लापोन्मुख बाँदर खाने छ जना पक्राउ



हनोइ, (एजेन्सी)
एउटा लोपोन्मुख बाँदरलाई मारेर खाएको घटनालाई सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरेको अभियोगमा भियतनाममा छ जना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ।

नाम नखुलाइएका ३५ देखि ५९ वर्ष उमेरका तिनीहरूले गत नोभेम्बरमा एउटा लँगुर खाएको भिडियोलाई फेसबुकमार्फत प्रसारण गरेका थिए। प्रहरीले तिनीहरूले बिहीबार वन्यजन्तु संरक्षण कानुन उल्लंघन गरेको स्वीकार गरेको बताएका छन्। भियतनामको उत्तर भागमा मात्र पाइने लँगुर बाँदर विश्वकै सबैभन्दा लापोन्मुख बाँदर प्रजातिमा पर्दछ। प्रहरीले अपराधीहरूलाई समाउन अलि लामै कसरत गर्नुपरेको बताएको छ।

प्रहरीले सार्वजनिक गरेको एक विज्ञप्तिमा ती अभियुक्तमध्ये एकजनाले एक शिकारीबाट ४८ अमेरिकी डलरमा उक्त बाँदर खरिद गरेको उल्लेख गरिएको छ। भियतनाममा अहिले क्रिसमस आइलन्ड फ्रिग्रेट बर्ड र सायामिज क्रोकोडायललगायत थुप्रै निकै दुर्लभ पशुपन्छी रहेका छन्। दुर्लभ र लोपोन्मुख पशुपन्छीको उपभोग र ओसारपसार भियतनामको ठूलो समस्याका रूपमा रहेको छ। यस्ता पशुपन्छी पकाएर खाने वा तिनीहरूका शरीरका विभिन्न भाग औषधि उपचारमा प्रयोग हुने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्