शेयर कारोबार नयाँ वर्षदेखि पूर्णअनलाइन



नेपाल समाचारपत्र
काठमाडौं
अंग्रेजी नयाँ वर्षको दिनदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पूर्ण स्वचालित अनलाइन कारोबार हुने नेप्सेले जनाएको छ। नेप्सेका अनुसार अनलाइन प्रणाली कारोबारका निम्ति चार वटा बैंकमध्ये एउटामा अलग्गै खाता खोल्नुपर्नेे छ।

स्टकले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको भए पनि राफसापका लागि धितोपत्र दलाल व्यवसायीकहाँ नै जानुपर्ने बाध्यतालाई अन्त्य गर्न छुट्टै बैंक खाता तोकिएका बैंकमा खोल्न लगानीकर्तालाई आग्रह गरेको हो।

अनलाइन कारोबारका लागि नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आइएमई र सिद्धार्थ बैंकमध्ये एउटामा खाता खोल्नुपर्ने हुन्छ। गत कात्तिक २० गतेदेखि सञ्चालनमा आएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा समस्या आएपछि थप सुधारसहित मंसिर २३ गतेदेखि उक्त प्रणाली सञ्चालनमा ल्याइएको र त्यसलाई व्यवस्थित गर्दैै पुस १७ गतेदेखि पूर्ण अनलाइनमा कारोबार हुनेछ।

नेप्सेले लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी कहाँ खोलेको कारोबार खाताको व्यक्तिगत विवरण अद्यावधिक गर्न, हितग्राही खाताको सम्पूर्ण जानकारी दिन, एक हितग्राही खातामा एउटामात्रै कारोबार खाता आबद्ध गर्नसमेत आग्रह गरेको छ। साथै धितोपत्र दलाल व्यवसायीसँग रकमान्तर गर्ने व्यवस्था मिलाउन र त्यस्तो बैंकबाट ई–बैंकिङ सुविधा अनिवार्य रूपमा लिने व्यवस्था गर्न उल्लेख गर्दै आफूले चलाइरहेको इमेल ठेगाना उपलब्ध गराउन, तोकिएको कारोबार सदस्य ग्राहक सम्झौता गर्न, आवश्यकताअनुसार रकम जम्मा गरी व्यवसायीबाट कारोबार सीमा लिन नेप्सेले निर्देशन दिएको छ।

त्यसैगरी हितग्राही खातामा रहेको फ्री ब्यालेन्स मात्र बिक्री गर्न सकिने तर धितो राखेको वा रोक्का रहेको शेयर बिक्री गर्न नपाइने नेप्सेले जनाएको छ। कारोबारबाट बाँकी रकम बैंकिङ प्रणालीमार्फत फिर्ता लिन ब्रोकरलाई अनुरोध पठाउने, यस्तो अनुरोध पठाएको २४ घण्टाभित्रै रकम प्राप्त भएको सुनिश्चित गर्नुपर्ने नेप्सेले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्