विकटका गर्भवती र सुत्केरीलाई मोबाइल एप्स



हेटाैडा । मकवानपुरको एक विकट गाउँपालिकाका गर्भवती र सुत्केरीलाई मोबाइल एप्स प्रयोग गरी प्रसँति सेवा शुरू गरिएको छ। स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवासुविधालाई प्रविधिसँग जोडेर सहज पार्न खोजिएका हो। विकट र दुर्गममा पनि प्रविधि उपयोग गरेर जनतालाई सजिलो पर्ने गरी सेवा दिन गाउँपालिकाले प्रयास गरेको हो। कैलाश गाउँपालिकाका ५ वटा स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो। गाउँपालिकाले एप्स निर्माण गरी ५ वटै स्वास्थ्यचौकीमा एप्ससहितको मोबाइल वितरण गरेको छ।

वितरित मोबाइलमा रहेको एप्समा आफ्नो सेवा क्षेत्रमा रहेका गर्भवती र सुत्केरीबारे विवरण स्वास्थ्यचौकीमा कार्यरत प्रसँति सेवा हेर्ने कर्मचारीले अद्यावधिक गर्नेछन्। अद्यावधिक गरिएको विवरणबमोजिम एप्सले समय अवधिको आधारमा ‘नोटिफिकेसन’ पठाउने र त्यसअनुसार स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीलाई आवश्यक परामर्श र स्याहार गर्नेगरी व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो। एप्स प्रयोगबाट सुत्केरी र गर्भवतीको विवरण अद्यावधिक हुने र उनीहरूको स्याहार गर्न सजिलो हुने मुक्तानको विश्वास छ। गाउँपालिकाले चालँ आर्थिक वर्षदेखि एउटा स्वास्थ्य केन्द्रमा बालबालिका जन्म गराउने संख्या ३० भन्दा बढी भए प्रति बालबालिका ५ सय रुपियाँका दरले कर्मचारीलाई प्रोत्साहन भत्ता दिने जनाएको छ।

‘स्वास्थ्य संस्थामा बच्चा जन्माउनेको संख्या वृद्धि गर्न कर्मचारी सक्रियताका लागि यस्तो निर्णय गरेका हौं।’ –अध्यक्ष मुक्तानले भन्नुभयो। उहाँका अनुसार भार्ता, कालिकाटार, नामटार, गोगने र डाँडाखर्क गरी ५ वटा स्वास्थ्य चौकीबीच स्वास्थ्य संस्थामा बच्चा जन्माउने संख्यामा वृद्धि हुनेछ। ५ वटै स्वास्थ्यचौकीमा प्रसँति सेवाका लागि गाउँपालिकाले गर्ने व्यवस्थामा कमी नआउने र संख्या वृद्धि गरेमा कर्मचारीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाको रहेको उहाँले बताउनुभयो।

गाउँपालिकाले ५ स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ। भार्ता स्वास्थ्यचौकीकी कृष्णमाया थिङ, कटुञ्जे स्वास्थ्यचौकीकी सुभद्रा प्रजा, नामटार स्वास्थ्य चौकीकी लक्ष्मी रिजाल, गोगने स्वास्थ्य चौकीकी गंगा आलेमगर र डाँडाखर्क स्वास्थ्यचौकीकी सुनमाया नेगीलाई सम्मान गरिएको हो। उहाँहरूलाई २ हजार १ सय रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्