सिइओ ज्ञवालीले चिरीवाबुलाई भने, ‘ओके मेयर साप अगाडी बढ्नुस्’



ललितपुर ।
भूकम्पबाट तहसनहस ललितपुरका पुरातात्विक महत्वका सम्पदा पुनः निर्माणमा गुणस्तरीयता कायम राख्दै कसरी यथाशीघ्र सम्पन्न गर्न ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनलाई अत्याधिक चिन्ताको विषय थियो । मेयर महर्जनले सरोकारवालाहरुसंग सधै भन्ने गरेका छन्, ‘सम्पदा पुननिर्माणमा टेण्डर प्रक्रियाबाट गरिनु हुँदैन, टेण्डरबाट गर्दा यसको गुणस्तरीयता र पुरातात्विक महत्व रहँदैन।’

मेयर महर्जनले यो भाषणमा मात्रै भनेका होइनन्, राष्ट्रिय पुननिर्माण प्राधिकरण र हरेक सरोकारवाला निकायहरुसंग समेत पहल र समन्वय गर्दै आइरहेका थिए । मेयरको यही बुझाई र स्थानीयहरुबाटै उपभोक्ता समिति मार्फत गुणस्तरीय काम गरेर देखाउने प्रतिवद्धतालाई साथ दिन स्थानीयहरुले मंगलबजारको सम्पदा क्षेत्रभित्रको भीमसेन मन्दिर पुनःनिर्माणका लागि ‘भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति समेत गठन गरिसकेका छन् ।

यही अवस्थामा आइतवार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका ‘सिइओ’ सुशील ज्ञवाली मंगलबजारको सम्पदा क्षेत्रमा आइपुगे। साथैमा थिए ललितपुर महानगरपालिकाका मेयर चिरीवाबु महर्जन, ललितपुर महानगरपालिकाका सम्पदा सल्लाहकार डा. रोहित रञ्जितकार, अनी ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जन ।

‘सिइओ’ ज्ञवालीले सम्पदा क्षेत्रको अवलोकन गर्दै गए, मेयर महर्जन र सम्पदा सल्लाहकार डा. रञ्जितकारले सम्पदा क्षेत्रको अवस्था, महत्व, पुनःनिर्माणमा भएका काम र अव के हुनु पर्छ भन्ने कुराहरु उल्लेख गर्दै गए। सम्पदा पुनः निर्माणप्रति मेयरले देखाएको चासो र चिन्तालाई मनन् गर्दै ‘सिइओ’ ज्ञवालीले हात मिलाउँदै भने, ‘ओके मेयर साप अगाडी बढ्नुस्’ ज्ञवालीको यो शव्द सुन्नासाथ मेयर हर्षित हुँदै टोल सुधार समितिका अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष, सम्पदा सल्लाहकार र ज्ञवालीलाई हात मिलाउन प्रेरित समेत गरे।

‘सिइओ’ ज्ञवालीले सम्पदा निर्माणकालागि मेयरले लिएको हरेक चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता समेत जनाउँदै भने, ‘यति धेरै चासो र चिन्ता लिनु हुने मेयर सापको कुरालाइ म हरतरहले सहयोग गर्छु । महत्वपूर्ण विषयहरु प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने निर्देशक समितिको बैठकबाटै पारित गराउँला, तपाई अगाडि बड्नुस् जे पर्छ, म त्यो सबै गर्न तयार छु ।’

सम्पदा अवलोकन गराउने क्रममा मेयर महर्जनले ज्ञवालीसंग भने, ‘‘सिइओ साप’ म मेयर हुँदा नै यो सम्पदा क्षेत्रको पुनःनिर्माणका सबै काम सम्पन्न गर्न चाहान्छु । यो सबै काममा दिलो ज्यान दिन तत्पर छु।’ मेयरले यसो भन्दा ‘सिइओ’ ज्ञवालीले मुस्क्क हाँसेर समर्थन जनाए।

महानगरका सम्पदा सल्लाहकार डा. रोहित रञ्जितकारले भिजन ट्वान्टी–ट्वान्टीभित्रै सम्पदा पुनःनिर्माण गर्न सकिएमा पर्यटकहरुको आकर्षणको केन्द्र ललितपुरको सम्पदा क्षेत्र हुने वताए ।

प्रतिक्रिया दिनुहोस्