इशानेश्वर मन्दिरको पुनःनिर्माणमा ढिलाई



नेपाल समाचारपत्र, लमजुङ
लमजुङको प्रसिद्ध इशानेश्वर महादेव मन्दिरको पुनः निर्माण कार्य अझै हुन सकेको छैन । गत बैशाखमा सम्पन्न हुनुपर्ने उक्त मन्दिरको निर्माण कार्य अझै पनि पुरा हुने सकेको छैन ।

लमजुङको मध्यनेपाल नगरपालिका– ७ करापुटार स्थित उक्त मन्दिरको २०७२ वैखाख १२ गतकोे विनाशकारी भुकम्पले मन्दिरलाई क्षति पुगेपछि मन्दिरको पुनःनिर्माण थालिएको हो । ईशानेश्वर क्षेत्र विकास समिति अध्यक्ष रामचन्द्र शास्त्री घिमिरेले गत बैशाखमा सम्पन्न गर्नुपर्ने मन्दिर निर्माण कम्पनीको लापरवाहीले समयमा निर्माण सम्पन्न गर्न नसकेको बताउनु भयो ।

‘०७५ बैशाखमा निर्मांण सम्पन्न गर्नुपर्ने हो हालसम्म पनि निर्माण सम्पन्न भएको छैन,’ उहाँले भन्नु भयो, ‘अव मन्दिरको छाना छाउने र रङ्गरोगन गर्ने काम बाँकी छ ।’

इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले पुरातत्व विभागलाई आग्रह गरेपछि मन्दिर पुनःनिर्माणको लागि विभागले काम थालेको हो ‘शास्त्री’ले बताउनु भयो । विभागले कुल एक करोड २० लाख ९० हजारको लागतमा मन्दिर पुनःनिर्माण कार्य गरेको हो । मन्दिर पुनःनिर्माणको लागि ०७३ माघ ३० गते सम्झौता गरिएको हो उहाँले भन्नुभयो ।

इशानेश्वर पुनःनिर्माणको सानो सुवाल एस.पि.जेभी भक्तपुरले लिएको हो । प्यागोडा शौलीमा निर्माण गरिने उक्त मन्दिरमा भक्तपुरे इट्टाको प्रयोग गरिएको छ भने मन्दिरको छानो तामाको राखिने समितिले जनाएको छ । मन्दिर निर्माणको काम सम्पन्न नहँुदा भक्तजनले मन्दिर कहिले बन्छ भनेर जिज्ञासा राखेको समितिका अध्यक्ष घिमिरेले बताउनु भयो । उहाँका अनुसार यो वर्षको महाशिवरात्री पर्वका अवसरमा ५ दिने धार्मिक महोत्सव सञ्चालन गर्ने तयारी गरिएको छ । त्यो समयसम्म निर्माण कार्य सक्नु पर्छ भनेर ठेकेदारलाई दबाब दिएको शास्त्री बताउनु हुन्छ ।

उक्त ईशानेश्वर मन्दिरलाई पशुपतिनाथ पछिको दोस्रो महत्वको मन्दिर मानिन्छ । सो मन्दिरमा शिवरात्रीका अवसरमा ठाडो बत्ती बालेमा निसन्तान दम्पतीलाई सम्तान हुने विश्वास सर्वसाधारणमा छ । त्यसैले उक्त मन्दिरलाई सन्तानेश्वर पनि भन्ने गरिएको तत्कालीन इशानेश्वर गाविसका अध्यक्ष विष्णुहरि घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘इशानेश्वर महादेव मन्दिरको धार्मिक रूपमा विशेष महत्व छ, यसको विकासमा सवैको सहयोग आवश्यक छ ।’

मन्दिरको संरक्षण गर्ने उद्देश्यले २०६६ सालमा इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति स्थापना गरेर यस मन्दिर क्षेत्रको विकास निर्माणको काम सुरु गरिएको क्षेत्र विकास समतितिले जनाएको छ । समिति निर्माण पश्चात इशानेश्वर मन्दिरवाट डेडसय मिटर पर पर्ने गणेश मन्दिर जाने बाटो निर्माण, साविक जिल्ला विकास समिति र गाविसको सहयोगमा ९ लाख आर्थिक सहयोगमा मुल सडकवाट मन्दिर स्थलसम्म आउने बाटो निर्माण गरिएको समितिले जनाएको छ । मध्यनेपाल नगरपालिका– ७ का वडा अध्यक्ष गगन घिमिरेले इशानेश्वर मन्दिरलाई प्रदेशकै धामको रूपमा विकास गर्नका लागि आफुहरूले तयारी थालेको र यसको विकासमा सवैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्