धोबिखोला कोरिडोर नबन्दा सास्ती



सुुरेश तामाङ, काठमाडौं ।
काठमाडौं उपत्यकामा ह्वात्तै बढेको जनघनत्व, सहरी विकास, सवारीको उच्च चापलगायतले गर्दा यातायात सेवा नै अस्तव्यस्त बनेको अबस्थालाई मध्य नजर गर्दै राज्यले विभिन्न कोरिडोरको परिकल्पना गरेर काम थालेको पनि झण्डै दुई दशक पुग्न लागिसकेको छ ।

तर पनि अझै ती कोरिडोरहरु पुरा हुन सकेको छैन । जसले गर्दा काठमाडौं बासीले दैनन्दिन सास्ती खेप्दै आईरहेका छन् ।

यसको परिणाम स्वरुप काठमाडौं बासीले ट्राफिक जामको हैरान खेप्नु परिरहेका छन् । राज्यले बाग्मती, विष्णुमती जस्तै गरी धोविखोला कोरिडोरको पनि परिकल्पना गर्दै काम थालेको १६ वर्ष पुगिसकेको छ तर अझै पनि पुरा भएको छैन । निर्माण थालको १६ वर्षपछि बल्ल धोबिखोला कोरिडोरको पहिलो खण्डको काम सम्पन्न भएको जनाईएको छ ।

२४ किमि मध्ये ११ किमिको काम पुरा, १३ किमी अझै बाँकी

धोबिखोला कोरिडोर आयोजनाका प्रमुख दिलिप भण्डारीले कोरिडोरको पहिलो खण्डको काम सम्पन्न भएको दाबी गर्नुभयो । ‘कोरिडोरको सबै काम सम्पन्न भएको छ । हामी अब दोस्रो चरणलाई फोकसमा छौँ ।’, उहाँले भन्नुभयो ।

विसं. २०५९ देखि नै यस कोरिडोरको निर्माण कार्य थालिएको थियो । तर त्यस्को ८ वर्षपछि आर्थिक वर्ष २०६७÷०६८ देखी मात्रै निर्माणको कामले केही गति लिन थाल्यो । तर त्यसपछिको कामले गति लिएर अर्काे ८ वर्ष बिते पनि कछुवा कै गतिमा छ ।

समयमै काम नसकिँदा यस कोरिडोर सवारी बनाउने ग्यारेज, निर्माण सामाग्री थुपार्ने थलो, फोहोरको डंगुर थुपार्ने डम्पिङ साईट बनेको छ । यस कोरिडोरमा यात्रा गर्दा यस्तो दृश्य देख्न पाईन्छ । यति मात्रै होईन, यस कोरिडोरमा यात्रा गर्दा कोरिडोरको विभिन्न पुलमा पुगेर पुल पार गर्दा उल्टै जाममा पर्ने गरेको छ ।

कारिडोरमो सिम्रीक, रातो, सेतो, रातो, भत्केको जस्ता आधा दर्जन पुलमा यस्तै अबस्था रहेको छ । कोरिडोरमा ठूला सवारी चल्ने भएपनि यी पुलहरुमा चल्ने अबस्था छैन । यी पुलमुनि हुँदै दुई पांग्रे तथा चार पांग्र्रे हल्का सवारी आवत जावत गरिरहेको देखिन्छ ।

काठमाडौंको सवारी चापलाई मध्यनजर गर्ने परिकल्पनाले विस्तार गरेको यो कोरिडोरमा पुरानै संचालित सवारी चल्ने ठूला पुलले झन बाधक बनी सवारी जाम पार्ने समस्याले अप्ठेरोमा पारेको छ ।

नेपालमा विकास गर्ने बेला उचित परिकल्पना नगरिँदा यस्तो अबस्था भोग्नु परेको आयोजना प्रमुख भण्डारीले बताउनुभयो । ‘ती पुलहरु निर्माण गर्दा पुल मुनि ठूला सवारी गुड्ने सडक आउन सक्छ भन्ने सोच नराखी विकास गर्नाले यस्तो अबस्था भयो अब अहिलेलाई कुनै उपाय छैन ।’, उहाँले भन्नुभयो ।
आयोजनाको सबै काम सम्पन्न भएपछि सडक विभागले यस समस्यालाई सम्बोधन गर्न फ्लाई ओभर गरे या अन्य उपाय अपनाउन सकिने उहाँले बताउनुभयो ।

यो मात्रै होईन सम्पन्न भइसकेको भनिएको सडकमा बटुवा हिँड्नलाई फुटपाथ समेत केही खण्ड बाहेक देखिँदैन । ९ मिटर सडकको चौडामा साँढे सात मिटर सडकको कालोपत्रेको भाग र डेढ मिटर सडकको एकापट्टिको भागमा फुटपाथ निर्माण गर्नु पर्ने आयोजनाको डिजाईनमा उल्लेख छ । अनामनगर खण्डमा मात्रै फुटपाथ बनेको देखिन्छ । बनेको स्थानमा पनि भत्किसकेको छ ।

आयोजना प्रमुख भण्डारीले सडक छेउको संरचण हटाउनु पर्ने स्थानमा हटाउन बाँकी रहेकोले फुटपाथ बन्न बाँकी रहेको बताउनुभयो ।
निर्माणाधीन कोरिडोरको कामको ढिलाईले गर्दा यसको असर प्रत्यक्षरुपमा काठमाडौंकायातायात सेवालाई परेको छ । त्यस्तै गरी, शहरमा भएका खोला नदीको सदुपयोग गर्दै बैकल्पिक सडक बनाउने विदेशमा पनि सफल अभ्यास भएकोले यहाँ पनि सवारी व्यवस्थापनमा सफल हुने यातायात विज्ञहरु बताउँछन् ।

तर विशेष प्राथमिकतामा राख्नुपर्ने यस्ता कोरिडोर ढिलासुस्तीका कारण झन समस्या थपिएको छ। आयोजनाले बाग्मती दोभानदेखि चावाहिलबो बैजनी पुलसम्म दायाबाया साँढे पाँच÷साँढे पाँच किमि गरी ११ किमि सडक खण्ड कालोपत्रे, सडक छेउमा रेलिङबो बार निर्माण गर्न सम्पन्न गरिसकेको छ ।

त्यस्तै दोस्रो चरणको बैजनी पुलदेखि कपन भंगालसम्म दायाबाया ४÷४ किमि गरी ८ किमि र आयोजनाको अन्तिम तथा तेस्रो चरणको काम भंगालपुलदेखि राममन्दिरसम्म साँढे दुई÷साँढे दुई गरी पाँच किमि ट्रयाक खोल्ने, सडक छेउमा रेलिङको बार राख्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ ।

आयोजनाले चालु आबसम्म दोस्रो चरणको काममा निलोपुलसम्म कालोपत्रे गर्ने लक्ष्य राखेको छ । जहाँ अधिकार सम्पन्न बाग्मति एकिकृत विकास समितिले ढलको लागि पाईप बिछ्याईरहेको छ । जुन काम सम्पन्न भईसकेपछि कालोपत्रे गर्ने आयोजनाले जनाएको छ । हालसम्म भौतिक प्रगति ५० रहेको आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य आब २०७७÷०७८ राखेको छ ।

राममन्दिरदेखि बागमती दोभान (खैरोपुल)सम्म तीन चरणमा धोविखोलाको दुबै किनार गरी जम्मा २४ किमि सडकको ट्र्याक खोल्ने, कालोपत्रे गर्ने काम सम्पन्न गर्न ४ अर्ब ५८ करोड लागत अनुमान गरेकोमा हालसम्म २ अर्ब ३८ करोड रुपियाँ खर्च भईसकेको आयोजनाको भनाई छ ।
समय मै बजेटको अभाव, स्थानीयको अबरोध, अन्तर निकायबीच समन्वयको अभाव, मुआब्जामा समस्या, सुकुम्बासी वस्ती समस्या लगायतले गर्दा यस कोरिडोरको निर्माणमा ढिलाई भएको आयोजनाको बुझाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्