२१औँ भुकम्प दिवसमा भुगोलपार्कमा स्मृति सभा गरियो



नेपाल समाचारपत्र, काठमाडौं ।
१९९० माघ २ गतेको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा सम्पन्न गरियो । सभामा गृहमन्त्री रामबहादुर थापा, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँगै उच्च अधिकारीहरु उपस्थिति रहेको थियो ।

स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्थामा सबै सचेत हुनु पर्नेमा जोड दिनुभयो । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था छ । यो अबस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता हो –मन्त्री थापाको भनाई थियो ।

सभामा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भवन संहिताको कार्यान्वयनमा सहयोग गर्न निर्माण पक्षलाई आग्रह गर्नुभयो । अब महानगरसँग स्वीकृति नलिइ कुनै पनि प्रकारका भवन बनाउन पाइदैन । हामीले नेपाली सेनाका भवनहरुलाई पनि प्रक्रियामा ल्याएको बताउनुभयो । उहाले भन्नुभयो– भूकम्प प्रभावितको नक्सा दस्तुरमा छुट दिएका छौं, बरु नक्सा स्वीकृत गर्दा लाग्ने दस्तुरलाई अनुदानमा रुपान्तरण गर्न सक्छौं तर स्वीकृति नै नलिइ भवन बनाउन दिन सक्दैनौं ।

सभामा बोल्दै महानगरको विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडा तहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीब्रता पाइरहेको जानकारी दिनुभयो । सोही अवसरमा गृहमन्त्री थापा र महानगरका मेयर शाक्यले संयुक्त रुपमा महानगरको विपद् व्यवस्थापन विभागले प्रकाशनमा ल्याएको आपतकालीन टेलिफोन सम्पर्क पुस्तिका सार्वजनिक गर्नुभएको थियो ।

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ ।

त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २१ औ दिबस हो । यस बर्षको नारा बिपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्