ऊर्जामा आत्मनिर्भर हुनुपर्नेमा जोड



नेपाल समाचारपत्र
काठमाडौं
उपराष्ट्रपति नन्दबहादुर पुनले हिमालयन हाइड्रो एक्स्पो उद्घाटन गर्नुभएको छ। एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लगानीमैत्री वातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार गर्नुपर्ने बताउनुभएको छ।

सरकार, निजी क्षेत्र तथा विदेशी लगानीकर्ताहरू जलविद्युत् आयोजनामा लगानी गर्न लालायित भएको भन्दै उचित नीति, कानुन र इच्छाशक्तिको खाँचो रहेको उपराष्ट्रपतिनन्दबहादुर पुनले बताउनुभयो।

‘हामी बिजुलीमा आत्मनिर्भर छैनौ। अर्बौ रुपियाँको बिजुली आयात गरिरहेका छौं। सबैभन्दा पहिले हामी ऊर्जामा आत्मनिर्भर हुनुपर्छ। आन्तरिक खपत भएपछि बाँकी भएको विद्युत् निर्यात गर्ने सम्बन्धमा अहिलेदेखि नै सोच्नुपर्छ।’ उपराष्ट्रपति पुनले भन्नुभयो।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जलस्रोतमा निजी क्षेत्रको लगानीभित्र्याउन सहज वातावरणको आवश्यक्ता औंल्याउनुभयो।

‘निजी क्षेत्रलाई विश्वास गर्ने वातावरण अझै पनि छैन। हाइड्रोपावर क्षेत्रमा भ्याट रिफन्डको व्यवस्था गरिएको छैन। जबकी चुरोट तथा मदिरा उद्योगले भ्याट रिफन्ड पाउँछन्। यस्तो अवस्थामा हाइड्रो प्रोजेक्टमा निजी लगानी कसरी आकर्षित हुन सक्छ ? प्रोत्साहन गर्ने किसिमको वातावरण बन्नु पर्यो, लगानी गर्नेहरू पर्खिएर बसेका छन्।’ गोल्छाले भन्नुभयो।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले जलविद्युत् क्षेत्रको सम्भावनालाई यथाशीघ्र रियलाइज गरौं। यो अरू उद्योगजस्तो नभई धेरै लगानी चाहिने उद्योग हो। सरकारले पनि यस्ता नीति बनाउन जरुरी छ। जुन नीतिलाई टेकेर लगानीकर्ताले जोखिम लिन सकौं भन्नुभयो।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले हामी ३ सय युनिट परक्यापिटामा छौं भने ५ वर्षभित्र ७ सय युनिट, १० वर्षभित्र १५ सय युनिट पर क्यापिटा पुर्याउने सरकारको लक्ष्यअनुसार अघि बढिरहेका बताउनुभयो
इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले १५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई सहयोग गर्न आयोजना गरिएको एक्स्पोले विभिन्न मुलुकका जलविद्युत क्षेत्रका सरोकारवालालाई एकै छानामुनी भेला गराएको बताउनुभयो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा एक्स्पो शुरू भएको हो। एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकले सयभन्दा बढी स्टलमा जलविद्युत् क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श दिनेछन्।

कुलमान घिसिङ सम्मानित

काठमाडौं, (नेस)
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनु भएको छ। निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था इपानले राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्याएको योगदानको उच्चकदर गर्दै घिसिङलाई सम्मान गरेको हो। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट शुरू भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।
२०७३ को भदौमा चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेकोे लोडसेडिङको अन्त्य भएको थियो। कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार तथा पुनर्संरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल हुनुभएको छ।

घिसिङले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गर्नुभएको छ। प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नती तथा सुदृढीकरणलगायतका काम अभियानकै रूपमा चलाइरहेको छ। उहाँकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत् उत्पादन, प्रसारणलाइन र वितरण आयोजनाका कामले पनि तीव्रता पाएको छ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत् खरिदको नीति लिएको बताउनुभयो। यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको उहाँको भनाइ छ। भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा शुरू भएको एक्स्पोमा सहभागी हुन ८५ भन्दा बढी प्रदर्शकले सयभन्दा बढी स्टल राखेका छन्।

प्रतिक्रिया दिनुहोस्