सात महिना अघि निर्माण सकेपछि कालिका कन्स्ट्रक्सन सम्मानित



काठमाडौं, (नेस)
समय अवधिभन्दा सात महिना अघि निर्माण कार्य सम्पन्न गरेकोमा कालिका कन्स्ट्रक्सन प्रालि सम्मानित भएको छ । कालिका कन्स्ट्रक्सन प्रालिले सुनसरीको इनरुवामा तोकिएको समयभन्दा सात महिना अगावै बसपार्कको निर्माण कार्य सम्पन्न गरेको हो ।

सरकारको नीतिअनुसार स्मार्ट सिटी कार्यक्रममा बसपार्क निर्माण भएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिनुभयो । इनरुवा बसपार्क र सडकलगायत कालिका कन्ट्रक्सनले बनाएका संरचनाको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको थियो ।

एक विघा क्षेत्रफलमा एउटा टर्मिनल भवन, प्रतीक्षालय, सवारी मर्मत केन्द्र, रेष्टुरेन्ट निर्माण गरिएको छ । कालिका कन्ट्रक्सन कम्पनीले ठेक्का लिएर बनाएको नवनिर्मित बसपार्क र सडक इनरुवा नगरपालिका सुनसरीलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा कालिका कन्ट्रक्सनले तोकिएको समय अगावै संरचना बनाएको भन्दै सम्मान समेत गरियो ।

इनरुवा नगरपालिकास्थित विभिन्न सडक, सौर्यबत्ती, नवनिर्मित बसपार्क निर्माण सम्पन्न गरी प्रतिवेदन सहित संघीय आयोजना कार्यान्वयन इकाइ मोरङले इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेको इकाइ आयोजनाका प्रमुख उज्जवल प्रसाईले जानकारी दिनुभयो ।

बसपार्कसहित एक अर्ब २ करोड २५ लाख ३४ हजारको लागतमा ती संरचना बनाइएको हो । बसपार्क समयानुकुल र प्रविधिमैत्री रुपमा निर्माण भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्