तीन पुस्ताको अनुभवमा इञ्जिनियरिङ वर्कसप



हेटौंडा ।
२०२४ सालमा हेटांैडाको टीसीएन रोडमा एउटा पसल खुल्यो । पसलको नाम हो– प्रतापसिं इञ्जिनियरिङ वर्कसप प्रालि । पसल सञ्चालन गरेका थिए स्व. प्रतापसिं रानाभाटले ।

करिब ५१ वर्ष एउटै ठाउँमा सञ्चालनमा आएको पसलमा गाडीको इञ्जिनदेखि कृषि औजार सामग्रीहरु, हेभी इक्युप्मेन्ट तथा औद्योगिक क्षेत्रका सामग्री मर्मतसँगै नयाँ सामान पाईन्छ । यो यस्तो पेशा हो, जुन अनुभवले चल्यो । देशकै केन्द्र हेटौंडा भएर चल्ने सवारीसाधनका लागि यो पसल साँच्चै वरदान थियो । किनभने सवारीसाधन बिग्रिहाल्यो भने विकल्पमा कि नारायणगढ कि त काठमाडौंमात्र थियो ।

त्यसकारण पनि प्रतापसिं इञ्जिनियरिङ वर्कसप व्यावसायिक पसलमात्र होइन, सेवा भावना बोकेको पसल हो भन्दा फरक पर्दैन । बुबा प्रतापसिंले आफ्नो अनुभवले चलाएको पसललाई छोरा सोभानसिं रानाभाटले उत्तिकै सहयोग दिएका थिए ।

बुबाको अनुभवले तिखारिएको पसलबाट छोरा प्रतापसिं रानाभाटले इञ्जिनियरिङ अध्ययन गरे । पसल चलाएर छोरालाई पढाएर इञ्जिनियर बनाउने बाबुका लागि कम्तिको खुशी कुरा थिएन । प्रतापसिं रानाभाट धेरै खुशी भए । तर, उनले खुशी धेरै साट्न पाएनन् । आफ्ना अनुभव छोरालाई हस्तान्तरण गर्दै उनी संसार छाड्न पुगे ।

बाबुको बिडो थाम्न थालेका छोरा सोभानसिंले सेवामा कमि गरेनन् । पेशाले उनी इञ्जिनियर भएका कारण उनलाई सहज भयो । अन्ततः सोभानसिं पनि संसार छाडेन पुगे । अब पसल सञ्चालन गर्ने जिम्मेवारी तीन छोरा अर्थात् तेस्रो पुस्तामा हस्तान्तरण भयो । हजुरबुबाको पालादेखि सञ्चालनमा आएको पसल बचाउन उनीहरुले कम मेहनत गरेका छैनन् ।

हाल पनि ठूला सवारीसाधन भनौं वा कलकारखानाका मेसिन बिग्रियो भने प्रतापसिं इञ्जिनियरिङ पुगे हुन्छ, जहाँ पुराना हेभी गाडीका सामग्री पाइन्छ, मर्मत गरिन्छ । पसलमा तीन पुस्ताको अनुभव जोडिएको छ । पसललाई माईला छोरा प्रदीपसिंह रानाभाटले सम्हाल्दै आउनुभएको छ । प्रदिप भन्नुहुन्छ– बाबुबाजेले गर्दै आएको पेशा छाड्न सकिएन । उहाँहरुको सम्झना र अनुभवले भएपनि पसल सञ्चालित छ ।

उहाँले एउटा इतिहास बोकेको पसल भएका कारण आफ्ना सन्ततिमा पनि अनुभव साटिसकेको बताउनुभयो । हाल मेनपावरको कमि छ, तर पनि मकवानपुरबासीमा सेवा दिन पसलले भूमिका खेलेकै छ । तेस्रो पुस्तासम्म एउटै पसल सञ्चालनमा ल्याइराख्नु चानचुने कुरा होइन । सबैका आआफ्नै पेशा हुन्छन्, जुन पेशा अपनाएपनि निरन्तरता हुनु ठूलो कुरा रहेको उहाँको भनाइ छ ।
मकवानपुर उद्योग वाणिज्य संघको ५२ औं साधारणसभामा माधवराज सुमार्गी स्मृति व्यावसायिक सम्मान– २०७५ बाट सम्मानित हुनेमध्ये एक व्यवसाय हो– प्रतापसिं इञ्जिनियरिङ वर्कसप ।

प्रतिक्रिया दिनुहोस्