भाँडा साट्ने निहुँमा लुटपाट: चार महिलाको दश तोला सुन लुटियो



सीताराम चौधरी, कपिलवस्तु,
भाँडा साट्ने निहुँमा गाउँ पसेकी एक अपरिचित महिलाले लुटपाटको नौलो तरिका अपनाएकी छन् । सुन्दा तपाईंलाई पनि अचम्म लाग्न सक्छ । टाउकामा भाँडा बोकेर अपरिचित महिला गाउँ पस्छिन् । भाँडा साट्नुहुन्छ भनी महिला घरघर धाउँछिन्, घरमा महिलालाई एक्लै पाएपछि नजिक जान्छिन्, आशीर्वाद दिएजस्तो गर्छिन् ।

त्यसो गर्दा महिलाहरु लठ्ठिन्छन् र आफूले लगाएको गहना निकालेर ती अपरिचित महिलालाई दिन्छन् । तर परिवारका धेरै सदस्यहरु भएको घरमा भने ती महिलाले पुराना भाँडा खरीद गर्न आएको बताउँछिन् ।
यस्तै घटना भएको छ कपिलवस्तुको शिवराज नगरपालिका ३, सुनवर्षी गाउँमा । भाँडा बोकेर आएकी अपरिचित महिला लक्ष्मी कँडेलको घर गइन् र पुराना भाँडा खरीद गर्न आएको बताइन् ।

भाँडा खरिद गर्ने निहँुमा घरमा आएका अपरिचित महिलाले कुराकानी गर्दै पिठ्यूँ सुम्सुमाएपछि आफ्नो चेतना गुमेको पीडित लक्ष्मी कँडेल बताउँछिन् । कँडेलको साथमा रहेको झन्डै तीन तोला सुन लिएर महिला फरार भएको उनले बताइन् ।

यतै गरी ती महिला सोही गाउँकी सीता भुसाल, भूमिका कँडेल र पिङ्की खत्रीलाई समेत जादुटुना लगाएर अचेत बनाई गहना लुटेर फरार भएको पीडितहरुले बताएका छन् । चारै जनाको गरी झन्डै १० तोला सुनका गरगहना लुटेर अपरिचित महिला फरार भएको स्थानीयले बताएका छन् । शुक्रबार दिउँसो करीब १ बजे आएकी महिलाले जादुटुना लगाई गरगहना लुटी लगेको पीडितहरुको भनाइ छ । आफूहरु होस्मा आएपछि आफू लुटिएको थाहा पाएको पीडितहरु बताउँछन् ।

लगाएकै गरगहना लुटिएपछि महिलाहरुले वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् । स्थानीय महेन्द्र केवटले भाँडा साट्ने महिलाको तस्बीर समेत खिच्न भ्याएका थिए । पीडितहरुलाई त्यो तस्बीर देखाउँदा सोही महिला भाँडा साट्ने निहुँमा आएकी बताएका छन् । सोही तस्बीरकी महिलाले नै आफूहरुको गहना लुटपाट गरी फरार भएकी पीडितहरुको दाबी छ ।
पीडितहरुको किटानी जाहेरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले खोजी कार्यलाई तीव्र पारेको छ । पुरानो भाँडा किन्ने निहुँमा घरमा आउने अपरिचत व्यक्तिबाट सावधान रहन वडाप्रहरी कार्यालय चन्द्रौटाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्