मच्छिन्द्रनाथ मन्दिरबारे पुरातत्वको उदासिनता



अम्बिरराज शाक्य
वडाध्यक्ष: ललितपुर महानगरपालिका–२२

स्थानीय निकाय पुन संरचनाका क्रममा ललितपुर महानगरपालिकामा गाभिएको बुङमती काठमाडौं उपत्यकाभित्रको पृथक बस्ती हो । ऐतिहासिक, साँस्कृतिक र धार्मिक सम्पदाले ढाकेको बस्ती नेवार बाहुल्य क्षेत्र हो । साढे ३ वर्ष अघिको महाभूकम्पले यहाँका सम्पदा र वस्तीलाई प्रत्यक्ष क्षति पु¥याएपछि पुन निर्माणको पहल भएपछि जन अपेक्षा अनुसार नतिजा नआएको गुनासो धेरै छ । यही सन्दर्भमा सो क्षेत्रका वडाध्यक्ष अम्बिरराज शाक्यसँग गरिएको कुराकानी ।

तपाईले वडाध्यक्षको जिम्मेवारी सम्हालेपछि वडामा के कस्तो परिवर्तन भएको छ ?
स्थानीय तहको जिम्मेवारी सम्हालेको करिव २ वर्ष हुन लाग्यो । यो समयमा वडाका धेरै समस्या समाधान भएका छन्, केही हुने क्रममा छन् । ढल निकास, भूकम्पले क्षति पु¥याएको वस्ती र अन्य सम्पदा साथै सडक मर्मत र निर्माणको काम अघि बढेको छ । यहाँका धेरै पोखरीको पुनः निर्माण भइसकेको छ साथै भू–क्षय नियन्त्रणको काम पनि भएको छ । पाँचोडोल र चाँचोडोलमा भू–क्षय नियन्त्रणको काम भएको छ ।

निर्वाचनका क्रममा तपाईले जनाएका प्रतिवद्धता पुरा भइरहेका पनि छन् ?
खानेपानी, ढल निकास, पुन निर्माण र पूर्वाधार विकासलाई जोड दिएको थिए त्यहि अनुसारका काम भइरहेका छन् । प्रतिवद्धता बाहेक असंभव हुने काम गर्नु पनि भएन । महानगरपालिका र अन्य निकायमा समन्वय गरेर काम कार्वाही अघि बढिरहेको छ, कतिपय ठाउँमा पहल अघि बढाइएको छ ।

अहिलेसम्म अघि बढ्न नसकेको काम चाहिँ के हो ?
मच्छिन्द्रनाथ मन्दिर बुङ्मतिको मात्रै नभएर काठमाडौं उपत्यका र नेपालकै सम्पत्ति हो । तर जुन ढंगले मच्छिन्द्रनाथको मन्दिर निर्माणले गति लिनुपर्ने थियो त्यो हुन सकेको छैन । मन्दिर निर्माण पुरातत्व विभाग र अन्य निकायको क्षेत्राधिकार भित्र पर्छ । वडाको एक्लो पहलले मात्रै मन्दिर निर्माण असंभव छ ।

मच्छिन्द्रनाथ मन्दिर यहीको सम्पदा भएकाले पुरातत्व, महानगर र अन्य निकायले वडा कार्यालयको पनि निरन्तर समन्वय गर्नुपर्ने हो तर अहिलेसम्म वडासँग त्यस्तो छलफल भएकै छैन । पुरातत्वसँग वडाको १÷२ पटक सामान्य छलफल मात्रै भएको छ, विस्तृत छलफल भएकै छैन ।

यसमा कमजोरी कसको ?
यसमा ठूलो कमजोरी पुरातत्व विभागकै हो । विभागको उदासिनता र कमजोरीले गर्दा मन्दिर पुन निर्माणको लागत इस्टिमेट तयार हुन सकेको छैन । ४ करोड ७५ लाख बजेटमा मन्दिर निर्माणको टेन्डर खुला गरिएको छ । तर ठेकेदार भने मन्दिर निर्माणमा अनुभव नभएका भएकाले काम अघि बढ्न सकेको छैन । महानगरले सम्पदा वस्ती भनेर बुङ्मतिलाई चिनाउन खोजेको छ । तर त्यो अनुसारको काम भएको छैन ।

वडाबासीका अन्य गुनासो कस्ता छन् ?
यो वडा खासगरी बुङ्मति भूकम्पले क्षतविक्षत भएको क्षेत्र हो । भूकम्पपछि नक्सा पास गरेर मात्रै घर बनाउन पाइने प्रावधान अनिवार्य गरिएको छ । तर पुरानो वस्ती भएकाले नक्सा पास गर्न गाह्रो भइरहेको छ । पहिला यहाँको जनसंख्या थोरै थियो, घर पनि साना र २÷३ आनामा बनेका थिए । अहिले सम्पदा क्षेत्रमा घर निर्माण गर्दा अधिकतम ३ तला र उचाई ३५ फिट तोकिएको छ ।

३ तलाका घरको ढलान सिधा गर्न मिल्दैन ‘स्लोप’ गर्न अनिवार्य गरिएकाले व्यवहारिक कठिनाई हुने स्थानीयको गुनासो छ । यहाँको वस्तीमा कृषकको संख्या धेरै छ । खेत बारीको धान र अरु अन्न सुकाउन कौसी अनिवार्य चाहिन्छ, तर कौसी विनाको घर भएपछि कसरी अन्न सुकाउने ?

घरको ढनाल सिधा गर्ने र डिजाइन संशोधन गर्नेबारेमा २÷३ पटक राष्ट्रिय पुननिर्माण प्राधिकरणमा छलफल भएको छ । प्राधिकरणले स्लोप छानाको डिजाइन संशोधन गर्दैछ । सम्पदा क्षेत्रभित्र मापदण्ड अनुसार घर निर्माण सम्पन्न भयो भने ५० हजार रुपियाँ सम्मान स्वरुप प्रदान गर्ने निर्णय भएपनि प्राधिकरणले तोके अनुसार घर निर्माण हुन सकेको छैन ।

तपाईको कार्यकालमा बुङ्मति ललितपुर महानगरका अन्य वडाभन्दा मौलिक बन्न सक्छ ?
महानगरको २२ वडा सम्पदाले ढाकेको क्षेत्र हो । त्यहि भएर महानगरपालिकाको कार्यपालिका बैठकबाट यो क्षेत्रलाई सम्पदा क्षेत्र घोषणा गरिएको छ । यहाँ अन्य ठाउँको भन्दा मौलिक बस्ती छ । काठमाडौं उपत्यकाका पर्यटकीय गन्तव्य भित्र यो ठाउँ त्यसै समेटिएको होइन, यहाँका सम्पदा, वस्ती र जिवनशैली हेर्न÷बुझ्न पर्यटक आउने गर्छन् ।

पर्यटकले यो क्षेत्रलाई फरक ढंगले बुझ्दै आएका छन् । मेरो कार्यकाल भित्र यहाँ पर्यटकीय गतिविधी झनै बढ्ने छ । पर्यटकमैत्री संरचना र पूर्वाधार बन्नेछन्, सरसफाईमा धेरै सुधार हुनेछ । साथै भत्किएका घर निर्माण सम्पन्न हुनेछ भने ढल, खानेपानी र अन्य धेरै समस्या समाधान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्