साहित्य देख्दै–लेख्दै आएकी काँचुली



मोहन दुवाल
मञ्जु काँचुली, साहित्यिक वातावरण पाएर हुर्केकी। यिनी साहित्यकार भीमनिधि तिवारीकी कान्छी सुपुत्री हुन्। लेखिका बेन्जु शर्माकी बहिनी, लेखनमा साथी–साथीजस्तै देखिने बेन्जु र मञ्जु नदीका दुई किनाराजस्तै छन् साहित्यिक धरातलमा। आफ्नै स्वाभिमानमा गर्व गर्न जानेकी, आफ्नै अनुभूतिमा आफ्नो आकाशको पहिचान गराउन र गर्न सिकेकी मञ्जु काँचुलीलाई बनेपामा ल्याएर दीपा–जनमत सम्मानले सम्मानित गरिसकेको सन्दर्भ बिर्सिनसक्नु छ। मैले त्यति नजिकले चिन्न पाएको छैन उनलाई तर कविता र कथामा म उनलाई मन पराएर पढिरहने गर्छु।

अर्थात् मञ्जु काँचुलीका कविता र कथाहरू समसामयिकताभित्रका विम्बपूर्ण प्रभावशाली हरफहरू भइदिएका छन्। कवितामा आफ्नै खालको सम्प्रेषण व्यक्त गर्न सिपालु कवयित्री। कथामा नारी आवाजलाई प्रभावशाली ढङ्गले अभिव्यक्त गर्न सक्षम कथाकार। एकजना शिक्षिका। एकजना सङ्गीतका विशेष अध्येयता। आफ्नो भावना कुशल ढङ्गले राख्न सफल वक्ता। सानैदेखि नै दाइदाइ (साहित्यकार पिता भीमनिधि तिवारी)सँग साहित्यमा चलखेल गर्न पाएकी लेखिका। भीमनिधि तिवारीद्वारा तयार पारिदिएको साहित्यिक वातावरण, प्रोत्साहन र साथै स्वदेश तथा विदेशका साहित्यकारहरूको साहित्यको अध्ययन तथा भेटघाटबाट आफूलाई सिर्जनामा लगाउन पाएकी स्रष्टा। मञ्जु काँचुली यस्तै धेरै थोकमा विभाजित रहेर पनि लेखिकाका रूपमा समर्पित नाम हुन्।

काँचुली उपनाम झुन्ड्याएर साहित्यजगत्मा प्रवेश गरेकी यिनी डिल्लीबजार, काठमाडौंमा माता भुवनेश्वरीकै माया–उत्सर्ग पाएर २००७ साल माघमा जन्मेकी हुन्। विश्वास र विवेकलाई हुर्काएर कठिन जीवनपथमा लड्दै–भिड्दै लागिपरेकी मञ्जुले नेपाली विषयमा एम.ए. प्रथम श्रेणीमा सर्वप्रथम भएर आफ्नो क्षमता देखाएकी हुन्। ४० औं वर्षअघिदेखि साहित्यसेवा र सिर्जनामा मन राख्न पाएकी यिनीसँग प्राध्यापन सेवालगायत केही गैरसरकारी संस्थामा सेवा गर्न पाएका अनुभव छन्। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विद्वत्वृत्ति प्राप्त गरी सोधखोजसमेत गर्न पाएकी यिनी एसियन कवि सम्मेलनमा नेपालकी कवयित्री भएर बङ्गलादेशमा भएको कवि सम्मेलनमा भाग लिन गएकी हुन्।

नेपाली कविता क्षेत्रमा उल्लेखयोग्य प्रतिभाका रूपमा सुपरिचित मञ्जुले आफ्नो परिभाषामा साहित्यलाई यसरी राखेर भन्न रूचाउँछिन्– ‘आन्तरिक वा बाह्य जगत्को अन्तरक्रियाबाट उत्पन्न भएको चेतना र त्यसको भाषात्मक र कलात्मक अभिव्यक्ति साहित्य हो।’ र, त्यस्तै साहित्यप्रतिको उनको थप दृष्टि मनोभावना लेखिकाहरूमा यसरी व्यक्त भएको छ– विचार र दृष्टिकोणलाई साहित्यबाट अलग्याउन सकिँदैन। मान्छेले लेखेका र बोलेका प्रत्येक वाक्यले उसको कुनै विषयमा विचार वा दृष्टिकोण भनिरहेको हुन्छ तर साहित्यलाई नै माध्यम बनाएर सिद्धान्त थोपर्न खोज्दा भने साहित्यको विशाल अर्थ र उपयोग साँघुरिन्छ, यो प्रचारको लागि ढ्वाङमात्र हुन्छ र यसको घेरा नै सीमित बन्छ भन्ने लाग्छ।

स्पष्ट विचार राख्न मन गर्ने यिनी कानेटोपी लगाउने उमेरदेखि नै कानेटोपी लगाएर कवि सम्मेलन र गोष्ठीमा कविता पाठ गर्दै आएकी कवयित्री हुन्। घरमा पितालाई भेटघाट गर्न आउनेहरूले दिएको प्रोत्साहन पाएर र सानै छँदादेखि साहित्य पढ्न पाएर नै यिनीले आफूलाई साहित्य क्षेत्रमा सबल ढङ्गले प्रस्तुत गर्न पाइन्। बी.ए.को अध्ययनमा अङ्ग्रेजी साहित्यको विशेष अध्ययन गर्न पाएर पनि यिनी साहित्यमा लहसिँदै गइन्।

साहित्यसेवा र लेखन क्षेत्रमा आएकीमा सन्तुष्ट नै रहेकी यिनी आफ्नै अनुभूति र भोगाइले पनि तीव्र साहित्यिक अभिव्यक्ति पोख्न सक्षम र सक्रिय छिन्। आन्तरिक खोज र मनोवैज्ञानिक अन्वेषण गर्ने आफ्नो भविष्यको इच्छा हो भनी उल्लेख गर्न रुचाउने यिनी जीवनलाई सकारात्मक र नकारात्मक दुवै पक्षबाट हेर्दै लान सकूँ भन्छिन्।

प्रत्येक अनुभवले सिर्जनाका लागि उत्प्रेरणा दिँदै लान्छन् भन्ने सोचकै कारणले यिनी सिर्जनामा आफ्नै अनुभव रहेकोमा गौरव मान्छिन्। किट्स, टी.एस. इलिएट, रवर्ट फ्रस्ट, रस्सेल, शेली, काफ्फा, सात्र्रका कविताहरूबाट प्रभावित यिनी गोर्की, टाल्सटाय, टैगोर, अमृता प्रितम, रेमन्ड कार्भर, बेल्टी स्टालिङगरका कथाहरूबाट विशेष प्रभावित छिन्।

धरती र आकाश कविता पहिलोचोटि रत्नश्री पत्रिकामा प्रकाशित गराएर साहित्यजगत्मा देखा परेकी यिनका प्रकाशित पुस्तकहरूमा किरणका छालहरू (कवितासङ्ग्रह), केही माया केही परिधि (कथासङ्ग्रह), मेरो जीवन मेरो जगत् (कवितासङ्ग्रह), मञ्जु काँचुलीका कथा (कथासङ्ग्रह), टु सिस्टर्स (कवितासङ्ग्रह), पलकभित्र–पलकबाहिर (कवितासङ्ग्रह), आत्मप्रतीत (कवितासङ्ग्रह) आदि छन्। आकाश विभाजित छ भन्ने संयुक्त उपन्यासमा लेख्न भ्याएकी यिनले हाम्रो सवाल दाइदाइको जवाफलगायत तिवारी नाट्य साहित्यको विश्लेषणात्मक अध्ययन कृतिको सम्पादन पनि गर्न पाएकी छिन्। पेन इन्टरनेसनल र तिवारी साहित्य समितिमा संलग्न रहेर साहित्यिक उच्छवासहरू पोख्न लागिपरिरहेकी यिनले भारत, बङ्गलादेश, भूटान र चीनसम्म यात्रा गर्न पाएकी छिन्।

१० वर्षकी हुँदा वि.सं. २०१७ मा नै लक्ष्मी पदक पाएर साहित्यिक सिँढी उक्लिँदै गरेकी यिनले पछि जीवनक्रममा साहित्य यात्रामा लाग्दालाग्दै रत्नश्री स्वर्णपदक, गुरुवाचार्य कथा पुरस्कार, लेडी अफ द मन्थ, नारी मञ्च, व्यथित काव्य पुरस्कार, सर्वश्रेष्ठ साहित्यकारका रूपमा सम्मानसमेत प्राप्त गरेकी छन्।

म तिम्री आमा हूँ
म ठूलो पृथ्वीमा
एउटै मात्र सत्य हूँ
ठूलो शरीर माझ
एउटै सानो मुटु हूँ
म सिङ्गै विश्वको जीतभित्र
एउटै मात्र हार हूँ।
नारी आवाजलाई सशक्त ढङ्गले अभिव्यक्ति बनाई पोख्न सिपालु यिनका यस्तै खालका धेरैजसो कविताहरू प्रयोगवादी शैलीमा मुक्त छन्दमा संरचित लयात्मक गद्य कविताहरू हुन्। व्यक्तिसँग सम्बन्धित अनेकौं सामाजिक विषयका कुराहरू विम्ब र प्रतीकका माध्यमबाट सुन्दर बनाउन जानेकी छिन्। हुँदाहुँदै दुरुहजस्तै हुनु यिनका कविताका लक्षणहरू हुन्। कवितामा मात्र होइन कथाहरूमा समेत परिवेश छाम्दाछाम्दै प्रयोगमा शैलीहरू प्रस्तुत गरिदिँदा यिनका सिर्जनामा दुरुहता देखिन थालेका हुन्।

कवितामा नयाँ ममबवोधमात्र सिर्जित छैनन्। नयाँ दृष्टिचेत यिनको कवितामा देखिएको वैशिष्ट्यता हो। जस्तै– मात्र एक पाइला कवितामा यिनी यसरी अनुभूति पोख्छिन्–
ध्यानको सिँढीको एक–एक पाइलाले
त्यहाँ परसम्म पु¥याउँदो रहेछ
चाल्नुपर्दो रहेछ एक पाइला
हाँक्नुपर्दो रहेछ एक पाइला
मात्र एक पाइला !
विम्बहरूको माध्यमले आफ्ना अनुभूतिहरूलाई पोख्न सक्षम प्रतिभाकै रूपमा पहिचान देखाउन सफल कवयित्री मञ्जुले आफ्ना कथाहरूमा पनि मानवताको विजयप्रति आस्थाका सुन्दर हरफहरू कोरेर आफूलाई सफल कथाकारका रूपमा प्रस्तुत गर्न सक्रिय छिन्। जीवनमा घात–प्रतिघातका अनेकौं मर्महरूसँग जुझ्दै बाँच्न सङ्घर्षमा लागिपरिरहेकी एकजना यात्री भएर नै साहित्यका हरफहरूमा मान्छेका मर्म पोख्न यिनी निकै सफल र सबल रहेकी हुन्।

कवितामा यिनको भाषाप्रयोग सुन्दरमात्र छैन, शैलीको छनौटमा यिनले देखाएको कलात्मकता विशिष्ट छ। नारी सुलभ दृष्टिले मूल्यबोधहरू खोज्दै हार्दिकताका शब्दहरू रोज्न पनि यिनी कवितामा बलिया देखिन्छिन्। नवीन प्रयोग यिनको कवितामा व्यक्त हुने रुचि हो। कवितामा बौद्धिकताको संयोजन हुनसक्नु यिनको कवितामा देखिने प्रवाह हो। स्पष्टवादिता यिनको स्वभाव र चरित्रमा देखिएझैँ कविताको स्वरूपमा पनि यस्तै भाव–चरित्र मुखरित भएका छन्। कवितामा जगत् देख्न रुचाउने कवयित्री मञ्जुले कविता नै जगत् सम्झेर आफ्नो अनुभूति यसरी पोखेकी छन्– मेरो जगत् पूर्ण छ, बरू व्याख्या अपुरो हुन सक्छ। म व्याख्या गर्न चाहन्न। अनन्तलाई व्याख्या र परिधिभित्र परिभाषित गरेर बाँध्न मुस्किल पर्न सक्छ, तैपनि कविताप्रतिको आफ्नो धारणालाई मूर्तरूपमा बताउने मात्र कोशिश गर्छु। अरूको लागि मलाई थाहा छैन तर सात–आठ वर्षको उमेरदेखि निरन्तर नै आजसम्म चार–पाँच सय कविता लेख्दा मेरो लागि सधैँ यही फर्मुला साबित भएको छ जस्तो लाग्छ– मैले तिमीलाई गुन्दा नै अनन्त कविता बन्छ।

जीवनमा साहित्य भोग्दै आएकी र जगत्मा साहित्य देख्दै आएकी मञ्जु काँचुली कवितात्मक बान्कीमा आफूलाई उन्नत देखाउन सक्षम देखिन्छिन्। मातृत्व र वात्सल्यले भरिएका भावनाहरू कवितामा अभिव्यक्त गर्न उनी सफल भएकी छिन्। जीवन र जगत्मा मञ्जु काँचुली अझ सबल र सफल बन्दै जानेछिन्, साहित्य यात्राको पथ–मार्गहरूमा।

प्रतिक्रिया दिनुहोस्