पूर्वी र पश्चिम जापानमा भारी हिमपात, सजकता अपनाउन आग्रह



राजबिन थापा, टोकियो ।

जापानको पूर्वी र पश्चिम क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रवारबाट हिमपातको कारण दैनिक जनजीबन कष्टकर बनेको छ । यसले नयाँ बर्षको विदामा घुमघामका लागि निस्कन चाहानेहरुलाई समेत प्रभाव पारेको छ ।

चिसो हावासँगैको भारी हिमपातले तोकाई र यामागाता प्रिफेक्चरका धेरै स्थानहरुमा भएको भारी हिमपातले त्यस क्षेत्रको मानिस प्रभावित बनेका छन् । ति स्थानहरुमा हिमपातको क्रम आइतबारसम्मै जारी रहने मौसम एजेन्सीका अनुमान छ साथै शनिवारदेखि निगाता, कान्साईका थप भागहरु, तोहोकु, होकुरिकु सहित होक्काईदोमा समेत हिमपात हुने उनीहरुको अनुमान छ । हिमपातको सम्भावना रहेका क्षेत्रहरुमा घर बाहिरको यात्रा गर्दा सजगता अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

जापानको मौसम एजेन्सीले होक्काईदो र होकुरिकुमा प्रतिघण्टा ७२ किलोमिटर तिब्रगतिको हावासहितको हिमपात हुने तथा तोहोकुमा ६५ किलोमिटर प्रतिघण्टाको तिब्रतामा हिमपात र चिसो हावा बहने अनुमान लगाएको छ । केही क्षेत्रमा प्रतिघण्टा १०८ किलोमिटरको दरले चिसो हावा बग्ने अनुमान लगाइएको छ ।

यामागाता प्रिफेक्चरमा शुक्रबार बिहान ६५ बर्षिय एक बृद्ध हिउँमा मृत अवस्थामा भेटिएका छन् । हिउँ परेका समयमा पैदल हिँडिरहेका उनको अति चिसोका कारण निधन भएको अनुमान गरिएको छ ।

जापानको मौषम एजेन्सीका अनुसार टोकियो सहित यसको आसपासमा जनवरी दोस्रो साताबाट हिउँपर्ने सम्भावना देखिएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आवेले सरकारी निकायहरुलाई बिदाको समयमा प्राकृतिक विपत्ति लगायतका अन्य आपतविपतमा ‘अलर्ट’ रहन भनेर क्योदो न्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्