भारतले अन्तरिक्षमा मानव पठाउन , १० हजार करोड छुट्यायो



नयाँदिल्ली, (एजेन्सी)
भारतको केन्द्र सरकारले देशको महत्वकांक्षी परियोजनाका लागि १० हजार करोड भारु बजेट छुट्याएको छ। उक्त अभियानअन्र्तगत ३ सदस्यीय चालक कम्तिमा ७ दिनका लागि अन्तरिक्षको यात्रामा जानेछन्।

शुक्रबार क्याबिनेटले उक्त अभियानका लागि उक्त बजेट पारित गरेको केन्द्रीय मन्त्री रविशंकर प्रसादले जानकारी दिए। सञ्चार माध्यमहरूलाई सम्बोधन गर्दै रविशंकरले भने– ‘यस परियोजनामा १० हजार करोड रूपियाँको लागत आउँछ। अन्तरिक्षमा मानव पठाउने भारत विश्वको चौथो देश हुनेछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष स्वतन्त्रता दिवसको अवसरमा आफ्नो सम्बोधनमा गगनयान परियोजनाको घोषणा गरेका थिए। प्रधानमन्त्री मोदीले उक्त अभियान सन् २०२२ सम्ममा पुरा हुने बताएका थिए। उक्त महत्वकांक्षी परियोजनामा सहयोगका लागि भारतले यसअघि नै रुस र फ्रान्ससँग सहमति गरिसकेको छ।

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आगामी ३ वर्षमा ५० भन्दा धेरै अभियानको लक्ष्य हासिल गर्ने आफ्नो प्रारूप दिएको राज्यमन्त्री जितेन्द्र सिंहले बताए। सरकारले अन्तरिक्ष गतिविधिका लागि बजेट वृद्धि गरेको उनले जानकारी दिए। भारतीय अन्तरिक्ष अनुसन्धान कार्यक्रम विगत केही वर्षका क्रममा अत्यधिक सफल र व्यवसायिक मिसनका कारण अभुतपूर्व विस्तार भएको उनले बताए।

विगतका दिनमा इसरोले एक क्रू इस्केप मोड्युल अर्थात क्याप्सुलको सफलतापूर्वक परीक्षण गरेको थियो। यसलाई अन्तरिक्ष यात्रीले आफूसँगै लैजान सक्नेछ। अन्तरिक्ष यात्री दुर्घटनाको स्थितिमा क्याप्सुलमा बसेर पृथ्वीको कक्षमा सुरक्षित पुग्न सक्छ। इसरोले उक्त मोडेलको विकास आफैंले गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्