पञ्चबर्षिय योजना बनाउँदै गण्डकी प्रदेश सरकार



नेपाल समाचारपत्र, पर्वत ।
गण्डकी प्रदेश सरकारले प्रदेशको पञ्चबर्षिय योजना बनाउन शुरु गरेको छ । प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेशले प्रथम पञ्चबर्षिय योजनाका लागि सुझाब संकलन गर्न शुरु गरेको हो ।

सुझाब संकलन कार्य पर्वत जिल्लाबाट शुरु भएको छ । गण्डकी प्रदेशलाई पाँच बर्षमा मानवीय सुचकाँक, पर्यटन र जलस्रोतमा सबैभन्दा सम्पन्न प्रदेशका रुपमा बिकास गर्ने उद्देश्य सहित योजना निर्माण गर्न लागिएको छ ।

पर्वतमा शुरु भएको सुझाब संकलन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो श्रोतले भ्याउने खालका योजनाहरु छनौट गर्नुपर्ने बताउनुभयो । उहाँले अबको पहिलेको अवस्था जस्तो त्रिवर्षिय, पञ्चवर्षिय योजना हैनकी कम्तिमा पनि २० वर्षे अवधिका योजनाहरु बनाउन सुझाव दिनुभएको छ । उहाँले लामो समयको राजनीतिक लडाईपपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दिर्घकालीन योजना निर्माण गरेर अघि बढेमा मात्र विकासले गति लिने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशले निर्धारण गरेका दिगो विकासका लक्ष्यहरु सँग तादम्यता हुने गरी प्रदेशका कार्यक्रम तर्जुमा गर्न उक्त कार्यक्रमले महत्वपुर्ण फाईदा दिने हुदाँ योजना आयोगले तयार पारेको पञ्चबर्षिय योजनालाई मसिनो गरी अध्ययन गरेर रचनात्मक सुझाव दिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । योजना तर्जुमा गर्दा आर्थिक समृद्धि र जनता सुखी हुने उपयुक्त सूचक विकास गरी ती सूचक अनुरूप विकासका कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिदै मन्त्री लम्सालले विकासका संवाहकहरू के–के हुन सक्छन त्यसको उचित खोज र पहिचान गरी तिनीहरूलाई आर्थिक रूपान्तरणका मुख्य सहयोगीका रुपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रमको संचालन प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य डा. विष्णु बरालले गनुभएको थियो । कार्यक्रममा आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्