सुदूर पश्चिमको साहित्यिक गुलाव श्रेष्ठ प्रिया ‘पत्थर’



मोहन दुवाल,
हरप्रिया श्रेष्ठ। श्रेष्ठ प्रिया पत्थरको नामबाट साहित्यिक यात्रामा रमाएकी लेखिका। दीपायल सिलगढी हो यिनको जन्मस्थान। हाल यिनी कैलाली नारायणपुर–८ कृष्णालय टोल, सत्तीबजारमा बसोबास गर्छिन्। वि.सं. २०२१ साउन ७ गते जन्म पाएकी यिनी वि.सं. २०३८ सालमा आकाङ्क्षा सबै मरिसके खप्तडदेशमा कविता प्रकाशित गराएर साहित्यिक क्षेत्रमा देखा परेकी हुन्। आफ्नै अन्तरमनको घच्घच्याइबाट साहित्य लेखनमा लागेकी यिनले बी.ए.सम्म शैक्षिक योग्यता उत्तीर्ण गरेकी छिन्।

साहित्यको परिभाषा गर्नुपर्दा यिनी साहित्यले मानव हृदयमा तरङ्ग फैलाउन सकोस् भनेर लेख्छिन्। सत्कर्ममा जीवन व्यतीत गर्ने चाहना बोकेर जीवनपथमा लम्किँदै गरेकी यिनी साहित्य लेख्दालेख्दै मर्न सकूँ भन्ने इच्छा जाहेर गर्ने गर्छिन्। राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी रहेर जीवनका जिजीविषा डोर्याइरहेकी यिनी बचेको समयमा साहित्य लेखन, अध्ययन र साहित्यिक क्रियाकलापमा संलग्न हुन्छिन्। विशेषतया गजल लेख्न मन पराउने यिनका थुप्रै उपन्यासहरू पनि प्रकाशित छन्। पारिजात र डायमन शमशेरका उपन्यासहरूबाट विशेष प्रभावित यिनी भूपि शेरचन र गोपालप्रसाद रिमालका कविताहरू मन पराउने गर्छिन्। प्रेमचन्दको सामाजिकता, म्याक्सिम गोर्कीको विषयवस्तु, लियो टाल्सटायका पात्रहरू, पुस्किनका संवादहरू सबै–सबै अध्ययन गरिसकेकी श्रेष्ठ प्रियाका मनहरू साहित्यमय बनिसकेका छन्। उनी लेखिकाका रूपमा राष्ट्रले चिनिसकेको छ।

नीलो, हरियो र सेतोको मिश्रणबाट तयार हुने रङ्ग मनमा सजाउँदै नेपालका पाँचै विकास क्षेत्र घुमिसकेकी यिनी भारतको लखनउ र वाराणसीसम्म पुग्न पाई सामान्य जीवन, सामान्य खाना र सामान्य दृष्टि बोकेर, सामान्य साहित्यकार भएर क्रियाशील र सिर्जनशील हुन पाएकोमा गौरव मान्छिन्। सुदूर पश्चिमाञ्चलकी साहित्यिक गुलावका रूपमा परिचय बाँड्न सफल यिनी सुदूर पश्चिमाञ्चल गजलमञ्चका अध्यक्षका साथै सुदूर पश्चिमाञ्चल साहित्य समाजका कार्य समिति सदस्य पनि हुन्। पत्थर उपनामले प्रख्यात यिनी फूलभन्दा कोमल रहेर सिर्जना गर्ने भएकीले पश्चिमको गुलावभन्दा अत्युक्ति हुनेछैन।

कैलाली जिल्लाको थारू समाजमा हुर्किएकी हुनाले यिनले थारू जातिको चालचलन, रीतिरिबाज, भाषा र संस्कृतिलाई पनि नजिकबाट अवलोकन गर्न पाएकी छिन्। पुस्तकाकार कृतिका रूपमा यिनका ६ वटा उपन्यास– पतिङ्गर (२०४८), पुकार (२०४९), रङ्गभूमि (२०५०), मर्यादा (२०५२), कसिङ्गर (२०५३) र पुनरावृत्ति (२०५७) प्रकाशित भएका छन्। त्यसै गरी तीनवटा गजलसङ्ग्रह– पग्लिएका व्यथाहरू (२०५३), पत्थरका प्रलापहरू (२०५९) र आँसुको सौगात (२०६०) प्रकाशित भएका छन्। अनि एउटा कवितासङ्ग्रह क्रम जारी छ (२०६१) र २०६३ मा आफ्नै सम्पादनमा श्रेष्ठ प्रिया पत्थर ः क्रम जारी छ (व्यक्तित्व र कृतित्व) जनमत प्रकाशनबाट प्रकाशित गरी उनका झन्डै एक दर्जन पुस्तक प्रकाशित छन्। यिनी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनुका साथै टीकापुर, वीरगन्ज, धनगढी, इलाम, बनेपा, भारतबाट समेत सम्मानित भइसकेकी लेखिका हुन्। लेखन र सिर्जनामा लागिरहन पाएपछि हुरुक्कै हुने यिनले अङ्कुर साहित्यिक पत्रिकाको अङ्क १ देखि अङ्क ८ सम्म सम्पादन पनि गरेको देखिन्छ। सबैजसो विधामा कलम चलाएकी भए तापनि श्रेष्ठ प्रिया पत्थर गजल विधामा विशेष चर्चामा आएको देखिन्छ।

सुदूर पश्चिमको ग्रामीण वातावरणमा जन्मिएर त्यहीँको माटोमा लेखनकलामा अग्रसर भई साहित्यिक भावनामा कुद्न जानेकी नारी प्रतिभा हुन् श्रेष्ठ प्रिया पत्थर। पत्थरजस्तै दह्रो भई फूलकै सौन्दर्य र मोहकता बाँड्न सिकेकी यिनले उपन्यास र गजल साहित्यमा आफ्नो नाम र धाम बनाउन सङ्घर्षरत हुँदै शिखरतिर लम्किन खोज्दै छिन्। रामराज पन्त स्मृति पुरस्कारबाट विराटनगरमा सम्मानित भइसकेकी यिन केवलपुरे–जनमत सम्मानबाट चर्चित लेखिकाको रूपमा बनेपामा सम्मानित भइसकेकी हुन्। यस्तै गरी कलश साङ्गीतिक समूहबाट पश्चिमी गुलावका उपाधिसमेत पाइसकेकी यिनलाई सगर प्रकाशन समूह वीरगन्ज, समता साहित्य परिवार इलाम, लायन्स क्लब धनगढी, सुदूर पश्चिामञ्चल साहित्य समाज धनगढी, साहित्य मानव अलंकरण सम्मान, उ.प्र. भारतबाट सम्मानित भइसकेकी छन्।

उपन्यासकार श्रेष्ठ प्रिया पत्थरले पतिङ्गरका रूपमा अवस्थित सामाजिक बेथिति र विग्रहका पात्र–पात्राहरूलाई सामाजिक प्रगति र परिवर्तनका लागि बाधक पतिङ्गरका रूपमा वर्णन गरेर सामाजिक जागरणका प्रयासकै रूपमा पतिङ्गर उपन्यासमार्फत चेतना भर्न खोजेकी छन्। गाउँले जीवनको यथार्थ चित्रणमा लेखिएको र सामाजिक मूल्य र मान्यता प्राप्तिका लागि पुकार गरिएको सामाजिक उपन्यास पुकारमार्फत सही चेतनाको पुकार लेखिकाले गरेकी छिन्। त्यस्तै रङ्गभूमि उपन्यासमा व्यक्त भएका भावनाहरूले बताउँछ उपन्यासकार श्रेष्ठ प्रिया कस्तो खालको रङ्गभूमि मन पराउँछिन् र उनी सङ्घर्षरत् छिन्। कसिङ्गर के हो ?, कसिङ्गर कस्तो हुन्छ ?, कसिङ्गरले के गर्छ ? आदि प्रश्न र जवाफ कसिङ्गर उपन्यासमा लेखिकाले देखाउन खोजेका भाव–अभिव्यक्तिहरू हुन्।

सरल भाषा र सुबोध शैली प्रयोग गर्न सिपालु भएकै कारणले यिनका उपन्यासका हरफहरू मिठासपूर्ण छन्। कसिङ्गरमा पनि कसिङ्गररूपी खराब कुराहरूलाई निमिट्यान पार्न श्रेष्ठ प्रिया लागेकै छिन्। मर्यादा नराख्दा, मर्यादा के थाहा नहुँदा, मर्यादाको परिचय राख्न नखोज्दा समाजका उत्सर्गहरू भत्किएका छन्, दुखेका छन्, चोइटिएका छन्। यस्तै खालका भावनाका प्रसङ्गहरू मर्यादा उपन्यासमा व्यक्त भएका छन्। उपन्यासको विषयवस्तु, रूपरङ्ग, शब्द–शैली सबैजसो एउटै खालको भएको जस्तो देखिए तापनि विभिन्न प्रसङ्गहरूको चर्चा विभिन्न ढङ्गले गरेर उपन्यासमा रोचकता थप्न सफल छिन्। पुनरावृत्ति सबभन्दा पछिल्लोपल्ट प्रकाशित उपन्यासमा बाँके, बर्दिया, कैलाली, कन्चनपुर, दाङमा प्रचलनमा रहेको कमैया प्रथाको सेरोफेरोमा रहेर थारूजातिको चालचलन, रीतिरिबाज, भाषा र संस्कृतिको नजिकबाट अनुभूत गरेर अभिव्यक्ति पोखेकी छन्। यस उपन्यासमा लेखिकाले थारू भाषाको प्रयोग गर्न दिएर थारू पात्रहरूलाई जीवन्त बनाउन खोजेकी छन्। थारू भाषा कैलाली जिल्लाका डगौरा थारूहरूले बोल्ने भाषालाई यस उपन्यासमा समायोजन गर्न खोजेको देखिन्छ।

माथि चर्चामा समेटिएझैँ प्रिया पत्थरका उपन्यासका प्रसङ्गहरू रोचकमात्र छैनन् सङ्घर्षका थुप्रै उतारचढावहरूमा यिनका उपन्यासहरू छरपस्टिएका छन्। उपन्यासको खोजी गर्नु गाह्रो विषय एकातिर छ भन्ने अर्कातिर थुप्रै खालका समस्याहरू बग्रेल्ती मौजुद छन्। यसै सन्दर्भमा यिनी आफ्नो अनुभव यसरी उल्लेख गर्न मन पराउँछिन्– एउटा उपन्यास तयार गर्न वर्षौं दिनसम्म लाग्न सक्छ र कुनै कुनै उपन्यास पूरा गर्न एउटा सिङ्गो कालखण्ड पनि कुर्नुपर्छ। त्यस्तै सफल उपन्यासकार बन्नलाई लेखकमा बहुपक्षीय योग्यता पनि हुनुपर्छ। उसले देश, काल, परिस्थिति र मान्छेको मनोवृत्तिलाई बुझेको हुनुपर्छ। उपन्यासमा यस्तो अनुभव पोख्नुहुने श्रेष्ठ प्रिया पत्थरले गजलमा पग्लिएका व्यथाहरू कस्ता हुन्छन् भन्ने मर्ममा उद्गारहरू यसरी व्यक्त भएका छन्–
किनार छुँदा टुक्रिजाने पानीको लहरजस्तै,
रहेछ जिन्दगी पनि कुनै कडा जहरजस्तै।
जस्तो भागमा पर्छ स्वीकार गर्नुपर्ने यो जिन्दगी,
व्यथा पिई शुष्क हाँसो छर्नुपर्ने यो जिन्दगी।
वैयक्तिक भोगाइ र अनुभूतिहरूलाई आफ्ना गजलहरूमा अभिव्यक्त गर्न सिपालु यिनका गजलहरूमा प्रणय वेदना र मर्मका प्रसङ्गहरूका साथै समाजमा विद्यमान विसङ्गति र विकृतिहरूप्रति व्यङ्ग्य प्रहारहरू दुरुस्त प्रयोग भएका छन्। आफ्नै भावनामा गजल कोर्न सिपालु गजलहरूका माध्यमबाट राष्ट्रिय पहिचान बनाइसकेकी नारी–गजलकारकै साहित्यिक नाम हुन्–श्रेष्ठ प्रिया पत्थर।
पत्थरका प्रलापहरूमा पनि आफ्नो भावना र विचारलाई स्पष्टरूपमा गजल बनाएर पेस गरेकी छिन् पत्थरले आफ्नो लेखाइमा–
लोभ–लालचको चक्रव्यूह तोड्छु भन्ने मान्छे
मौका पाए त्यही जालमा, आफैं फस्तो रहेछ,
सत्य, न्याय, अहिंसाको, चोखो मन्दिरमा
रामको भेष धारण गरी, रावण बस्तो रै‘छ।
आँसुको सौगातमा पनि मर्म–मर्मका भाव–प्रसङ्गहरू गजलमार्फत विचार सम्प्रेषण गर्न सिपालु श्रेष्ठ प्रिया पत्थरले आँसुमा नै सङ्घर्षका गीत हुन्छन् भन्ने चेतना बाँड्न खोजेकी छिन्। सुदूर पश्चिमाञ्चलको एक सक्रिय लेखिका जो साहित्य सिर्जनामा सधैँ–सधैँ तनमन दिएर लागिरहेकी छिन्, पत्थरजस्तै साह्रो भई साहित्यिक यात्रामा लागिरहन सकून्, शुभेच्छा छ।

प्रतिक्रिया दिनुहोस्