समायोजनको असर एसईई परीक्षा तयारीमा, परीक्षा बोर्ड नै दोधारमा



ईश्वरराज ढकाल, काठमाडौं
कर्मचारी समायोजनाको गम्भीर असर यस वर्षको एसइइ परीक्षामा पर्ने देखिएको छ । सामायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो ।

समायोजनको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्यांक तयार हुनसकेको छैन । अधिकांश कर्मचारीले समायोजना फारम भरेर अन्यत्र सरुवा हुने सम्भावना देखेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको प्रकृया पूरा नभएसम्म परीक्षा नियन्त्रण कार्यालयका सबै कर्मचारीलाई यथावत राख्नुपर्ने आवाज उठाएको छ । यसका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पत्र बुझाइएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ ।

‘एकातिर कर्मचारीको लफडा भइरहेको र अर्कोतिर एसईई परीक्षा सम्पन्न गर्न समस्या परिरहेको अवस्थामा मन्त्रालयले नै कर्मचारी व्यवस्थापन गर्नुपर्ने अवस्थामा त्यसतर्फ ध्यानाकर्षण गराउन पत्राचार गरेका हौँ’ –उहाँले भन्नुभयो ।
बोर्डले गत पुस २९ गते पठाएको पत्रमा खारेज भएको निकायमा कर्मचारी नखटाउन आग्रह गर्दै करिब साढे ४ लाख विद्यार्थी सहभागी हुने परीक्षा सञ्चालन गर्न गम्भीर समस्या पर्ने भएकाले पनिकामा कार्यरत कर्मचारीलाई तत्काल सरुवा नगर्न भनिएको छ ।

उक्त पत्रमा सहमति नलिइ मनपरी रुपमा कर्मचारीलाई एसइइ परीक्षा कार्यालयमा काजमा सरुवा गरिएकोमा आपत्ति जनाइएको छ ।
शिक्षा ऐनले खारेज गरिसकेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा मन्त्रालयले छुट्टै परीक्षा नियन्त्रक पठाएको छ । हाल बोर्डअन्तर्गत दुई जना परीक्षा नियन्त्रक कार्यरत छन । पनिकामा हाल ४० जना कर्मचारी कार्यरत छन् । बोर्डको मातहतमा आइसकेको पनिकाका कर्मचारीलाई बोर्डकै मातहता ल्याउन आग्रह गरिएको अध्यक्ष प्राडा पौडेलले बताउनुभयो ।
यस्तै पनिकामा काज आएका सबै कर्मचारीलाई बोर्डमा हाजिर गराउन समेत आग्रह गरिएको छ ।

समायोजनको आवेदन खुलेपछि एसइइ कार्यालयका अधिकांस कर्मचारीले आवेदन दिएका छन् । समायोजनको कारण शिक्षा मन्त्रालयअन्तर्गतका ७७ वटै जिल्लामा रहेको शिक्षा तथा विकास समन्वय इकाइले एसइइको काम गर्न छाडिसकेको बताइन्छ । साढे ४ लाख विद्यार्थीको भविष्यसंग जोडिएको एसइइको काम नगरी समायोजनमै ध्यान पुगेपछि परीक्षाका अधिकांस काम प्रायः ठप्प भएको छ ।

स्मरणीय छ, यो वर्षको एसईई परीक्षा चैत १० गते आइतबारदेखि सञ्चालन हँुदै छ । तर शिक्षा समन्वय इकाइका कर्मचारीले कुन केन्द्रमा कति विद्यार्थी सहभागी हुन्छन्, कहाँ कति प्रश्नपत्र पठाउने हो भन्ने लगायतका तथ्याङक अहिलेसम्म उपलब्ध गराएको छैन ।
पनिकाले यो वर्ष प्रदेश स्तरबाटै परीक्षा संचालन गर्ने योजना बनाएको छ । तर परीक्षार्थीको एकिन तथ्यांक नभएसम्म कति प्रश्नपत्र छपाउने भन्नेमा बोर्ड नै दोधारमा छ ।

प्रतिक्रिया दिनुहोस्