिटौलाले सरकारले भ्रष्टाचारमा संलग्न जोगाउन विभिन्न बाहनाबाजी गर्नुनहुने जनाए ।

पछिल्लो पटक काँङ्ग्रेस सभापतिमाथि विमान घोटलाको आरोप लागेको प्रति लक्षित गर्दै सिटौलाले दोषी ठहर भए कारबाही गर्न काङ्ँग्रेस सहयोगी हुने प्रष्ट पारे । सिटौलाले विगतमा झापाको समृद्धिका लागि आफू संसद हुँदा कार्यथालनी भएका दर्जनौं आयोजनाको काम रोकेर सरकारले विकास बिरोधी कार्य गरेकोमा आपत्ति समेत जनाए ।

उनले ऐतिहासिक नगर भद्रपुरको सुस्त स्वरूपबाट मुक्ति दिने प्रदेश नम्बर १ को सवैभन्दा ठूलो सभागृहका रूपमा निर्माण भइरहेको गिरिजाप्रसाद स्मृति भवनको काम रोकिनु, निर्माण सम्पन्न भएको मेची पुलबाट नागरिकले आवतजावत गर्न नपाउनु बिडम्बना भएको तर्क गरे । उनले परिवर्तित राजनीतिक संरचनाको संरक्षणका लागि काँङ्ग्रेसले रूपान्तरणमा जान ढिलो गर्नु नहुने समेत जनाए । विधि र प्रकृया मिचेर सरकार अधिनायकवादको बाटोमा हिड्ने संकेत देखिएको भन्दै नेता सिटौलाले जनमत स्वेच्छाचारी प्रवृत्तिका लागि नभएकोले जनपक्षीय कामका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्