समयमा काम नगरेपछि प्राधिकरणले तोड्यो खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का



अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैंक जमानत पनि जफत

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले काम नगरेपछि तामकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको छ ।

प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँगको तामाकोसी–काठमाडौ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिन अघि तोडेको हो । प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको छ ।

यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बंैक जमानत पनि जफत गरिएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिनुभयो ।

प्राधिकरणले कम्पनीसँग ११ असोज २०७३ मा १२ जेठ २०७६मा निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।

‘ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिंदा करिब ८ प्रतिशत मात्रै भौतिक प्रगति गरेको, काम गर्न पटक–पटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महत्वको प्रसारण लाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का टोडिएको हो’,ओझाले भन्नुभयो ।

ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि ठेण्डर आह्वान भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिँदै आगामी मे भित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८ सय २० दिनभित्रमा निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको बताउनुभयो । आयोजना नेपाल सरकार र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्