ट्राफीकले उठायो १८ लाख



सलिम अन्सारी,प्युठान।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक बर्षको ६ महिनामा १८ लाख २३ हजार राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४५० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण बहादुर बिश्वकर्माले जानकारी दिए ।१ हजार ७०७ मोटरसाईकल कारबाहीमा ९ लाख १६ हजार राजस्व असुली भएको उनले सुनाए।चालू आवको साउन देखि पुस मसान्त सम्ममा ३ सय ११ वटा बस, २ सय ४० ट्रक र ट्रीपर, ८ सय ४२ जिप÷कार, दुई सय ६९ ट्याक्टर, सत्र सय सात मोटरसाइकल र अन्य ८१ वटा गरी कुल ३ हजार ४ सय ५० वटा सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रमुख बिश्वकर्माले जानकारी दिए ।

अनुमतिपत्र र बिलबुक बिना सवारीसाधन हाँक्ने,विनाहेल्मेट मोटरसाइकल चलाउने, अस्पष्ट सवारी प्लेट राख्ने, नियम विपरीत सवारी चलाउने सबै सवारी चालकलाई कारवाहीको दायरामा ल्याइएको प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए। उनका अनुसार जिल्लाको ढुङ्गेगढी,भिग्री,देविस्थान,चकचके,बिजुवार,बाग्दुला लगायतका क्षेत्रमा ट्राफीक प्रहरीले सवारी जाँचलगायत गतिविधि दैनिक गर्दै आएको छ। भित्री सडकमा समेत प्रहरीले निगरानी बढाएको छ। यसवर्ष यो अबधीमा उठेको राजश्व र भएको कारवाहीको सङ्ख्या गत वर्षभन्दा बढेको हो । त्यसो हुनुमा जाँचमा गरिएको कडाइ हो ।

ट्राफिक नियमको पालना गरे दुर्घटना पनि कम हुने बताउँदै डिएसपी बुढाथोकीले त्यसतर्फ सवारीचालक र सवारी धनी सजग हुनुपर्नेमा जोड दिए । चालू आर्थिक वर्षमा प्युठानमा सवारी दुर्घटनामा परी२९ जना घाईते भएको र १२ जनाले ज्यान गुमाएका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्